‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’
सम्माननीया रानीसाहेब, गुठीका सदस्यहरू, उपस्थित सज्जन र महिलाहरू !
हामीहरूको प्राचीनतम ग्रन्थ वेद हो। वेदको एक भाग बाह्मण हो। जो मानिस दिनका दिन इतिहास पढ्छ त्यसले देवतालाई दूधभात र मासुभात चढाएको फल पाउँछ भनी शतपथब्राह्मणमा लेखिएको छ –
क्षीरौदनमांसौदनाभ्यां ह वा एष देवासतर्पयति। य एवं विद्वान् वाकोवास्यमितिहासपुराणमित्यहरहः स्वाध्यायमधीते।
(शतपथबाह्मण ११/५/७/९)
राजकुमारहरूको शिक्षाको विषयमा कौटल्यले उनीहरूलाई दिनको पहिलो भागमा हात्ती, घोडा रथ चढ्ने, हतियार चलाउने शिक्षा दिनुपर्छ, दिनको पछिल्लो भागमा चाहिं इतिहास पढाउनुपर्छ भनी लेखेका छन्–
पूर्वमहर्भाग हस्त्यश्वरथप्रहरणविद्यासु विनयं गच्छेत्।।१२।। पश्चिममितिहास श्रवणे।।१३।।
(कौटलीय अर्थशास्त्र १/५)
यी कुराबाट हाम्रा पूर्वजहरू इतिहास पढ्नु आवश्यक सम्झन्थे भन्ने स्पष्ट हुन्छ। हाम्रो पालासम्म आइपुगेको प्राचीन शिक्षापरम्परामा भने वेद, दर्शन, काव्य, ज्योतिष, व्याकरण, धर्मशास्त्रहरूकै मात्र पढाइ हुन्छः इतिहासको पढाइ हुँदैन। यसैले हाम्रा पूर्वजहरूले पछि इतिहास पढ्न पढाउन छोडे भन्ने स्पष्ट देखिन्छ।
नेपालमा, स्थिति मल्लको पालामा (अहिलेभन्दा ६०० वर्ष जति अघि) लेखिएको गोपालराजवंशावली पाइएको छ। सो पुस्तक संस्कृत र नेवारी भाषामा लेखिएको छ। उक्त गोपालराजवंशावलीमा टिपिएका, सो ग्रन्थ लेखिनुभन्दा दुई–तीन सय वर्ष अघिका ऐतिहासिक घटनाहरू अरू तात्कालिक प्रमाणसँग दाँज्दा दोठ्याङ्ग खाँदैनन्, तर उक्त समयभन्दा पुराना हुँदै गएका घटनाहरूमा भने प्रायः प्रामाणिकता कम हुँदै गएको देखिन्छ।
अहिलेभन्दा सय डेढ सय वर्ष जति अघि नेपाली भाषामा लेखिएका भाषावंशावलीहरू जुन पाइन्छन्, तिनको पनि यही अवस्था छ अर्थात् हाम्रो देशमा इतिहासको पढाइ थिएन तथा इतिहासप्रति विद्वानहरूको आदर थिएन भन्ने कुरा यताबाट स्पष्ट देखिन्छ।
बुढा मरै भाषा सरै भनी भन्छन् तिमीहरू सबैछेउ सुनाइगयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउनं र यो राजे धामि षनन्ः।
बूढो मर्छ परन्तु सर्छ उसले जानेबुझेको कुरो,
यो भन्छन् दुनियाँ, तथा भुवनमा प्रत्यक्ष देखिन्छ सो।
मेरो जीवनमा घटे जति कुरा, मैले विचारें जुन,
तिम्रा चित्तमहाँ अडून् त्यति कुरा, यै भन्छ मेरो मन।
मेरा यी मनका कुरा सब सुनी सम्झीरहे आखिर
आफ्ना सन्ततिमा तिनै सब कुरा भन्लाउ भै तत्पर।
तिम्रा सन्ततिले कुरा सब सुनी खेलाउँदै चित्तमा
हाम्रा सन्ततिलाई शिक्षण दिनन् भूपालका काजमा।
हाम्रा सन्ततिले पनि स्वकुलका हामीहरूका सब
राम्रो भाव बुझेर राजनयको सम्झी कुरा वास्तव।
गर्लान् उत्तम राजकाज, जसले होलान् उनी सुस्थिर,
आँखा लाउनसम्म यो मुलुकमा वैरी त मान्ला डर।
