किसानको पीडाः सधैं जोतियो, लागत समेत उठ्दैन !
समयमा सहज रुपमा बीउ र मल नपाउने र सिंचाइ असुविधाको समस्या भोगिरहेका किसानले उत्पादन लागत उठ्नु त परको कुरा, कृषि कर्ममा उल्टै घाटा व्यहोर्दै आएका छन्।
रुपन्देहीको रोहिणी गाउँपालिका–४ का रामबहादुर खवास (३५) ले अँधियामा लिएको साढे तीन बिघासहित चार बिघा जग्गामा धान लगाएका छन्। गत वर्ष प्रतिकिलो रु.१४ मा किनेको युरिया मलका लागि उनले यस वर्ष रु.४० तिरे।
तर, त्यति दाममा मल पाउन पनि उनले सास्ती त उठाउनुप¥यो नै, थप खर्च पनि गर्नुपर्यो। धानमा झार गोडमेल गरेर मल हाल्ने समय नेपाली बजारमा युरिया नपाएपछि चोर बाटोबाट सीमावर्ती भारतीय बजारमा निर्भर हुनुपरेको उनको पीडा छ।
भारतीयले सीमासम्म ल्याएको मल लिन उनी आफैं पुगेका थिए। “सीमासम्म ल्याउने मानिस (क्यारियर) लाई प्रतिबोरा एक सय दिनुपर्यो”, उनी भन्छन्। उनले चार बिघा खेतका लागि ८ बोरा यूरिया (३६० किलो) खरीद गरे। युरिया मलका लागि गत वर्ष भन्दा रु. ३६ बढी तिर्नुपर्दा खवासको गत वर्षभन्दा रु. १२ हजार ९६० बढी खर्च भयो।
यस्तो समस्या खवासले धानको बीउ ल्याउँदा पनि भोग्नुपर्यो। धानको ब्याड राख्ने वेला सहज रुपमा बीउ उपलब्ध नहुँदा विगत वर्षमा भन्दा दोब्बर तिर्न बाध्य भएको उनले सुनाए। उनका भनाइमा विभिन्न जातका एक सय किलो धानको बीउ किन्दा गत वर्ष भन्दा यसपाली साढे ६ हजार रुपैयाँ बढी तिर्नुपर्यो।
कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण सीमामा सहज आवतजावत नहुँदा भारतबाट बीउ ल्याउनेले बोलेजति रकममा किन्नुपरेको खवासको भनाइ छ।
समयमा बीउ, मल नपाउने समस्या खवास एक्लैको होइन। खेतीपाती गर्ने सबै किसानले यस्तै कठिनाइका बीच किसानी कर्म गर्दै आएका छन्।
रोहिणी गाउँपालिका–४ कै जीवनराज थारु (५८) ले ५ बिघामा धान लगाएका छन्। उनले ५८५ किलो युरिया मल खवासले जस्तै भारतीय बजारबाट ल्याए। उनको गत वर्ष भन्दा मलमा रु. २१ हजार ६० बढी खर्च भयो।
रोहिणी गाउँपालिका–४ का किसान रामबहादुर खवास धानको बीउ खरीददेखि उत्पादन भित्र्याउँदासम्म लाग्ने खर्चको धान उत्पादनसँग तुलना गर्दा लागत उठ्नु त परको कुरा, उल्टै घाटा लाग्ने बताउँछन्।
रोहिणी गाउँपालिका ४ तरकुल्लाहका गोविन्दप्रसाद चौधरी र सुवास चौधरीले पनि यस वर्ष धानको बीउ र मल खरीदमा दोब्बर खर्च गरे। गत वर्ष रु. १२० मा खरीद गरेको धानको बीउलाई यस वर्ष रु. ३०० मा किन्नुपरेको गोविन्द बताउँछन्।
तराईका भारतीय सीमावर्ती जिल्लाका किसानले त महँगो मूल्य तिरेर भए पनि मल किनेर धानमा हाले। तर, बजारमा पर्याप्त मल आपूर्ति नहुँदा पहाडी जिल्लाका किसानले त मल नै हाल्न पाएनन्।
लागत उठाउनै गाह्रो
