कोशी अस्पतालका चिकित्सक लडेर बेहोस, परीक्षणपछि कोरोना संक्रमण पुष्टि
कोशी अस्पताल विराटनगरमा कार्यरत एक चिकित्सक सडकमै बेहोस भएपछि परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ। बालरोग विभागमा कार्यरत डा. विनोद बिराजी ३ असोज बेलुका अस्पताल बाहिरको सडकमा बेहोस भएका थिए।
बालरोग विषेशज्ञ डा. प्रविण झाका अनुसार, सडकमा हिंड्दै गर्दा बेहोस भएर लडेका उनको आज कोरोना पोजिटिभ देखिएको छ। कोशी अस्पतालमा उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिस्क पक्षघात भएको पाइएको छ।
लडेकाले उनको टाउकोमा चोट लाग्नुका साथै रगतपनि जमेको छ। सडकमा एक ब्यक्ति लडेको देखेर मानिस हेर्न दौडिएका थिए। तत्कालै एम्बुलेन्स बोलाएर उनलाई अस्पतालभित्र लगिएको प्रत्यक्षदर्शी एक महिलाले बताइन्। सामान्य होस खुलेपनि उनी खतरामुक्त नरहेको बताइएको छ।
सप्तरी पुरानो घर भई हाल विराटनगरमै बसोबास गर्दै आएका बिराजी सोधेको कुरा बताउन नसक्ने अवस्थामा रहेकाले नेपालमा उपचार हुन नसक्ने देखेर भारत लगिएको छ। ४ असोज सांझ डा. बिराजीलाई जोगवनी नाका हुंदै एम्बुलेन्समा बिहारको राजधानी पटनातर्फ लगिएको छ। ५ असोजमा बिराजीलाई दिल्ली लगिने बताइएको छ।