‘मदन पुरस्कार पाउने कल्पनासम्म पनि गरेको थिइनँ’
‘महारानी’ उपन्यासका लागि २०७६ सालको मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले आफूले यो पुरस्कारको कल्पना नै नगरेको बताएका छन्। आफूलाई साहित्यकार समेत भन्न नरूचाउने बानियाँले आफ्नो उपन्यास पुरस्कृत भएको खबरले निकै खुशी भएको प्रतिक्रिया दिए।
मदन पुरस्कार गुठीको आइतबारको साधारण सभा बैठकले ‘महारानी’लाई २०७६ को मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।
“म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउला भनेर कल्पनासम्म पनि गरेको थिइनँ”, ७० वर्षीय लेखक बानियाँले भने, “पुरस्कृत भएपछि खुशी नहुने कुरै भएन। यो पुरस्कारले मलाई अलि घोटाउने भयो भन्ने चाहिँ लागेको छ, बरु। म निकै अल्छि छु।”
महारानी उपन्यासमा तत्कालीन चौबिसे राज्य अन्तर्गत पर्वत राज्यको कथा रहेको लेखक बानियाँले हिमालखबरलाई बताए। तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो। त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किम्बदन्ती छ। ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको बानियाँले बताए।
“पर्वत राज्यको इतिहास, किम्बदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिर लगायतका विषय उपन्यासमा छन्”, बानियाँले भने।
यो विषयमा उपन्यास लेख्ने बानियाँको सोंच भने अलि पूरानै हो। उनले यो उपन्यास १५ वर्ष अघि नै लेख्न शुरू गरेका थिए। तर, बीचमै लेखन कार्य रोकिएको थियो। उपन्यास अघिल्लो वर्ष शिखा बुक्सले प्रकाशन गरेको थियो।
“म निकै अल्छि छु । लेख्ने खासै जाँगरै चल्दैन। म साहित्यकार पनि होइन”, बानियाँले दोहोर्याए।
म्याग्दीको बेनी नगरपालिका-७ का बानियाँ पछिल्लो पाँच/सात वर्षदेखि कास्कीको पोखरा महानगरपालिका–८, सिमलचौर बस्दै आएका छन्।
बानियाँ २०४८ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत भएका थिए। उनी तत्कालीन नेकपा (एमाले)को तर्फबाट म्याग्दी–२ बाट निर्वाचित भएका थिए। तर, उनले अहिले पार्टी राजनीतिबाट सन्यास लिएको २० वर्ष भइसक्यो।
“छोराछोरी पढाउनुपर्यो, घरव्यवहार चलाउनुपर्यो भनेर पार्टीबाट पाँच वर्षका लागि विदा लिएको थिएँ, विदा लिएको लियै भो”, बानियाँले भने, “अहिले कतै पनि छैन। पार्टी छोडेकै २० वर्ष भइसक्यो।” उनका एक छोरा, एक छोरी र श्रीमती छन्।
बानियाँका यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘मृत्यु संस्कार मन्थन’ तथा ‘खस राज्य र कुल पूजा’ नामक पुस्तक प्रकाशित छन्। ऐतिहासिक पर्वत राज्य उनको पहिलो पुस्तक हो। जुन पुस्तक बानियाँ ४५ वर्षको हुँदा लेखेका थिए।
“तत्कालीन जिल्ला विकास समितिले इतिहास समेटिएको पुस्तक लेखिदिनुपर्यो भनेर निकै कर गरेपछि त्यो किताब लेखेको हुँ। कर परेर मात्र लेख्ने स्वभाव छ। अब पो गाह्रो पर्ने भो”, बानियाँले भने।