६ महीनापछिको आन्तरिक उडान तयारी, दैनिक ४३ उडानलाई अनुमति
कोभिड-१९ का कारण ११ चैतदेखि बन्द रहेका आन्तरिक वायुसेवा ६ महीनापछि सोमबारबाट पुनः उड्दैछन्। काठमाडौंबाट हुने पहिलो दिनको उडानमा निजी वायुसेवाले जम्मा ४३ वटा तालिका पाएपनि ३६ वटा मात्रै उडान हुँदैछ।
आन्तरिक वायुसेवाकाे ५ असोज (सोमबार)देखि हुने उडानमा २५ प्रतिशत उडान तालिका स्वीकृत भएको छ। बन्दाबन्दी अवधि अगाडिको यात्रु उडान तालिकाको आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो।
शहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट)मा निजी वायुसेवालाई दैनिक ३४ वटा र दुर्गम क्षेत्रका विमानस्थलमा हुने छोटो दूरीको उडान अवतरण (स्टल)मा ९ वटा उडान तालिका स्वीकृत भएको छ।
हवाई क्षेत्रको नियामक निकाय, प्राधिकरणले काठमाडौंलाई आधार बनाएर वायुसेवासँग भएका जहाज अनुसार एकदेखि १६ वटा सम्मको दैनिक उडान अनुमति दिएको छ। ११ चैतदेखि बन्द रहेको वायुसेवा करीब ६ महीनापछि सोमबारबाट खुल्न लागेका हुन्। सोमबारदेखि १० दिन (१४ असोज) सम्मलाई स्वीकृत उडानमा सबै गन्तव्यसम्म पुग्नेगरी भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
प्राधिकरणले बुद्ध एअरलाई १६, यतीलाई १०, श्रीलाई ६, सिम्रिक र सौर्य एअरलाइन्सलाई १/१ वटा उडान गर्न अनुमति दिएको छ। दुर्गम क्षेत्रको उडानमा जाने वायुसेवा तारा, सीता र समिट एअरका काठमाडौंबाट हुने उडानमा ३/३ वटा तालिका स्वीकृत भएको छ। यस्तो तालिका काठमाडौलाई आधार बनाएर उडान गर्ने वायुसेवाका लागि मात्रै हाे।
काठमाडौं बाहिरबाट हुने उडानमा बुद्ध एअरले विराटनगरबाट तुलिम्ङटार, तारा, सीता र समिट एअरले नेपालगञ्जबाट गर्ने उडान पनि बन्दाबन्दी अघिको तुलनामा २५ प्रतिशतको सीमाभित्रै रहेको उल्लेख छ।
आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रु सेवा दिने र जहाज संख्याका आधारमा दैनिक ७० वटाभन्दा बढी उडान गर्ने बुद्ध एअरले अन्य वायुसेवाको तुलनामा बढी तालिका पाएको छ।
शहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट)मा निजी वायुसेवालाई दैनिक ३४ वटा र दुर्गम क्षेत्रका विमानस्थलमा हुने छोटो दूरीको उडान अवतरण (स्टल)मा ९ वटा उडान तालिका स्वीकृत भएको हो ।
बुद्धको काठमाडौंबाट हुने उडानमा विराटगर तीन, पोखरा, भैरहवा, भद्रपुर र भरतपुरका लागि २/२ वटा उडान तालिका स्वीकृत भएको छ। धनगढी, विराटनगर, नेपालगञ्ज, सुर्खेत, जनकपुर र सिमरामा १/१ उडान गर्ने गरी बुद्ध एअरको तालिका स्वीकृत भएको छ।
बुद्धले विराटनगरबाट तुम्लिङटार पनि दैनिक एक उडान गर्ने गरी तालिका स्वीकृत भएको छ। तुम्लिङटारसहित दैनिक १७ उडानको तालिका आफूहरूले पाएको बुद्ध एअरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी बताउँछन्। स्वीकृत तालिका अनुसार सबै क्षेत्रमा उडान गर्ने जोशीको भनाइ छ।
आन्तरिक उडानमा सुगम क्षेत्रका विमानस्थलमा मात्रै उडान गर्दै आएको यती एअरलाइन्सले पनि विराटनगर र पोखरामा २/२ वटा उडान तालिका पाएको छ। यतीले भद्रपुर, भैरहवा, जनकपुर, भरतपुर, तुम्लिङटार र नेपालगञ्जमा १/१ उडान गर्ने भएको छ।
६ महीनापछि खुलेको पहिलो दिनको उडान भएकोले अहिलेसम्म आएको बुकिङ र उडान पुन:सञ्चालनले उत्साह दिएको यतीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमाल बताउँछन्।
नियमित उडानको तयारी गरिरहेको भएतापनि दैनिक ६ वटा उडान तालिका पाएको श्री एअरलाइन्सले भने अझै केही दिन पर्ख र हेरकै नीति लिने भएको छ। यो वायुसेवाले सोमबारदेखि उडान नगर्ने र कम्तिमा ३ दिनपछि मात्रै तालिका सार्वजनिक गर्ने बताएको छ।
