संशोधन मण्डलको सामर्थ्य र सीमा
हरेक वर्ष बजेट बनाउँदा प्रभावशाली र निकट व्यक्तिका संघसंस्थालाई छानीछानी पैसा छर्ने तर ज्ञान उत्पादनमा लगानी गर्न पटक्कै आवश्यक नठान्ने नेपाली राज्य–चरित्र रहुञ्जेलसम्म संशोधन मण्डल जस्ता संस्था मृत्युशय्या पुग्नुलाई असामान्य मान्न सकिन्न।
भारतको बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी १९९५ सालमा काठमाडौं फर्किएका नयराज पन्तले एउटा पाठशाला खोले। त्यही पाठशाला प्रकारान्तरमा संशोधन मण्डलको नामले चिनियो।
पाठशालाका विद्यार्थीलाई नयराजले इतिहास, व्याकरण, ज्योतिष, दर्शनलगायत विषयमा अनुसन्धानसमेत गर्न लगाए।
संशोधन मण्डलले अभ्यास गरेको शिक्षण र शोधविधि प्राचीन भारतमा अभ्यास भएको विद्यापद्धतिबाट बढी प्रभावित थियो। त्यही पद्धतिमा दीक्षित संशोधन मण्डलका सदस्यहरूले इतिहास, संस्कृति, साहित्य, ज्योतिष, गणितलगायत विषयमा अनुसन्धानमूलक सामग्री लेखेका छन्। नेपालसम्बन्धी अध्ययनमा तिनको आफ्नै महत्व छ।
कतिपय आलोचकले संस्कृत वाङ्मयबाट बढी प्रभावित संशोधन मण्डलको शिक्षण र शोधविधि परम्परागत छ भनेका छन्। तर संशोधन मण्डलको संस्थागत जीवन र यसले उत्पादन गरेका ज्ञान दुवै परम्परावादी छैनन् भन्ने कुरा जर्मन समाजशास्त्री म्याक्स वेबरको र्यासनालिटी (विवेकी) सम्बन्धी दृष्टिकोणको आलोकमा हेर्दा स्पष्ट हुन्छ।
संस्थागत पहल र शोधविधिमा संशोधन मण्डलका आफ्नै सीमा भए पनि त्यहाँबाट उत्पादित ज्ञानले नेपालको विद्वत् परम्परामा पृथक् स्थान ओगटेको छ।
अवदान
नयराजले वनारसस्थित काशीका राजकीय संस्कृत पाठशालाबाट ज्योतिष विषयमा आचार्य गरे। मूलतः बेलायतीहरूलाई संस्कृत भाषा र भारतीय संस्कृतिबारे प्रशिक्षित गर्ने उद्देश्यले स्थापना गरिएको त्यस पाठशालामा अध्ययन गर्दै गर्दा उनको मनमा पश्चिमी ढाँचाको शिक्षण प्रणालीप्रति वितृष्णा र प्राचीन भारतीय पद्धतिको शिक्षणप्रति श्रद्धा बढ्दै गयो।
पाठशालाले लिने परीक्षामा बाँडिने प्रश्नपत्रमै गल्ती भेट्ने गरी विद्या अभ्यास गरिसकेपछि नयराजले प्राचीन भारतीय शिक्षणविधि अनुरूप शिष्यहरूलाई दीक्षित गर्ने निश्चय गरे। काठमाडौं फर्किएर केही शिष्यहरू भेला गरी पाठशाला चलाए।
पाठशालाले पाश्चात्य शिक्षणविधिलाई पूर्णतः अस्वीकार गर्यो र विकल्पमा मौलिक शिक्षणविधि लागू गर्यो। पाठशालाको पाठ्यक्रममा अंग्रेजीलगायत पाश्चात्य भाषाहरू समावेश गरिएनन्।