यस्तो कुरा बोल्ने श्री ५ पृथ्वीनारायण शाहबाहेक हाम्रो देशका राजनीतिज्ञहरूमा अरू कसैले इतिहासमा अभिरुचि देखाएको हामीलाई थाहा छैन। अहिले आएर हामीहरूमा इतिहासप्रति जुन अनुरक्ति देखिएको छ, यो पश्चिमा विद्वान्हरूको संसर्गबाट नै आएको हो भन्ने कुरामा केही सन्देह छैन।
सय वर्षभन्दा केही अघि गुजरातका पण्डित भगवानलाल इन्द्राजी नेपाल आए र उनले यहाँका केही अभिलेख लगी प्रकाश गराई तिनमा व्याख्या तथा टिप्पणी हाली नेपालको इतिहासको पठनपाठनको प्रारम्भ गराइदिए। उनले प्रकाश गराएका अभिलेखमध्ये १५ ओटा लिच्छविकालका अभिलेख छन्।
तीमध्ये एक थरी संवत् ३८६ देखि संवत् ५३५ सम्मका र अर्का थरी संवत् ३४ देखि संवत् १५३ सम्मका अभिलेख परेका छन। यसरी यी अभिलेखमा देखिएका संवत् कुन संवत् हुन् भन्ने प्रश्न भगवानलालको अगाडि तेर्सियो।
भाषावंशावलीमा कलिगताब्द २८०० मा वसन्तदेव तथा कलिगताब्द ३००० मा अंशुवर्मा भए भनी लेखिएको छ। यताबाट वसन्तदेवको अस्तित्व वि.पू. २४४ मा र अंशुवर्माको अस्तित्व वि.पू. ४४ मा देखियो। लिपिविशेषज्ञ भगवानलालले यस्तो कुरोमा विश्वास गर्नै सकेनन्। उनले त मानदेवको संवत् ३८६ को अभिलेख विक्रमको चारौं शताब्दीभन्दा पुरानो हुन नसक्ने र अंशुवर्माको संवत् ३४ को अभिलेख विक्रमको सातौं शताब्दीभन्दा पुरानो हुन नसक्ने कुरा लिपिको भरमा निश्चय गरे।
यसरी चिनियाँ लेखका आधार र आफ्नो अड्कलको भरमा अंशुवर्माका अभिलेखमा देखिएको संवत् वि.स. ६६३ देखि उठेको हर्षसंवत् हो भन्ने र मानदेवको अभिलेखमा देखिएको संवत् विक्रमसंवत् हो भन्ने निर्णय भगवानलालले गरे।
यसपछि बेलायतका प्राध्यापक बेन्डल नेपाल आए। उनले भक्तपुर गोलमाढीटोलको, सहायक शासक अशुवर्मा भएको एउटा अभिलेखमा संवत् ३१६ देखे। यो संवत् वि.सं. ३७६ देखि उठेको गुप्तसंवत भएमा मात्र इतिहासको घटना मिल्छ भन्ने उनले सम्झे।
यसपछि यस विषयमा फ्लीटले हात हाले। उनले बेन्डलको कुरोलाई प्रामाणिक सम्झी संवत् ३८६ को मानदेवको अभिलेखको संवत् पनि गुप्तसंवत् नै ठहर्याए र शंकर बालकृष्ण दीक्षितको गणनाको आधार लिई यसको समय वि.सं. ७६२ हुन्छ भन्ने निर्णय गरे।
यताबाट, फ्लीटको पालामा आएर नेपालमा गुप्तसंवत् र हर्षसंवत् चलेका थिए भन्ने निर्णय भयो।
हाम्रो देशमहाँ प्रसिद्ध अति छन् श्रीचाँगुनारायण,
ढुङ्गÞे स्तम्भ त्यहाँ छ साक्षर तथा सद्बोधको कारण।
त्यो हो लिच्छविवंशको चरितको पैलो बडो साधन,
त्यल्ले गर्दछ मानदेव नृपका धेरै कुरा वर्णन।
तेस्रो विक्रमपूर्वको शतकमा राजा भए ती भनी
केही मानिस भन्दछन्, छ तिनको आधार वंशावली।
चौथो विक्रमवर्षको शतकमा राजा भए ती भनी
इन्द्राजीहरू भन्दछन् स्वमतको आधार त्यै स्तम्भ ली।
आठौं विक्रमवर्षको शतकमा राजा भए ती भनी
श्रीफ्लीटादि बताउँछन् स्वमतको प्रामण्य त्यै स्तम्भ दी।
यसपछि फ्रान्सका प्राध्यापक लेभी नेपाल आए। उनले चीनको इतिहासबाट नेपालको राजसिंहासनमा वि.सं. ७०० मा नरेन्द्रदेव थिए भन्ने कुरा पत्ता लाएका थिए। अंशुवर्माका अभिलेखमा देखिएको संवत्लाई हर्षसंवत् हो भनी सकार्दा कमसेकम वि.सं. ७०३ सम्म नेपालको राजसिंहासनमा अंशुवर्मा नै रहिरहन्छन्। यस कारण अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् हर्षसंवत् हुन सक्तैन भन्ने निर्णयमा लेभी पुगे।
