रेलले सम्झायो बाल्यकाल
त्यस वेला रेल बन्द भएको समाचार हाम्रा लागि अप्रिय थियो। बन्द भए पनि हाम्रो पारिवारिक जमघटमा रेलको प्रसंग चलिरहन्थ्यो। बाल्यकालको स्मृतिसँग अभिन्न रूपले गाँसिएको रेलले अहिले पुनर्जन्म पाएको सुन्दा हाम्रो उत्साहको ठेगानै छैन।
२ असोजको बिहानै पत्रपत्रिका र अनलाइनका समाचारले हाम्रो परिवारका सदस्यलाई तरंगित बनायो। समाचारबाट बुझियो – धेरै वर्षदेखि कोमामा रहेको जनकपुर–जयनगर रेलले पुनर्जीवन पाउने भएछ। भारतबाट किनिएका दुई सेट रेल र इन्जिन नेपाल आउने भएछन्। सामाजिक सञ्जालमा रेलका डिब्बा र इन्जिनका फोटाहरू देखिन थाले। रेल आउने खबरले मानिसहरूमा स्वाभाविक रूपले विभिन्न खालका प्रतिक्रिया उत्पन्न गरायो। हाम्रो परिवारमा भने यसले पुरानो स्मृतिको भेल नै ल्यायो।
हाम्रा बुबा होमराज प्याकुरेलले पटनाबाट अंग्रेजीमा म्याट्रिक पास गरेपछि वि.सं. १९९८ तिर रेलवेमा जागिर पाउनुभएछ। जनकपुर–जयनगर रेलवेको उहाँ बडाबाबु अर्थात् ‘हेडक्लर्क’ हुनुहुन्थ्यो। अहिलेको व्यवस्थाअनुसार त्यो कुन सरहको पद हो, थाहा छैन। उहाँको अफिस जयनगरस्थित रेलवेको तत्कालीन हेडअफिसमै थियो। रेलवेका प्रमुख हाकिम त्यहीं बस्थे। उहाँ काठमाडौंका नेवार समुदायबाट हुनुहुन्थ्यो। नाम बिर्सिएँ। हाम्रा बुबा उहाँपछिको प्रशासन प्रमुख हुनुहुन्थ्यो। उहाँसँगै काम गर्ने काठमाडौंका अर्का एकजना व्यक्ति पनि हुनुहुन्थ्यो। उहाँ पनि नेवार समुदायबाट हुनुहुन्थ्यो। उहाँलाई हामी काका भन्थ्यौं। रेलवेकै एकजना अडिटर पनि नेवार नै हुनुहुन्थ्यो। रेलवेका कर्मचारीहरूका लागि खोलिएको ‘रेलवे डिस्पेन्सरी’ थियो। त्यसका डाक्टर एकजना भट्टचार्य हुनुहुन्थ्यो। कम्पाउन्डर चाहिं नवराज भन्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँलाई हामी मामा भन्थ्यौं।
बुबा–आमाका हामी सातजना सन्तानमध्ये पाँचजनाको जन्म खजुरी स्टेसनको क्वार्टरमा भएको हो। जयनगर स्टेसन भारतीय भूमिमा भएकाले र रेलवेको जमीन त्यहाँ थोरै भएकाले दोस्रो स्टेसन अर्थात् खजुरीमा अन्य स्टाफहरूका क्वार्टर थिए। रेलको इन्जिन र डिब्बा मर्मत गर्ने कारखाना, रेलवेका कर्मचारीहरूका लागि खोलिएको चिकित्सालय पनि खजुरीमै थिए। बुबाको क्वार्टर पनि त्यहीं भएकाले हामी त्यहीं हुर्कियौं। त्यतिबेला हामीलाई त्यो क्वार्टर नै आफ्नो घर र त्यहाँ कुद्ने रेल हाम्रो आफ्नै हुन् भन्ने लाग्थ्यो।
वि.सं. २०१८ सम्म बुबा त्यहीं बडाबाबु रहनुभयो। उहाँ रेलवे कर्मचारी युनियनको नेता पनि हुनुहुन्थ्यो। १ पुस, २०१७ सालको ‘कु’ पछि जेठ, २०१८ मा उहाँको सरुवा काठमाडौंको गोश्वारा हुलाकमा भयो। काठमाडौं हाम्रो लागि परदेश जस्तै थियो। त्यही भएर सरुवाको चिठी पाएदेखि नै बुबा खिन्न हुनुहुन्थ्यो। खजुरी छोड्नुपर्ने भयो भन्ने थाहा पाएपछि रेल र त्यहाँका साथीभाइसँग विछोड हुने भयो भन्ने सम्झिएर हामी केटाकेटी पनि खिन्न भयौं। तर त्यतिबेलाको चलन अनुसार नेपाल अर्थात् काठमाडौंमा बस्न पाइने भयो भन्ने सम्झिएर उत्साहित पनि भइयो।