आचार्य भाष्करको मतलाई अनुसरण गर्दै पाठ्यक्रममा संस्कृत व्याकरणलाई सबैभन्दा बढ्ता प्राथमिकता दिइयो। त्यसैगरी विद्यालाई आचार्य कौटिल्यले त्रयी (वेद), आन्वीक्षिकी (दर्शन), वार्ता (अर्थशाास्त्र) र दण्डनीति (राजनीति) गरी चार भागमा विभाजन गरेको सन्दर्भबाट प्रेरणा लिंदै पाठशालाले दर्शन, काव्य, गणित, भूगोल, व्याकरण, इतिहास, लिपि, अर्थशास्त्र, राजनीतिशास्त्रलगायत विषयहरू पाठ्यक्रममा समेट्यो र यस्ता अनेक विषयबीचको अन्तरविधागत अध्ययनमा जोड दियो।
संस्कृत भाषालाई मुख्य शिक्षणभाषा मानेर यसले शिष्यहरूलाई विद्याको कठोर अभ्यासमा प्रवृत्त गरायो।
नयराजले आफ्नो पाठशालालाई समग्र बौद्धिक पुनर्जागरणको केन्द्र बनाउन खोजेका थिए। प्राचीन ग्रिक र ल्याटिन भाषाको गहन अध्ययन र अन्वेषणमार्फत युरोपमा बौद्धिक पुनर्जागरण भएको घटनाबाट प्रभावित उनी दक्षिणएशियामा बौद्धिक पुनर्जागरण ल्याउने हो भने संस्कृत वाङ्मयको विशद् अध्ययन अनिवार्य छ भन्ने मतका पक्षधर थिए। पाश्चात्य विधिबाट संस्कृत वाङ्मयको गहन अध्ययन सम्भव छैन भन्नेमा पनि दृढ थिए।
संस्कृत वाङ्मयका प्राचीन ग्रन्थहरू कैयौं वर्षसम्म मौखिक परम्परामार्फत हस्तान्तरित हुँदै आएर निकै पछि मात्र लिपिबद्ध भएका हुन्। कण्ठ गर्न सजिलो होस् भनेर तिनमा विधागत ज्ञानहरू सूत्रबद्ध रूपमा संश्लेषित छन्।
संशोधन मण्डलको मुख्य काम भनेकै पाश्चात्य शिक्षणपद्धतिको विकल्पमा प्राचीन भारतीय शिक्षणपद्धति लागू गर्नु र यसलाई एक हदसम्म सार्थक तुल्याउनु हो। तर संशोधन मण्डलबारे चर्चा हुँदा इतिहास अध्ययनका क्षेत्रमा यसको योगदानबारे मात्र बढी छलफल हुने गरेको छ।
त्यसैले संस्कृत भाषामा माथिल्लो तहको ज्ञान हासिल गर्न आधारग्रन्थहरू नित्य कण्ठ गर्नु अनिवार्य हुन्छ। पाश्चात्य शिक्षणविधिमा विद्या कण्ठ गर्नेबारे सोच्न पनि सकिंदैन। यही कुरा महसूस गरेर नयराजले आयातित शिक्षणविधिको विकल्पमा प्राचीन भारतीय शिक्षणविधि लागू गरेका थिए।
१०० पूर्णांकमा ३३ नम्बर मात्र ल्याए पनि पास भइने प्रचलित पाश्चात्य शिक्षणविधिलाई नयराजले त्रिखण्डी शिक्षा भनी अस्वीकार गरी आफूले पढेको विद्यामा शतप्रतिशत दक्खल हुनु अपरिहार्य हुन्छ भन्ने मान्यता लागू गरे। शस्त्र र शास्त्रलाई निरन्तर साँध लगाइरहनुपर्छ भन्ने मान्यताबाट अभिप्रेरित भएर उनले शिष्यहरूलाई विद्या हासिल भएको प्रमाणपत्र नदिने र दीक्षित भई विदा लिएपछि पनि विद्या विस्मृत हुन नदिन नित्य अभ्यास गर्नुपर्ने नियम बसाए।