बेन्डलले छपाएको पाटन सुनधाराको अंशुवर्माको अभिलेखमा संवत् ३४ मा पौषमा अधिमास परेको देखिन्छ। यसैलाई हेतु मानी अंशुवर्माहरूले व्यवहार गरेको संवत् वि.सं. ६५२ देखि उठेको भोटे संवत् हो भन्ने निर्णय लेभीले गरे।
त्यसो गदा भगवानलालले छपाएको पशुपतिको द्वितीय जयदेवको संवत् १५३ को अभिलेखको समय वि. सं. ८०५ हुन आयो। यताबाट वि.सं. ८०५ भन्दा अगाडि नै वसन्तदेव बितिसकेका रहेछन् भन्ने सिद्ध हुन्छ। तर भगवानलालले नै छपाएको काठमाडौं जैसीदेवलको वसन्तदेवको अभिलेखको संवत् ४३५ लाई गुप्तसंवत् मान्दा वि.सं. ११ सम्म वसन्तदेव जीवितै देखिन्छन। यसकारण, मानदेवहरूले व्यवहार गरेको संवत् गुप्तसंवत् नभई अर्कै संवत् हुनुपर्ने ठहर लेभीले गरे।
आफैंले छपाएको किसिपिंडीको एउटा अभिलेखमा संवत् ४४९ मा आपाढमा अधिमास परेको कुरा लेभीले देखे। त्यही अधिमासलाई हेतु मानी मानदेवहरूले व्यवहार गरेको संवत् वि.सं. १६७ देखि उठेको रहेछ भन्ने निर्णयमा लेभी पुगे।
यसो गर्दा बेन्डलले प्रकाश गराएको गोलमाढीटोलको संवत् ३१६ को अभिलेखको समय वि.सं. ४८३ हुन आयो र यतिखेरै अंशुवर्माको अस्तित्व देखिन आयो। यस आपत्तिबाट फुर्सत पाउन बेन्डल फ्लीटहरूले शतस्थानी अंक ३०० हो भनी पढेको उक्त अभिलेखको चिह्नलाई ३०० होइन ५०० हो भन्ने सिद्धान्तको प्रतिपादन लेभीले गरे।
यसपछि वादविवाद शुरू भयो। बेन्डल तथा फ्लीटका अनुयायीहरूले लेभीको कुरो मानेनन्। काशीप्रसाद जयसवालले त लेभी इतिहासका विद्वान नै होइनन्, यिनी त भाषाशास्त्रका विद्वान् हुन, आफ्नो क्षेत्रबाहिरको काममा हात हालेर यिनले नेपालको इतिहास नै भताभुङ्ग पारिदिए भनी स्पष्टैसँग बोले।
रमेशचन्द्र मजुमदारले इतिहासको दृष्टिबाट उक्त अभिलेखको शतस्थानी अंकलाई ५०० भनी पढ्न मिल्छ, तर लिपिको दृष्टिबाट भने यो सिद्ध गर्न सकिंदैन, जबसम्म अक्षरमा पनि अंकमा पनि लेखिएको अभिलेख पाइँदैन तबसम्म यो झगडा टुङ्गिदैन भनी स्पष्टसँग बोले। यस्ता कुराबाट नेपालको इतिहासमा काम गर्ने हामीहरूको लागि एउटा जटिल प्रश्न खडा हुन गयो।
यस्तै वि.सं. २०२४ मा संशोधन–मण्डलका कार्यकर्ता रामजी, देवीप्रसाद, धनब्रज, महेशराज, दिनेशराजहरूले बूढानीलकण्ठनिरको एउटा अभिलेख खोजी पूर्णिमा १५ अंकमा प्रकाश गराए। त्यसमा सहायक शासकको रूपमा सर्वदण्डनायक महाप्रतिहार भौमगुप्त देखिन्छन्। त्यस अभिलेखको संवत् बेन्डलहरूको विचार अनुसार ३१२ र लेभीको विचार अनुसार ५१२ पढ्नुपर्ने हुन्छ।
उनै सर्वदण्डनायक महाप्रतिहार भौमगुप्त सहायक शासकको रूपमा रहेको चौकीटारको संवत् ४८२ को अभिलेख नोलीले छपाइसकेका थिए। यसो हुनाले बूढानीलकण्ठको अभिलेखको संवत्लाई ३१२ पढ्दा भौमगुप्तले १७० वर्षसम्म सर्वदण्डनायक महाप्रतिहारका रूपमा रही शासन गरिरहे भन्नुपर्ने भयो, ५१२ भनी पढ्दा भने उनले ३० वर्षसम्म सो पदमा रही शासन गरे भन्न पाइने भयो। त्यस कारण पछिल्लो कुरो नै युक्तिसङ्गत भएकोले यो झगडा टुङ्गियो।