असार २०१८ को अन्तिमतिर हामी सबै काठमाडौं आयौं। सोही वर्ष ७ फागुनमा बुबाको निधन भयो। त्यसपछि आमासँगै हामी हाम्रो पैतृकथलो सप्तरीको सखडा, गोविन्दपुरतिर लाग्यौं।
भारतबाट किनेको रेल नेपाल आउने थाहा पाएपछि हामी दिदीबहिनी दाजुभाइहरूबीच हामीले बाल्यकाल बिताएको खजुरी स्टेसन र रेलका कुरा धेरैबेर भए। हामी खजुरीमा छँदा कान्छी बहिनी मुनु (मीना काफ्ले) र कान्छो भाइ सुमन प्याकुरेल क्रमशः ६ र ४ वर्षका थिए। त्यसैले उनीहरूलाई खजुरीको त्यति सम्झना छैन। तर जेठी दिदी धन मिश्र, माइली दिदी ज्ञानु (कुञ्जना मिश्र), साइली दिदी बिनु (विना अर्याल), म र भाइ सुवोध प्याकुरेलबीच खजुरी, जयनगर, जनकपुर, विजलपुरा, बसराजा, मौवा, महिनाथपुर, परवाहा, झिंझा र इकराहीका कुराहरू हुन थाले।
हामी खजुरीमा छँदा रेलवेका टिटी (यात्रुहरूको टिकट जाँच्ने कर्मचारी), गार्ड, फोरम्यान अधिकांश बंगाली थिए। रेलको डिब्बा र इन्जिन मर्मत गर्नेलगायत प्राविधिक कर्मचारीहरू पनि धेरै जसो बंगाली नै थिए। उनीहरूलाई शायद अंग्रेजहरूले पश्चिम बंगालबाट ल्याएका होलान्। हामीले थाहा पाउँदा महिनाथपुर स्टेसनबाट पूर्वतिर इकराही भन्ने बंगाली गाउँ नै थियो। हामी त्यहाँ गइरहन्थ्यौं।
बुबा बिहानको खाना खाएर ट्रली चढेर जयनगरको अफिस जानुहुन्थ्यो। दुईजना मानिसले घचेटेर रेलकै लिकमा कुदाउने चारपाङ्ग्रे बाहन हो, ‘ट्रली’ भनिन्छ। काठमाडौंका ठूला हाकिमलाई अफिसले कार दिएजस्तै हाम्रा बुबालाई रेलवे अफिसले ट्रली दिएको थियो। दुईजनाले पालैपालो घचेटेर करीब पाँच किलोमिटर पर रहेको जयनगरसम्म बुबालाई पु¥याउँथे। ट्रली घचेड्न धेरै बल लगाउनुपर्दैन। हामी पनि ट्रली घचेट्न पाउँदा रमाउँथ्यौं।
रेलसँग हाम्रो बाल्यकाल गहिरोसँग गाँसिएको थियो। जयनगरबाट रेल हिंड्यो कि हिंडेन भनी लिकमा कान थापेर सुन्थ्यौं। रेल छुटेपछि लिकमा आवाज आउँथ्यो। त्यतिबेला रेलका डब्बा सामान्य थिए। फस्र्ट क्लास भन्ने एउटा डब्बा थियो। त्यसमा हाम्रा बुबाजस्तै ठूला हाकिमहरू चढ्छन् भनी हामीबीच कुरा हुन्थ्यो। कहिलेकाहीं काठमाडौं र भारतबाट ठूला मानिस आउँदा स्पेसल डिब्बा रेलको पुछारमा जोडिन्थ्यो। स्पेसल डिब्बा जोडिएको छ रे ! भन्ने थाहा पाएसँगै हामी सबै त्यो हेर्न र चढ्न स्टेसनतिर दगुथ्र्यौं। हाम्रो संसार भन्नु नै त्यतिबेला खजुरी क्वार्टर र रेल थियो। एकले अर्कालाई समातेर ‘रेलगाडी छुक्छुक् छुक्’ भन्दै खेलिन्थ्यो। रेलवेमा काम गर्ने कर्मचारीहरूका छोराछोरी हाम्रा साथी थिए।
हाम्रो प्रारम्भिक शिक्षा खजुरी गाउँको खजुरी मिडल इङ्लिस स्कूलमा भएको हो। त्यतिबेला खजुरी हुँदै चल्ने रेलहरू ‘क्रस’ हुने ठाउँ भएकाले यो ठाउँलाई ‘खजुरी जक्सन’ पनि भनिन्थ्यो। बुबाको काठमाडौंमा सरुवा भयो र यहीं उहाँको निधन भएपछि खजुरी र रेल दुवै हाम्रा लागि विरानो हुँदै गए।