पाठशालालाई उनले २०१८ सालमा संशोधन मण्डल भनी विधिवत् रूपमै दर्ता गराएर त्यसअन्तर्गत हुने विद्या अभ्यासलाई अझ व्यवस्थित गरे।
संशोधन मण्डलको मुख्य काम भनेकै पाश्चात्य शिक्षणपद्धतिको विकल्पमा प्राचीन भारतीय शिक्षणपद्धति लागू गर्नु र यसलाई एक हदसम्म सार्थक तुल्याउनु हो। तर संशोधन मण्डलबारे चर्चा हुँदा इतिहास अध्ययनका क्षेत्रमा यसको योगदानबारे मात्र बढी छलफल हुने गरेको छ।
कतिपयले संशोधन मण्डललाई भूलवश ‘इतिहास संशोधन मण्डल’ भनी लेख्ने गरेका पनि छन्। संशोधन मण्डल विधिवत् रूपमा दर्ता हुनुअगावै २००९ सालदेखि नयराजले आफ्ना शिष्यहरूलाई साथ लिएर ‘इतिहास–संशोधन’ शीर्षकमा पर्चा छाप्न शुरू गरेकाले र संशोधन मण्डलसँग जोडिएका सबै विद्वान इतिहासकारका रूपमा कहलिएकाले यस्तो भूल भएको हुनसक्छ। संशोधन मण्डलको प्राथमिकताको मुख्य विषय निश्चय पनि इतिहास थियो। तर अन्य केही विधालाई पनि यसले उच्च प्राथमिकता दिएको थियो।
प्राचीन समयदेखिका शिलालेखलगायत इतिहासका मूल स्रोत पर्गेल्ने, वेदाङ्गज्योतिषसमेतको सहयोगमा त्यतिबेला प्रचलित संवत्बारे छिनोफानो गर्ने, प्राचीन अभिलेखहरूमा प्रयुक्त लिपि उतारेर संस्कृत वाङ्मयलगायत तात्कालीन सामग्रीको आलोकमा तिनको व्याख्या–विश्लेषण गर्ने र पूर्वप्रकाशित सामग्रीहरूको तथ्यपरकता जाँच्ने सवालमा संशोधन मण्डलमा आवद्ध विद्वान्हरूले बेग्लै छवि बनाएका छन्।
नेपालको इतिहासबारे प्रकाशमा आएका उपकरणहरूमध्ये ७५ प्रतिशत जति हिस्सा नयराज र उनका शिष्यहरूकै प्राज्ञिक कर्मको देन हो भनी संशोधन मण्डलबाट दीक्षित महेशराज पन्तले एक सन्दर्भमा लेखेका छन्। उनको दाबी अतिशयोक्ति मान्न पनि सकिएला, तर यसको मर्म भने ठाडै अस्वीकार गर्न सकिंदैन। संशोधन मण्डलमा आवद्ध नयराजसहित उनका शिष्यहरू धनवज्र बज्राचार्य, ज्ञानमणि नेपाल, रामजी तेवारी, शंकरमान राजवंशी, नयनाथ पौडेल, भोलानाथ पौडेल, गौतमवज्र बज्राचार्य, महेशराज पन्त, दिनेशराज पन्त जस्ता इतिहासविद्हरूको रचनालाई बिर्सिने हो भने नेपालको इतिहास अध्ययनमा ठूलै रिक्तता उत्पन्न हुनेछ।
संशोधन मण्डलमा आवद्ध विद्वानहरूले ‘व्याकरण–संशोधन’ र ‘पञ्चाङ्ग–संशोधन’ पनि छापे। नयराजको अग्रसरतामा छापिएको ‘विद्या–रक्षा’को शैलीसँग मिल्ने गरी संशोधन मण्डलमा आवद्ध धनवज्र बज्राचार्यका दाजु र गौतमवज्र बज्राचार्यका पिता वैद्य दिव्यवज्र बज्राचार्यको नाममा ‘आयुर्वेद–रक्षा’ निकाल्न पनि पाठशालाले मद्दत गर्यो। पाठशाला स्थापना गराउन दिव्यवज्रले पनि नयराजलाई सहयोग गरेका थिए। ‘इतिहास–संशोधन’, ‘व्याकरण–संशोधन’, ‘पञ्चाङ्ग–संशोधन’ आदिको प्रकाशन प्रकारान्तरमा बन्द भयो।