बेन्डालादि शतत्रयी भनिदिने यै चिह्न हो भन्दछन्,
यो हो पञ्चशतीप्रबोधक भनी लेभीहरू भन्दछन्।
चर्को वादविवाद यो चलिरह्यो पौने शताब्दीतक,
ल्याई सामु प्रमाण यो छिनिदियो संशोधले आखिर।
नेपालमा सुमतितन्त्र भन्ने सिद्धान्त ज्योतिषको पुस्तक पाइयो। त्यसमा वि.सं. ६३३ देखि उठेको नयाँ संवत्को चर्चा छ। वि.सं. ६३३ देखि नेपालमा नयाँ संवत् चलेको कुरा अरू तीनओटा प्रमाणबाट पनि सिद्ध हुन आयो। यस कारण अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् सोही संवत् हो भन्ने कुराको सम्भावना देखियो।
संवत् ३१ को पौषमा अधिमास परेको अभिलेख मोहनप्रसादद्वारा, संवत् ३४ को पौषमा अधिमास परेको अभिलेख बेन्डलद्वारा, संवत् ३१ माघशुक्ल त्रयोदशी आइतवार तिष्यनक्षत्र परेको अभिलेख धनबज्रद्वारा र संवत् ३०१ वैशाखशुक्ल सप्तमी आइतवार तिष्यनक्षत्र सिद्धयोग परेको अभिलेख बुद्धिसागरद्वारा प्रकाशित भए। यिनबाट हामीलाई गणना गर्ने आधार मिल्यो।
अंशुवर्माहरूले व्यवहार गरेको संवत् कार्तिकादि थियो भनी मानेमा मात्र उपर्युक्त अभिलेखका तिथिमितिको गणना मिल्छु, चैत्रादि थियो भनी मानेमा चाहिं मिल्दैन। यो झगडालाई छिनिदिने एउटा अभिलेख अनन्तलिङ्गेश्वरमा छ। त्यो लीलादेवीले देखिछन् र उनका पति भोलानाथलाई भनिछन्।
सो अभिलेख संशोधनमण्डलका कार्यकर्ता रामजी, देवीप्रसाद, भोलानाथ, शंकरमान, धनबज्र, गौतमबज्र, महेशराज, नयनाथहरूले सम्पादन गरी अभिलेख–संग्रह पहिलो भागमा प्रकाश गराएका थिए। यतावाट अंशुवर्माहरूका अभिलेखमा देखिएका संवत् वि.सं. ६३३ देखि उठेको सो संवत् भन्दा अर्को हुन सक्तैन भन्ने कुराको राम्ररी टुंगो लाग्यो।
छन् चैत्रादिक कार्तिकादिक दुवै संवत् चलेका यहाँ
चल्थ्यो लिच्छविकालमा कुन भनी शंका थियो चित्तमा
शंकानाशक अश्मलेख अहिले संशोधले ल्याइद्यो,
भोलाकी गृहिणी हुँदा मतिमती पाषाण त्यो देखियो।
१. अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् भारतका सम्राट हर्षवर्धनले चलाएको हर्षसंवत् हो भनी भगवानलाल भन्छन्।
२. अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् भारतका गुप्तसम्राटहरूले चलाएको गुप्तसंवत् हो भनी काशीप्रसाद जयसवाल भन्छन्।
३. अंशुवर्माहरूका अभिलेखमा हर्ष तथा गुप्त दुवै संवत् पाइन्छन् भनी फ्लीटर राधागोविन्द भन्छन्।
४. अंशुवर्माहरूका अभिलेखमा देखिएको सवत् भारतका सम्राट यशोधर्माले चलाएको यशोधर्मसंवत् हो भनी के.जी. शङ्कर भन्छन्।
उपर्युक्त पाँच जना विद्वान्ले ती संवत्लाई प्रमाण मानी भारतीय साम्राज्यभित्र नेपाल पथ्र्यो भन्ने भाव देखाएका छन्।
५. अंशुवर्माहरूका अभिलेखमा देखिएको संवत् भोटे सम्राटहरूले चलाएको भोटेसंवत् हो, त्यसकारण भोट–सामाज्यभित्र नेपाल पथ्र्यो भनी लेभी भन्छन्।