बुबाको निधनपछि सप्तरीको सखडा, गोविन्दपुरमा बसे पनि जनकपुर आउँदा–जाँदा रेल चढिन्थ्यो। समय बितेसँगै रेलको लाइन जीर्ण भएको, डब्बाहरू थोत्रो भएको पनि देखियो। हामी सानो छँदा रेलका दुईवटा इन्जिनको नाम क्रमशः राम र सीता थियो। दुवै इन्जिन बिग्रियो रे ! भन्ने पनि सुनियो। पछि थाहा भयो, वीरगञ्ज–अमलेखगञ्ज चल्ने रेलवे बन्द भएपछि त्यसका डिब्बा र इन्जिन ल्याएर जनकपुर–जयनगर कुदाउन थालिएछ। त्यतिबेला रेलको नाम ‘एनजेजेआर’ अर्थात् नेपाल जनकपुर–जयनगर रेलवे थियो। यद्यपि त्यो रेल जनकपुरभन्दा पर महोत्तरीको विजलपुरासम्म जान्थ्यो। पछि त्योभन्दा वरको स्टेसन भूताहासम्म मात्र पुग्न सक्यो। पछि पछि त लिकहरू झनै बिग्रिंदै गए। पुल भत्कियो। रेल, जनकपुरसम्म सीमित भयो। पछि बन्द नै भयो।
रेल बन्द भएको समाचार हाम्रा लागि अप्रिय थियो। बन्द भए पनि हाम्रो पारिवारिक जमघटमा रेलको प्रसंग चलिरहन्थ्यो। बाल्यकालको स्मृतिसँग अभिन्न रूपले गाँसिएको रेलले अहिले पुनर्जन्म पाएको सुन्दा हाम्रो उत्साहको ठेगानै छैन।
त्यो रेल, यो रेल
पत्रपत्रिका र अनलाइनतिर नयाँ रेलका डिब्बा हेर्दा पुरानो रेलका डिब्बा मेरो आँखामा झलझली नाचे। नयाँ रेलको कलेवर र ढाँचा हवाईजहाजको जस्तो लाग्यो। पुरानो रेल यस्तो थिएन। त्यतिबेला यात्रुहरू रेलका झ्याल–झ्यालमा साइकल झुण्ड्याएर यात्रा गर्थे। स्टेसनमा उत्रिएर त्यही साइकल चढी गन्तव्यसम्म पुग्थे। महिलाहरू पाठापाठी र सामान राखेका ढाकीसहित रेलका डिब्बामा कोचिन्थे। डिब्बाभित्र ठाउँ नहुँदा रेलको छत भरिन्थ्यो। रामनवमी र विवाहपञ्चमीताका रेलमा बढी भीडभाड हुन्थ्यो। यात्रुहरूको चाप बढ्ने भएकाले त्यो ताका रेलको संख्या पनि बढाइन्थ्यो। त्यतिबेला जनकपुरमा लाग्ने मेला भर्न भारततिरबाट मानिसहरू आउँथे। उनीहरूलाई रेलले सजिलो बनाएको थियो। जनकपुरमा मानिसहरूको चहलपहल उत्पातै हुन्थ्यो।
अहिले किनिएको रेलको डिब्बा विलासी देखिन्छ। रेलको डिब्बा किन्ने क्रममा रेल प्रयोग गर्ने त्यहाँका जनताको आवश्यकतालाई ध्यान दिएको पाइएन। यो रेल मूलतः ग्रामीण भेगका सामान्य कृषकहरूले बढी प्रयोग गर्छन्। रेल कुद्ने ठाउँमा जनकपुरबाहेक ठूला शहर एउटै छैन। पाँच किलोमिटरभन्दा कमको दूरीमा रहेका स्टेसनहरू सबै गाउँ हुन्। त्यस्तो ठाउँका जनताका लागि उपयोगी हुने तरिकाले रेलको डिब्बा बनाएको देखिएन। शौचालयमा ‘कमोड’ छ। ग्रामीण जनताहरू त्यस्तो शौचालयसँग अभ्यस्त हुँदैनन्। महानगरहरूमा चल्ने मेट्रो ट्रेनको नक्कल गरेर बनाइएको नयाँ रेलको डिब्बा त्यस भेगका लागि उपयुक्त छैन। सिटमाथिको सामान राख्ने ठाउँ ब्रिफकेस अड्याउने खालको छ। तर त्यस भेगका यात्रुहरूले ब्रिफकेस होइन, साइकल, ढाकी, पाठा, तरकारी बोकेर मेलापात गर्नुपर्छ।
हाम्रा नीतिनिर्माताहरूलाई विकास कसका लागि भइरहेको छ भन्ने कुराको हेक्का छैन भन्ने कुरा यसबाट पुनर्पुष्टि भएको छ। यति हुँदाहुँदै पनि रेल आयो, सञ्चालनमा आउने तय भयो – यो नै सबैका लागि जस्तै हाम्रो परिवारका लागि पनि खुशीको कुरा भएको छ।