२०१८ सालमा संशोधन मण्डल विधिवत् रूपमै स्थापना भएपछि गौतमवज्र बज्राचार्य र महेशराज पन्तको संयुक्त सम्पादनमा ‘पूर्णिमा’ नामक इतिहासप्रधान जर्नल प्रकाशन गर्न थाल्यो। ‘पूर्णिमा’ को प्रकाशन आजका मितिसम्म जारी छ। ‘पूर्णिमा’ का अंकहरू नेपाली इतिहास र संस्कृतिको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण सन्दर्भ–सामग्री बन्न पुगेका छन्।
सीमा
संशोधन मण्डलको अवदानबारे धेरैले लेखेका छन्। तर, यसको सीमा र दोषबारे चाहिं खासै विमर्श भएको पाइँदैन।
कतिपय आलोचकहरूले संशोधन मण्डलमा आवद्ध विद्वानहरूको शास्त्रार्थमा प्रस्तुत हुने आक्रामक शैलीको चर्को आलोचना गरेका छन्। तर संशोधन मण्डलले अभ्यास गरेको शोधविधिको प्रवृत्तिगत विवेचना गरी कमजोरी औंल्याउने काम भने खासै हुनसकेको छैन।
संशोधन मण्डलले प्रवद्र्धन गरेको बहसको प्रस्तुति रुखो र ठाडो थियो। कडा शैलीमा आलोचना गर्ने आचार्य भास्करको पद्धति पछ्याएर नयराजले विद्वत् समुदायमा आफ्नो पाठशालाको पहिचान स्थापित गराउन खोजेका पनि हुनसक्छन्।
परन्तु पाठशालाबाट निस्किने प्रकाशनमा अन्य अध्येताहरूलाई चोर, छटेल, फटाहा जस्ता गैरप्राज्ञिक शब्दमार्फत प्रहार हुन थालेपछि यसले नेपालमा भर्खरै हुर्कंदै गरेको इतिहास र समाज अध्ययनमा संलग्न अध्येताहरूबीच समन्वय विकसित हुनसक्ने सम्भावना (एकेडेमिक फ्रेटरनिटी) लाई निरुत्साहित गरिदियो। यसको धङ्धङीबाट नेपालको इतिहास र समाज अध्ययनको क्षेत्र आजसम्म मुक्त हुनसकेको छैन।
कविहरूबारे चर्चा गर्ने क्रममा पत्रकार कृष्णज्वाला देवकोटाले एउटा सन्दर्भमा लेखेका छन्, “कसैले कसैलाई अत्यन्त हेयपूर्वक हेर्यो भन्नुपर्यो भन्ने विम्बमा ‘उसले उसलाई पुरानो कविले नयाँ कविलाई झैं हेर्यो’ भने हुन्छ।” इतिहास र समाज अध्ययनको क्षेत्रमा पनि यस्तैखाले अवस्था विद्यमान छ। आफ्नो खेमाइतरका वा नयाँ अनुसन्धातालाई सहकर्मी अथवा प्रतिस्पर्धी होइन, वैरी ठान्ने र उसको विद्वतालाई निमोठ्न खोज्ने संस्कारले जरा गाडेको छ। यस्तो संस्कार मलजल गर्न ज्ञान उत्पादनमा सक्रिय विश्वविद्यालय बाहिरका व्यक्ति तथा संघ–संस्थाको बढी हात छ।
संशोधन मण्डलले पाश्चात्य शिक्षणविधिको विकल्प प्रस्तुत गरे पनि शोधविधिको विकल्प दिन सकेन। अन्ततः यसले पनि पश्चिमा शोधविधिकै पदचाप पछ्यायो।