भगवानलाल, फ्लीट, लेभी, जयसवाल, राधागोविन्द, के.जी. शंकर यी ६ जनाले जुन–जुन संवत् अंशुवर्माहरूले व्यवहार गरेका हुन् भनी बोलेका छन् ती–ती सवत् लिई गणना गर्दा नेपालमा पाइएका अभिलेखका तिथिमिति मिल्दैनन्।
नेपालमै बनेको सुमतितन्त्रले बताएको संवत् लिई गणना गर्दा नेपालमा पाइएका अभिलेखका तिथिमिति ट्वाक्क मिल्छन्। यसकारण उपर्युक्त ६ ओटै विद्वान्का विचार भ्रमपूर्ण छन् भन्ने स्पष्ट हुन्छ।
नेपाली अंशुवर्मप्रभृति नृपतिका लेखमा जो छ संवत्,
त्यो संवत् भारतीय क्षितिपतिहरूको राज्यको खास संवत्।
स्पष्टै देखिन्छ तस्मात् भरतवसुमतीनाथको राज्यभित्र
पथ्र्यो नेपाल भन्दै कतिपय बुधले लेख्तथे यत्रतत्र।
भोटे संवत् मान्दथे अंशुवर्मा
भोटेका नै वश्य हुन् अंशुवर्मा।
नेपालीका नाथ भै भोटनाथ
बस्थे भन्ने क्वै थिए बुद्धिमन्त।।
सुमतितन्त्रहरूकन मन्थन
इतर लेखसमेत परीक्षण।
गणितबाट खुला विधिले भयो
भ्रम दुवै थर त्यो अब ता हट्यो।।
यति टुङ्गो लागेपछि इतिहासको तारतम्यबाट लिच्छविकालमा चलेको पहिलो संवत् शकसंवत् भन्दा अर्को हुन नसस्ने कुरा पनि निश्चित भयो। तर मानदेवहरूका अभिलेखमा देखिएका संवत्मा परेका अधिमासलाई गणितद्वारा सिद्ध गर्ने काम भने हाम्रो अगाडि बाँकी नै रहेको छ।
लिच्छविकालका अभिलेखमा आषाढ र पौषमा मात्र अधिमास देखिन्छन्। आजभोलि चलेको पञ्चाङ्ग गणनापद्धति अनुसार त्यस्तो कुरो हुन सक्दैन। यसैले लिच्छविकालका ज्योतिषीहरूको आधारग्रन्थ के थियो भन्ने प्रश्न हाम्रो अगाडि स्वतः आयो। वेदाङ्गज्यौतिषमा आषाढ र पौषमा मात्र अधिमास पर्छन् स्पष्टसँग लेखिएको छ। यसै कारण लिच्छविकालका ज्योतिषीहरूको गणना गर्ने पुस्तक वेदाङ्गज्यौतिष रहेछ कि भन्ने सम्भावना देखियो।
पर्दैनन् अधिमास पौषतिरमा हाम्रो यता सम्प्रति,
सक्तैन त्यसलाई ल्याउन कुनै पञ्चाङ्गका पद्धति।
पाइन्छन् तर लिच्छवि क्षितिपका पाषाणका लेखमा,
धेरै नै अधिमासका तिथिहरू आषाढमा पौषमा।
के हो यो घटना भनेर उहिल्यै सानै छँदामा सुनें,
विस्तारै ग्रहलाधवादिक पढें, पञ्चाङ्ग गन्ने भएँ।
शंका भित्र बढ्यो, मिलेन गतिलो मिल्दो कुनै उत्तर,
धेरै कष्ट गरी सकेजति पढें, आएन सद् उत्तर।
यस्तैमा अहिले फुरे सरि भयो वेदाङ्गको पद्धति,
मिल्ला उत्तर क्यै भनी श्रम गरी पढ्दैछु त्यो पद्धति।
तर यहाँनिर अर्को विकट प्रश्न खडा भयो। एक वर्षमा ३६६ दिन हुन्छन् भनी वेदाङ्गज्यौतिषमा स्पष्टसँग लेखिएको छ। वास्तवमा एक वर्षमा ३६५ दिन र ६ घण्टा जति मात्र हुन्छन्। यसकारण वेदाङ्गज्यौतिषमा लेखिएको वर्षमान र वास्तव वर्षमानमा १८ घण्टाको फरक पर्छ। अर्थात् वेदाङ्गज्यौतिषअनुसार पात्रो बनाउँदै गयो भने ४० वर्षमा एक महीनाको फरक पर्छ।
