मूल्य वृद्धि भएका बेला प्याज कालोबजारी गर्ने दुई ब्यापारी पक्राउ
भारतले प्याज निर्यातमा रोक लगाएपछि मूल्य वृद्धि गरेर बिक्री गर्ने विराटनगरका दुई ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर ९ गुद्री बजारका बिजय कुमार योगेश पसलका संचालक संजयकुमार गुप्ता (३८) र तनिसा ट्रेडर्सका सञ्चालक मुकेशकुमार सहनी (२९) लाई प्रहरीले प्रमाणसहित पक्राउ गरी कारवाही गरेको हो।
मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काका अनुसार, २ असोजमा उपभोक्ताले गुनासो गर्ने बित्तिकै आलु र प्याजको थोक पसलमा खरिदका लागि सादा पोशाकमा प्रहरी पठाएर बिलसहित पक्राउ गरिएको थियो।
दुबैलाई ४ असोजमा कालो बजार तथा केही सामाजिक अपराध सजाय ऐन २०३२ अनुसार प्रहरीले मुद्दा दर्ता गराएको छ। पक्राउ परेका गुप्ताका भाई रंजित गुप्ताले प्याज खरिद गर्न आएका मानिस प्रहरी हुन भन्ने जान्दा जान्दै पनि महंगो मूल्यमा खरिद गरिएकाले रु ९२ प्रतिकिलोमा बिक्री गरिएको बताए। उनले भारतबाटै रु ४८ प्रतिकिलोमा खरिद गरेको दाबी गरेपनि प्रहरीले त्यसलाई मान्यता दिएको छैन।
विराटनगरका थोक बिक्रेताले रु ४२ प्रतिकिलोमा खरिद गरी सय प्रतिशत भन्दा बढी नाफा गरेर बिक्री गर्ने गरेको प्रहरी उपरिक्षक खड्काले बताए। उनका अनुसार, भारतले निर्यात रोक्नु अघि नै ल्याइएको प्याजमा ब्यापारीले बढी नाफा लिएर बिक्री गरेका हुन्।
भारतले रोकेको जानकारी सार्वजनिक हुने बित्तिकै विराटनगरका थोक बिक्रेताले पहिले नै आयात गरेको प्याज रु १०० रुपैंया प्रतिकिलोमा बिक्री गरेका थिए।
थोक बिक्रेताले नै कृतिम अभाव देखाएर मूल्य अत्यााधिक बढाएकाले खुद्रा ब्यापारीले प्रतिकिलो रु १४० ले बिक्री गर्दै आएका छन्। विराटनगरका दुई ब्यापारी पक्राउ परेपछि अन्य थोक ब्यापारीले स्टकमा रहेको प्याज लुकाएको बताइएको छ। गोदाममा प्याज भेटिने भएकाले केहीले ट्रकबाट नखन्याई पार्किङमा राखेको साना ब्यापारीले आरोप लगाएका छन्।
यहाँका थोक बिक्रेताले महँगो मूल्यमै खरिद गरिएको प्याजमा सामान्य नाफा गरेर बिक्री गर्दै आएको जनाएर प्रहरीको ध्यानाकर्षण गराएका छन्। तर प्रहरी उपरिक्षक खड्का भने कृतिम अभाव खडा गरी कालो बजारी गर्ने सबै थोक ब्यापारीलाई कारवाही प्रकृयामा ल्याइने बताए।
तरकारी थोक बिक्रेता संघ विराटनगरका अध्यक्ष पशुपति भगतले आलु र प्याजमा भारतमै निर्भर रहनु परेकाले अहिले ब्यापार गर्न नसक्ने अवस्था आएको बताए। उनका अनुसार, विराटनगरका बयापारीको १४ ट्रक प्याज भारत जोगवनीस्थित भन्सार कार्यालयमा रोकिएका छन्। भारतीय भन्सारले नेपाल लैजान नदिने भएकाले पुनः नासिक र इन्दोर नै फिर्ता लैजान पनि नसक्ने अवस्था आएको उनी बताउँछन्।
खरिद गरेको ठाउँसम्म फिर्ता लैजाँदा दुईतर्फी भाडाले प्याजको लगानी सतप्रतिशत डुब्ने उनको भनाइ छ। जोगवनी भन्सारले सो प्याज भारतीय बजारमै बिक्री गर्न नेपालका ब्यापारीका एजेन्टलाई दबाव दिएको छ। भारतमा जति मूल्यमा खरिद गरेको भएपनि नेपालको भन्सारमा रु २२ प्रतिकिलोका दरले कर तिर्ने ब्यवस्था भएकाले कानूनले पनि सोही मूल्यलाई मान्यता दिने गरेको छ।
भारतीय सीमामा रोकिएको नेपाली ब्यापारीले लगानी गरेको प्याज तस्करी गरेर नेपाल भित्रन सक्ने भएकाले प्रहरीले त्यसतर्फ पनि ध्यान बढाइएको जनाएको छ। प्रहरीका अनुसार, सीमापारि भारतमा रोकिएको प्याज मानिसले बोकेर खुल्ला सीमाबाट नेपाल तर्फ ल्याउँनसक्ने सम्भावना रहेको छ।