संशोधन मण्डलको यस्तोखाले सीमा औंल्याउने अनुसन्धातामा योगेश राज एक हुन्। ‘क्रमभङ्ग र सम्भार’ पुस्तिकामा उनले लेखेका छन्, ‘अंग्रेजी शिक्षाको माध्यमबाट नेपालीहरूमा पसेको आफ्नै स्रोतसामग्रीलाई हेप्ने, तर अंग्रेजीमा लेखिएका मिथ्याको भने जस्ताको तस्तै नक्कल गर्ने दास मनोवृत्तिलाई संशोधन मण्डलले खेद्न खोजेको थियो। संशोधन मण्डलले नेपालको इतिहास लेख्न नेपालभित्रकै स्रोतसामग्रीको परीक्षा र प्रयोग गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्यो। तर...नेपालको मूलधारे इतिहासलेखनको पद्धतिलाई तत्वतः बदल्न सकेन।’
अन्ततः संशोधन मण्डलबाट दीक्षित केही शिष्यले पाठशालाको आचारसंहिता विपरीत पश्चिमी शिक्षणविधि अनुरूप उच्च शिक्षा ग्रहण गरे। बाँकी शिष्यहरूमध्ये अधिकांशले गुरुसमक्ष समय–समयमा आधार ग्रन्थहरू कण्ठ सुनाउने र शास्त्रार्थ गर्ने पाठशालाको परिपाटीलाई तिलाञ्जली दिए। संशोधन मण्डलले बदलिंदो समयको हेक्का राख्न सकेन, जसकारण स्वत्व क्षय नहुने गरी आफूलाई रूपान्तरित गर्न ऊ असमर्थ रह्यो।
नयराजको निधनपछि मृत्युशय्यामा पुगेको संशोधन मण्डलको प्राण उनका शिष्यसमेत रहेका पुत्रद्वय महेशराज र दिनेशराजले जेनतेन धानिरहेका छन्। यसले नयाँ अनुसन्धाताहरू आकर्षित गर्न र आफ्नो सक्रिय संस्थागत जीवनलाई निरन्तरता दिन सकेको भए नेपालको वैकल्पिक ज्ञानपद्धति फराकिलो बन्दै जाने थियो। नेपालको विद्वत् परम्परामा थप हस्तक्षेपकारी भूमिका खेल्ने थियो।
तर अनुसन्धाताहरूको एउटा पुस्ता तयार गरेलगत्तै संशोधन मण्डलको संस्थागत जीवनमा शिथिलता छायो। यस्तो किन भयो भनी बुझ्न अमूक व्यक्तिको क्षमतामा भन्दा पनि समाजको आम प्रवृत्ति नियाल्नु बढी वाञ्छनीय हुन्छ।
जर्मन समाजशास्त्री म्याक्स वेबरले समाजमा हुने तीनखालका नेतृत्वबारे चर्चा गरेका छन्। पहिलो हो परम्पराजनित नेतृत्व, जसमा नेता को बन्छ र उसको अनुयायी को–को बन्छन् भन्ने कुरा प्रचलित परम्पराबाट निर्धारित हुन्छ। गाउँघरतिर ज्येष्ठ व्यक्तिले भनेको बाँकीले मान्ने र मुखियाको छोरो मुखिया बन्ने परिपाटीमा यस्तोखाले नेतृत्वको अभ्यास हुन्छ। यस्तो नेतृत्वलाई वेबरले कमजोर र विकासविरोधी ठहर्याएका छन्।