यही अनुसारको पञ्चाङ्ग व्यवहारमा थियो भनी मान्ने हो भने संवत् ३८६ देखि संवत् ५३५ सम्मका १४९ वर्षमा पौने चार महीनाजतिको फरक पर्छ। अर्थात् पात्रो अनुसार मध्य जाडो आउँदा वास्तवमा प्रचण्ड गर्मी चढिसकेको हुन्छ। त्यस्तो अनर्थ कुरालाई कसैले मान्यो होला भनी कल्पनासम्म पनि गर्न सकिंदैन। तर यजुर्वेद, महाभारत, अष्टाध्यायी, कौटलीय अर्थशास्त्र, सुश्रुतसंहिता, व्याकरण, महाभाष्यहरूका वर्णनअनुसार ती–ती कालमा वेदाङ्गज्यौतिषअनुसारकै गणनापद्धति चलेको थियो भन्ने स्पष्ट देखिन्छ।
यहाँनिर अर्को पनि विकट प्रश्न खडा भयो। वेदाङ्गज्यौतिष, महाभारत, कौटलीय अर्थशास्त्रहरूमा ५ वर्षमा २ अधिमास पर्छन् भनी स्पष्टसँग लेखिएको छ। वास्तवमा १९ वर्षमा ७ अधिमास पर्छन्। यताबाट ९५ वर्षमा वेदाङ्गज्यौतिषअनुसार वास्तवमा ३८ र वास्तवमा ३५ अधिमास पर्ने भई ३ महीनाको अन्तर पर्न आउने भयो।
यताबाट ९५ वर्षसम्म वेदाङ्गज्यौतिषअनुसार पात्रो बनाउँदै गयो भने पात्रोमा सबभन्दा छोटो दिन भनी लेखिएको समयमा वास्तवमा दिन र रात बराबर हुन आउँछन्। यस्तो अनर्थ कुरो कसैले मान्यो होला भन्ने कुरा कल्पनासम्म पनि गर्न सकिंदैन।
यसकारण वेदाङ्गज्यौतिष अप्रामाणिक ग्रन्थ हो भन्ने कुरा विवश भएर मान्नुपर्ने हुन आउँछ। तर वेदाङ्गज्यौतिषमा मात्र नभई अरू प्राचीन ग्रन्थहरूमा पनि ५ वर्षमा २ अधिमास पर्ने वर्णन भएको र ती ग्रन्थहरू एउटै कालमा नबनी तिनीहरूको अन्तराल पनि धेरै लामो भएकोले यस शंकाको चक्करबाट फुत्कन गाह्रै पर्यो।
लेभीले छपाएको किसिपिडीको संवत् ४४९ को अभिलेखमा आषाढमा अधिमास परेको देखिन्छ। काठमाडौं ब्रह्मटोलको संवत् ४७९ को अभिलेख रामजी, देवीप्रसाद, भोलानाथ, शंकरमान, धनबज्र, गौतमबज्र, महेशराज, नयनाथहरूले अभिलेख–संग्र्रह पहिलो भागमा प्रकाश गराएका छन्। त्यसमा पनि आषाढमा अधिमास परेको देखिन्छ। यताबाट, ४७९ मा ४४९ घटाउँदा ३० बाँकी रहने र ३० लाई ५ ले अपवर्तन लाग्ने हुनाले, पाँचपाँच वर्षमा अधिमास दोहोरिरहन्छन् भन्ने वेदाङ्गज्यौतिषको सूत्रको प्रयोग यी अभिलेखमा स्पष्ट देखियो।
काठमाडौं देउपाटनको एउटा अभिलेखको संवत् ४८९ हो भनी पढ़ी बाबुराम र मैले संस्कृत सन्देशमा प्रकाश गराएका थियौं। ४८९ बाट ४४९ घटाउँदा ४० बाँकी रहने ४० लाई ५ ले अपवर्तन लाग्ने हुनाले लिच्छविकालको गणनापद्धति अनुसार पाँचपाँच वर्षमा अधिमास दोहोरिइरहन्थ्यो भन्ने यताबाट पनि देखिन आयो।
वि.सं. २०११ को वर्षामा योगी नरहरिनाथ, म, रामजी, देवीप्रसाद, शंकरमान, धनबज्र, ज्ञानमणि चाँगु गएका थियौं। त्यतिखेर रामजीहरूले चाँगुको मानदेवको शिलालेखको छापा प्रतिलिपि उतारे। त्यसलाई धनबज्र र ज्ञानमणिले राम्रोसँग पढे।
त्यस अभिलेखमा पहिलो श्लोक पूरा भएपछि एकको, दोस्रो श्लोक पूरा भएपछि दुईको, यसै क्रमले चिह्नहरू दिइएका रहेछन्। यस अभिलेखमा सातौं श्लोकपछि, बाबुराम र मैले ९ भनी पढेको चिह्न पो दिइएको रहेछ। यस्तै चिह्नलाई भगवानलालहरूले ३ भनी पढेका थिए। यस्तो चिह्नलाई ३ पढ्दा इतिहासको घटनामा दोठ्याङ खान्छ यसैले यो ३ होइन, ९ हो भनी बाबुरामद्वारा प्रतिपादित भएको थियो र म त्यसैको पछि लागेको थिएँ।
