काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ७६७ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६०२ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष तथा ललितपुरमा ३४ महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टायता देशभर भने १३२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १७४७८ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ९०७१ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टायता कोरोनाबाट १० जनाको मृत्यु भएको छ भने ९६६ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ भने मृतकको संख्या ४११ पुगेको छ।
हाल क्वारेन्टिनमा ७४५१ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ९ हजार ५८४ वटा पीसीआर नमूना परीक्षण भएको छ।