धनवज्र नयराजको परिवार अथवा जातीय समुदायका सदस्य थिएनन्। न त चाकरी र गुरुको कृपामार्फत उनले त्यो स्थान हात पारेका थिए। उच्च तहको विद्या र पाण्डित्यकै कारण संशोधन मण्डलमा उनी गुरुपछिको अग्रणी भूमिकामा रहे। यस आधारमा पनि संशोधन मण्डलले गरेको विद्या अभ्यास र उसको संस्थागत जीवन परम्परावादी थिए, बरु वेबरले भनेझैं विवेकी थियो भन्ने कुरा सिद्ध हुन्छ।
नयराजले विरासतमा संशोधन मण्डल हासिल गरेका होइनन्। स्थापना हुँदै गर्दा यो परिवार अथवा अमूक समुदायको चौघेरोबाट वेष्ठित पनि थिएन। संशोधन मण्डलमा नयराजले आफूपछिको हर्ताकर्ता शिष्य धनवज्र बज्राचार्यलाई बनाएका थिए।
धनवज्र नयराजको परिवार अथवा जातीय समुदायका सदस्य थिएनन्। न त चाकरी र गुरुको कृपामार्फत उनले त्यो स्थान हात पारेका थिए। उच्च तहको विद्या र पाण्डित्यकै कारण संशोधन मण्डलमा उनी गुरुपछिको अग्रणी भूमिकामा रहे। यस आधारमा पनि संशोधन मण्डलले गरेको विद्या अभ्यास र उसको संस्थागत जीवन परम्परावादी थिए, बरु वेबरले भनेझैं विवेकी थियो भन्ने कुरा सिद्ध हुन्छ।
पश्चिमी आवरणमा वेष्ठित भई आफूलाई आधुनिक देखाउने, तर अभ्यासमा परिवारवाद, नातावाद र कृपावादको खुला अनुसरण गर्ने ज्ञान उत्पादनमा सक्रिय विश्वविद्यालय बाहिरका संस्थाहरूलाई बरु संशोधन मण्डलभन्दा बढ्ता परम्परावादी ठहर्याउन सकिन्छ।
वेबरका अनुसार, दोस्रो किसिमको नेतृत्व अमूक पात्रको व्यक्तित्वमा निहित करिश्मा र प्रभावमा आधारित हुन्छ। त्यस्तो करिश्मायुक्त पात्रलाई अनुयायीहरूले विलक्षण मान्छन्। त्यस्तोखाले नेतृत्वद्वारा प्रतिपादित दर्शन अनुयायीहरूले अक्षरशः पालना गर्छन्। संकटको घडीमा उदय हुने यस्तो खालको नेतृत्वले समाजमा परिवर्तन ल्याउन भूमिका खेल्न सक्छ। संशोधन मण्डलमार्फत नयराजले अभ्यास गरेको नेतृत्वको प्रकृति यस्तै थियो।
तर, यस्तो नेतृत्वले हाँक्ने अभियानको आफ्नै सीमा हुन्छ। नेतृत्वले अनुयायीहरूको अपेक्षा पूरा गर्न सकेन, नेतृत्व शिथिल वा पतन भयो वा उसको निधन भयो भने आन्दोलन समाप्त हुन पुग्छ। करिश्मायुक्त नेताको सामथ्र्यमा टिकेको कुनै पनि अभियान सुदीर्घ हुन सक्दैन। संशोधन मण्डलले क्रमशः बेहोर्दै गएको मरणलाई यसैको उदाहरण मान्न सकिन्छ।
व्यक्तिलाई गौण मान्ने व्यूरोक्रेसीको ढाँचाअन्तर्गत विधिसम्मत तरिकाले चयन भएको नेतृत्वले नियमसंगत पारामा हाँक्ने अभियान मात्र दीर्घजीवी हुन्छ भन्ने वेबरको मत छ। संशोधन मण्डलले आफूलाई त्यस्तो ढाँचामा उकाल्न सकेन। हरेक वर्ष बजेट बनाउँदा प्रभावशाली र निकट व्यक्तिका संघसंस्थालाई छानीछानी पैसा छर्ने तर ज्ञान उत्पादनमा लगानी गर्न आवश्यक नठान्ने राज्य भएको नेपालजस्तो विपन्न देशमा यस्तो काम गर्न संशोधन मण्डल एक्लैलाई गाह्रो मात्र होइन असम्भवप्रायः थियो।