त्यस दिन त्यो चिह्न ७ हो भन्ने निर्णय भएपछि तोत्रराज र म मिली लेखेको, वि.सं. २००४ मा प्रकाश भएको नेपालको संक्षिप्त इतिहासमा अशुद्धि पर्न आयो। त्यसको संशोधन धनबज्र र ज्ञानमणिले छपाए। यसरी उक्त देउपाटनको अभिलेखको संवत् ४८७ हो भन्ने निश्चय भयो।
४८७ मा ४४९ घटाउँदा ३८ बाँकी रहने र ३८ लाई १९ ले अपवर्तन हुने हुनाले १९ वर्षमा अधिमास दोहोरिने नियम लिच्छविकालका ज्योतिषीहरूलाई थाहा रहेछ भन्ने कुराको सङ्केत पाइयो। यताबाट, उनीहरू वर्षको मानमा पर्न आएको अन्तरलाई अधिमासद्वारा मिलाउँथे भन्ने आभास पर्न आयो।
इन्द्राजीहरू तीनसूचक यही सङ्केत हो भन्दछन्,
ऐ. शि. ज्यूहरू तीन होइन यही नौ हो भनी भन्दछन्।
दोलापर्वतको शिलाभिलिखितश्लोकस्थसङ्केतले,
यो हो सात भनेर निर्णय गरे नानी धन ज्ञानले।।
यो साधारण बात झैं छ, तर यै संकेतको बोधले,
ठूलो काम भयो, म भन्छु अहिले यो बात संक्षेपले।।
पाइन्छन् श्रुतिका षडङ्ग तिनमा यौटा त हो ज्यौतिष,
त्यो वेदाङ्ग भनिन्छ, वर्ष त्यसमा अत्यन्त नै स्थूल छ।
त्यल्ले पार्दछ भेद तीस दिनको चालीस नै वर्षमा,
लोकग्राह्य हुँदैन त्यो विधि कसै क्वै देश क्वै कालमा।।
त्यस्तो ग्रन्थ बन्यो अहो, किन उही चल्दै गयो लोकमा,
धेरै काल अड्यो त्यही किन भनी उठ्छन् निकै तर्कना।
प्रत्न–ज्ञान–निमग्न विज्ञजनको सन्देह यो जो थियो
अङ्गज्ञान यथार्थ भो र त्यसले सन्देह क्यै दूर भो।
त्यो प्राचीन विलुप्तपद्धति अली उघ्रेसरीको भयो,
हामीलाई अगाडि बढ्न त्यसले केही सुबिस्ता भयो।।
यस विषयको अन्वेषण तथा पठनपाठन बढाउँदै लानुपरेको छ।
यहाँसम्मका कुराबाट रामजी, देवीप्रसाद, भोलानाथ, शंकरमान, धनवज्र, गौतमवज्र, महेशराज, नयनाथ, दिनेशराज यी ९ जना संशोधन–मण्डलका कार्यकर्ता र संशोधन–मण्डलको नामकरण नहुँदै इतिहास–संशोधनमा काम गर्ने ज्ञानमणिसमेत १० जनाको अन्वेषणले लिच्छवि संवत्को निर्णयमा धेरै प्रकाश पर्न गएको छ भन्ने कुरा निर्विवाद सिद्ध हुन्छ। यो कुरो मैले राम्रोसँग मनन गरेको छु।
लिच्छवि संवत्को निर्णयमा प्रतिपादित सिद्धान्तहरूको विषयमा म जिम्मेदार छु। आँखाको कमजोरीले गर्दा यति ठूलो ग्रन्थ आफ्नै हातले लेख्न सक्ने अवस्थामा अहिले म छैन। संशोधन–मण्डलका कार्यकर्ताहरूले अन्वेषण गरी निजी खर्च लगाई पुस्तिकाहरू प्रकाश गरी प्रशंसनीय काम गरेका हुन्।
आफ्नो अन्वेषण अरूले नै अपहरण गरेको र इतिहासको विषयमा अण्डबण्ड लेख्ने व्यक्ति पनि प्रतिष्ठित भएको देख्दा यिनीहरूको उत्साह सेलाउँदै गयो र संशोधन–मण्डल दुब्लाउँदै गयो। अहिले संशोधन–मण्डल यथाकथञ्चित् बाँचिरहेछ। यसकारण यति ठूलो काममा म संशोधन–मण्डलबाट सहायता पाउन सक्तिनँ।
श्री ५ महाराजाधिराज सरकारको निगाहबाट नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य पदमा मेरो नियुक्ति नभएको भए यो ग्रन्थ यस रूपमा निस्कन सक्तैनथ्यो। सहायक देवीप्रसाद र केशवचन्द्रले यस ग्रन्थको खेस्रा साफी मेरो विचार तथा वचनअनुसार गरेका हुन्। अरू सहायकहरूको चर्चा यसै पुस्तकमा परेको छ।