श्री एअरलान्सका कार्यकारी अध्यक्ष सुधीर मित्तल कोभिडका कारण यात्रुको माग नआएकोले आफूहरूले केही दिन उडान समय पछाडी थकेलेको बताउँछन्।सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेर उडान शुरू भएपछि अब कुनै पनि बाहनामा रोकिन नहुने उनको भनाइ छ। उनका अनुसार उडान शुरू गरेपछि कुनै एक वायुसेवाबाट यात्रा गर्ने यात्रुलाई कोरोना संक्रमण भयो भने फेरि सबै उडान बन्द गरिनु हुँदैन।
मित्तलका अनुसार आउँदो अवस्थालाई मूल्यांकन गरेर मात्रै उडान खुला गर्नुपर्ने भएकोले खुलेपछि तत्काल बन्द गरिनु भएन । मित्तल भन्छन्, ‘‘भोलि जहाजबाट यात्रा गर्ने यात्रुमा कोभिड देखियो भने त्यहीँ बहानामा फेरि उडान रोक्ने हो भने अहिले नै रोकेर राखे हुन्छ।’’
नियमित उडानको वायुसेवा सौर्य एअरलाइन्सले पनि सोमबारदेखि हुने उडान नगर्ने भएको छ। साैर्यसँग २ वटा उडानयोग्य जहाज भएपनि प्राविधिक कारण अझै दुई सातापछि मात्रै उडान गर्ने सौर्य एअरका प्रबन्ध निर्देशक गोपाल भट्टराई बताउँछन्।
सोमबारदेखि दैनिक एक उडान मात्रै पाएकोले सिम्रिक एअरलाइन्सले काठमाडौं-पोखरामा मात्रै सेवा दिने सिम्रिकका बजार निर्देशक प्रज्वल थापा बताउँछन्। उनका अनुसार लामो समयपछि खुलेको उडानमा उत्साह भने देखिएको छ।
दुर्गम क्षेत्रको उडानमा प्राधिकरणले ३/३ वटा उडानको तालिका स्वीकृत गरेको भएपनि सोमबारदेखि भने २/२ वटा मात्रै उडान हुने सीता एअरका बजार निर्देशक रिजेशले बताए।
लुक्ला जान पीसीआर रिपोर्ट अनिवार्य
लुक्ला विमानस्थल उडान गर्ने हवाई यात्रुले पीसीआर रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ। सोलुखुम्बुको तेन्जिङ हिलारी (लुक्ला) विमानस्थल प्रवेश गर्ने जहाज तथा हेलिकोप्टरका यात्रुलाई पीसीआर रिपोर्ट नेगेटिभ लिएर मात्रै प्रवेश दिने निर्णय खुम्बु पासाङल्हामु गाउँपालिकाले गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले १ असोजपछि हुने उडानमा यात्रुको पीसीआर रिपोर्ट मागिएको बताए। खुम्बुमा कोरोना भाइरसको संक्रमण नरहेकोले बाहिरबाट आउने यात्रु संक्रमणरहित आउन् र यो क्षेत्रमा संक्रमण नफैलियोस् भनेर यस्तो निर्णय गर्नुपरेको गाउँपालिको भनाइ छ।
पीसीआर लिएर उडान गर्दा यात्रा महंगो पर्ने र आन्तरिक उडानका यात्रुलाई यो सम्भव नहुने वायुसेवा सञ्चालक संघका उपाध्यक्षसमेत रहेका यतीका सीईओ रिमाल बताउँछन्।
लुक्ला विमानस्थल प्रवेश गर्ने जहाज तथा हेलिकोप्टरका यात्रुलाई पीसीआर रिपोर्ट नेगेटिभ लिएर मात्रै प्रवेश दिने निर्णय खुम्बु पासाङल्हामु गाउँपालिकाले गरेको छ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेल संघीय सरकारले आन्तरिक उडानमा पीसीआर रिपोर्ट अनिवार्य नगरेकोले सोही अनुसार उडान सहजीरकण गरिदिन सम्बन्धित गाउँपालिकासँग अनुरोध भइरहेको बताउँछन्। स्थानीय सरकारको क्षेत्राधिकार भएकोले उडान गर्न नदिने अवस्था आए जबरजस्ती गर्न नसकिने कँडेल बताउँछन्।
कँडेल भन्छन्, ‘‘पीसीआर रिपोर्ट अनिवार्यको अडानमा गाउँपालिका रहेको छ। गाउँपालिकाले उडान गर्न नदिए अरुलाई असुरक्षित महसुस गराएर उडान हुँदैन।’’ देशैभर निर्वाध रूपमा उडान शुरू हुँदा पासाङल्हामुले रोक्छ भने वायुसेवा सोही अनुसारको निर्णय स्वीकार्न तयार रहेको संघको भनाइ छ।
सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले आन्तरिकतर्फ १० वटा क्षेत्रमा उडान गर्ने भएको छ। यस्तो उडानमा आइतबार र विहीबार काठमाडौंबाट रुकुम, रुकुमबाट नेपालगन्जको दुईतर्फी उडान हुनेछ। आइतबार नै नेपालगञ्ज–जुम्लाको उडान गर्नेछ।
निगमले काठमाडौंबाट गर्ने अन्य उडानमा सोमबार, मंगलबार र शुक्रबार भोजपुर गएर आउनेछ। सोमबार, बुधबार र शुक्रबार दाङ, आइतबार र मंगलबार फाप्लुको उडान गर्नेछ।
बिहीबार नेपालगञ्जबाट बाजुराको दुईतर्फी उडान गर्नेछ। शनिबार र बुधबार काठमाडौंबाटै ताप्लेजुङ र खोटाङको मनमाया विमानस्थल खानीडाँडाको दुईतर्फी उडान गर्ने वायुसेवा निगमले जानकारी दिएको छ।