नेपालमा ज्ञान उत्पादनमा सक्रिय निजी क्षेत्रका दुई धार छन्। एउटा धारले व्यक्तिगत अथवा सामूहिक पहलबाट राष्ट्रिय स्रोतसाधन जुटाएर प्राज्ञिक कर्म गर्छ। अर्को धारले मूलतः विदेशी दाताहरूबाट सहयोग लिएर ज्ञान उत्पादन गर्छ। यी दुई धारले उत्पादन गरेका ज्ञानमा प्रवृत्तिगत भिन्नता भए पनि संस्था सञ्चालनसम्बन्धी कतिपय कमजोरी र सीमा भने उस्तै उस्तै छन्।
पहिलो धारको एउटा प्रतिनिधि हो, संशोधन मण्डल। आरम्भमा समुदायका विभिन्न व्यक्तिहरूलाई समेट्न सके पनि प्रकारान्तरमा यो परिवारमुखी हुँदै गयो। अहिले यो नयराजका पुत्रहरूको पारिवारिक विरासतजस्तो भएको छ।
कुन स्थान ?
संशोधन मण्डलका आलोचकहरूले संशोधन मण्डलका पण्डितहरू तिथिमितिको शुद्धाशुद्धिमै अल्झिए, ऐतिहासिक सामग्रीहरूको परिशीलन र संकथन निर्माणतिर अग्रसर हुन सकेनन् भनी टिप्पणी गर्ने गरेका छन्। त्यसो भन्नेहरूले इतिहासमा तिथिमितिको शुद्धतालाई कम महत्व दिंदा रहेछन् र संशोधन मण्डलबाट दीक्षित विद्वानहरूका सबै प्रकाशन पनि पढेका रहेनछन् भन्ने देखिन्छ।
पहिलो धारको एउटा प्रतिनिधि हो, संशोधन मण्डल। आरम्भमा समुदायका विभिन्न व्यक्तिहरूलाई समेट्न सके पनि प्रकारान्तरमा यो परिवारमुखी हुँदै गयो। अहिले यो नयराजका पुत्रहरूको पारिवारिक विरासतजस्तो भएको छ।
धनवज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेख’, ज्ञानमणि नेपालको ‘नेपाल–निरुक्त’, महेशराज पन्तको ‘रानीपोखरीदेखि जनैपूर्णिमासम्म’ छिचोल्नेहरूले संशोधन मण्डलसँग तथ्य मात्र छ, तिनको विश्लेषण गर्ने खूबी र शिल्प छैन भन्न किमार्थ सक्दैन।
संशोधन मण्डलका इतिहाससम्बन्धी प्रकाशनलाई तीनवटा श्रेणीमा बाँड्न सकिन्छ।
पहिलो, उपलब्ध भएसम्मका प्रकाशित/अप्रकाशित सन्दर्भ–सामग्री जम्मा गरी पूर्वप्रकाशित सामग्रीहरूमा भएका त्रुटिहरू सार्वजनिक रूपमा औंल्याउने। धनवज्र बज्राचार्यलगायतको सम्पादनमा निस्किएको ‘इतिहास संशोधनको प्रमाण प्रमेय’लाई उदाहरण मान्न सकिन्छ।
दोस्रो, प्रकाशमा नआएका पुराना अभिलेख, कागजात आदि छाप्ने र तत्कालीन समय–सन्दर्भको आलोकमा तिनको व्याख्या गर्ने। संशोधन मण्डलका जर्नलहरू ‘पूर्णिमा’ र ‘आदर्श’मा यस्ता सामग्रीहरू प्रशस्त छापिएका छन्।