यो पुस्तक तयार गरेबापत नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले मलाई लेखक स्वरुपमा १५० थान पुस्तक पुरस्कार दियो। एक थान पुस्तकको मोल १०० रुपियाँ छ। यसकारण १५,००० रुपियाँ मोल पर्ने पुस्तक मैले पुरस्कार पाएँ। ५० थान पुस्तक मैले आफ्ना लागि राखें, ५० थान देवीप्रसादलाई र बाँकी ५० थान केशवचन्द्रलाई दिएँ।
अहिले मदन पुरस्कार गुठीबाट मैले ५०,०००/– रुपियाँ पुरस्कार पाएँ। संशोधन–मण्डलको आफ्नो विशेषपूँजी केही छैन, यो कुरा पूर्णिमामा छापिएका प्रति वर्षका आयव्यय–विवरण हेरे थाहा हुन्छ। यसकारण अहिले पाएको यो ५०,०००/– रुपियाँ संशोधन–मण्डललाई समर्पण गर्ने मैले निर्णय गरेको छ। यी रुपियाँको ब्याजबाट संशोधन–मण्डललाई केही सहारा अवश्य पनि हुन्छ।
यो दान दिइबक्सेकोमा सम्माननीया रानीसाहेब जगदम्बा कुमारीलाई म शुभाशीर्वाद टक्र्याउँछु। यो दान दिलाइदिने सबै सज्जनहरूलाई म साधुवाद टक्र्याउँछु।
दाह्री श्वेत भयो, गलें अलिकता, ऐले छु चौहत्तर,
आँखा कान दुवै गले, स्मृति भने ताजै छ मेरो तर।
ऐले पाणिनि–भास्कर–प्रभृतिका सूत्रार्थ सम्झीकन,
गर्दैछु श्रम यो कडा, लगधका सूत्रार्थ बुझ्नाकन।।
‘गर्दै काम शतायु बन्न जनले इच्छा लिनै पर्दछ’।१
यो वेदध्वनिजन्य अर्थ मनमा मेरो सधैं खेल्दछ।
लुप्तार्थ श्रुतिनेत्र पढ्न त्यसले लागीपरेको म छु,
साथी छैन, छु एकलै, अलिअली यी पाइला चाल्दछु।।
सच्चा नै इतिहासजन्य घटना यो देशमा फैलियून,
विद्यार्थीहरू पाठ्यपुस्तक पनि प्रामाणिकै नै पढून्।
भन्ने आशयले कडा श्रम गरी यो साधना गर्दछु,
बिस्तारैसँग घस्रँदै अलिअली यी पाइला चाल्दछु।।
‘जे होला पछि दैवकै छ भरमा यो सप्रने बिग्रने,
बाँधी हात बसे त निश्चय भयो त्यो आखिरी बिग्रने।’२
यस्तो व्यास महर्षिको वचनमा आस्था म ता राख्दछु,
धेरैका ननिका कुराकन सही बाँचीरहेको म छु।”
१. कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छत समाः।
(शुक्लयजुर्वेद ४०/२)
२. ऐकगुण्यमनीहायामभावः कर्मणां फलम्।
अथ द्वैगुण्यमीहायां फलम्भवति वा न वा।।
(महाभारत उपोगपर्व १३५ अध्यक्ष)
– ‘लिच्छवि संवत्को निर्णय’ ग्रन्थका लागि २०४३ सालको मदन पुरस्कार पाएका नयराज पन्तले पुरस्कार ग्रहणपछि दिएको मन्तव्य। स्रोतः मदन पुरस्कार पुस्तकालय
याे पनि
– बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला - महेशराज पन्त
– ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ - नयराज पन्त
– संशोधन मण्डलको सामर्थ्य र सीमा - सुजित मैनाली
– बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य - राजकुमार दिक्पाल
– त्यो प्रार्थना श्लोक र प्रतिज्ञा - काशीनाथ तमाेट
– नेपाली इतिहास खोजको दिवस ! - नयनाथ पाैडेल
– सिनासमा थन्किएको देशको इतिहास - वसन्त महर्जन
– संशोधन मण्डलको भविष्य - गाेविन्द न्याैपाने