तेस्रो, ऐतिहासिक सामग्रीहरूको आलोकमा इतिहास र वर्तमानबारे विश्लेषण प्रस्तुत गर्ने। यसको उदाहरणका लागि संशोधन मण्डलका विद्वानहरूले अध्येता कमलप्रकाश मल्लसँग गरेको ‘शास्त्रार्थ’लाई लिन सकिन्छ।
लिच्छविकालमा मानदेव संवत् प्रचलनमा थियो भनी संशोधन मण्डलका खासगरी नयराजले आफ्नो निर्णय सुनाएका थिए। काठमाडौं उपत्यकालाई मात्र नेपालमण्डल भनिने गरेकोमा संशोधन मण्डलले प्राचीनकालमा पनि नेपालको सीमा काठमाडौंभन्दा निकै परसम्म फैलिएको थियो भनी सिद्ध गरेको थियो। नेपालभरि विक्रम संवत्को सट्टा नेपाल संवत् चलाउनुपर्छ भन्ने मतको विपक्षमा खासगरी महेशराजले आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए।
महेशराजलगायत संशोधकहरूले शाहकाल शुरू हुनुअघि मल्ल राज्यमा पर्वते भाषा विरानो थियो भन्ने कमलप्रकाश मल्ललगायतका विद्वानहरूको दाबीलाई खारेज गर्दै मल्लकालताका नै काठमाडौं खाल्डोसहित यस भेगका राज्यहरूबीचको सम्पर्क भाषाको हैसियत यसले बनाइसकेको थियो भन्ने विभिन्न प्रमाण पेश गरेका थिए।
महेशराजलगायत संशोधकहरूले शाहकाल शुरू हुनुअघि मल्ल राज्यमा पर्वते भाषा विरानो थियो भन्ने कमलप्रकाश मल्ललगायतका विद्वानहरूको दाबीलाई खारेज गर्दै मल्लकालताका नै काठमाडौं खाल्डोसहित यस भेगका राज्यहरूबीचको सम्पर्क भाषाको हैसियत यसले बनाइसकेको थियो भन्ने विभिन्न प्रमाण पेश गरेका थिए।
आफ्ना दाबीहरू कडा शब्दमा प्रस्तुत गर्ने र इतिहास लेखनमा त्रुटि गर्ने अथवा आफूसँग असहमत हुनेहरूलाई होच्याउने शैलीका कारण संशोधन मण्डलले चर्का आलोचकहरू प्रशस्तै कमायो। तर इतिहास–संस्कृतिको अध्ययनमा यसको योगदान कति महत्वपूर्ण छ भन्ने चाहिं स्वयं आलोचकहरूकै रचनामा पाइएका संशोधन मण्डलका संस्थापक तथा यसबाट दीक्षित विद्वानहरूका प्रकाशनहरूको उद्धृत सन्दर्भले पुष्टि गर्छ।
– इतिहासका अध्येता मैनाली ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ पुस्तकका लेखक पनि हुन्।
अरु पनि
– बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला - महेशराज पन्त
– ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ - नयराज पन्त
– संशोधन मण्डलको सामर्थ्य र सीमा - सुजित मैनाली
– बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य - राजकुमार दिक्पाल
– त्यो प्रार्थना श्लोक र प्रतिज्ञा - काशीनाथ तमाेट
– नेपाली इतिहास खोजको दिवस ! - नयनाथ पाैडेल
– सिनासमा थन्किएको देशको इतिहास - वसन्त महर्जन
– संशोधन मण्डलको भविष्य - गाेविन्द न्याैपाने