यस वर्ष धानको बीउ खरीददेखि उत्पादन भित्र्याउँदासम्म लाग्ने खर्चले लागत पनि नउठ्ने किसानहरु बताउँछन्। गोविन्द खवासका भनाइमा एक बिघा खेतमा यस वर्ष यूरिया मलमा रु. ५ हजार ४००, डीएपी र पोटास मलमा ३ हजार २००, जोताइमा १३ हजार ५००, रोपाहारका लागि रु. २० हजार, सिंचाइका लागि पम्पसेटबाट पानी तान्न रु. १० हजारको डिजेल, बीउ ३ हजार र धान भित्राउँदा ६ हजार गरी ६१ हजार १ सय खर्च लाग्छ। तर, धान उत्पादनसँग त्यसको तुलना गर्दा लागत उठ्नु त परको कुरा, उल्टै घाटा लाग्ने उनको आकलन छ।
एक बिघा खेतमा मोटा धान सरदर २० क्विन्टल उत्पादन हुन्छ। प्रतिक्विन्टल रु. २ हजार २ सयका दरले बिक्री गर्दा रु.४४ हजार हुन्छ। यस हिसाबले एक बिघा खेतमा धान खेती गर्ने किसानलाई न्यूनतम पनि धान रोपेदेखि उत्पादन भित्र्याउँदासम्म १७ हजार १०० घाटा लाग्ने खवासले हिसाब निकालेका छन्।
“धानको मूल्य सधैं एउटै हुँदैन, सरदर २ हजार २०० का दरले हिसाब गर्दा पनि किसानलाई घाटा छ”, खवास भन्छन् “केही होला कि भनेर गर्यो, अन्तिममा घाटा सहनुपर्छ।”
उनले धान लगाउन निर्धन उत्थान ब्यांकबाट रु. १ लाख ७५ हजार कर्जा लिएका छन्। तर, लागत नै नउठ्ने भएपछि कर्जा कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ।
रोहिणी गाउँपालिकाकै सञ्जय गुप्ता यस वर्ष प्रकृतिले नै किसानलाई ठगेको बताउँछन्। “मल र बीउमा त ठगिएकै थियौं, यसपाली प्रकृतिले पनि हामीलाई ठग्यो”, उनी भन्छन्, “उत्तरी भेगतिर मज्जाले वर्षा भयो। दक्षिणमा वर्षा नहुँदा सिंचाइ अभावमा सबै धान घामले डढ्यो। यसले पनि उत्पादनमा प्रभाव पर्ने देखियो।” उनका भनाइमा बीउ, मलदेखि रोपाइँमा लगाइने श्रमिकसम्मको खर्च जोड्दा एक बिघामा किसानलाई करीब रु.२० हजार घाटा लाग्छ।
बर्खे बालीमा मात्र होइन, गएको वर्ष हिउँदे बालीमा धेरै पानी परेर किसानलाई नोक्सान भयो। नन्द खवासले गएको हिउँदमा २ कठ्ठा खेतमा ५० किलो आलुको बीउ लगाए। तर, उनले जम्मा १२ किलो आलु मात्र भित्र्याए। ५ कठ्ठामा तोरी लगाएकोमा जम्मा १५ किलो मात्र फल्यो। जबकि विगत वर्षमा यति जग्गामा उनले ५० किलो तोरी फलाउँदै आएका थिए।
उनी भन्छन्, “परिवारका सदस्य नै टन्न भएर ज्याला मजदूरीमा पैसा खर्च गर्नु नपर्नेलाई त त्यतातिर बचत भएर केही राहत होला, सबै चिजमा खर्च गर्नुपर्ने किसान त सोझै घाटामा पर्छ।”
बर्खे बालीमा मात्र होइन, गएको वर्ष हिउँदे बालीमा धेरै पानी परेर किसानलाई नोक्सान भयो। नन्द खवासले गएको हिउँदमा २ कठ्ठा खेतमा ५० किलो आलुको बीउ लगाए। तर, उनले जम्मा १२ किलो आलु मात्र भित्र्याए। ५ कठ्ठामा तोरी लगाएकोमा जम्मा १५ किलो मात्र फल्यो। जबकि विगत वर्षमा यति जग्गामा उनले ५० किलो तोरी फलाउँदै आएका थिए। २ कठ्ठामा केराउ लगाएकोमा २ किलो मात्र फल्यो।
त्यसैगरी, गहुँमा रु.६० हजार घाटा लागेको उनी बताउँछन्। ३ बिघामा गहुँ लगाउँदा बीउ, मल, खेताला लगायत गर्दा करीब रु.९० हजार खर्च लागेको थियो। तर, उत्पादन जम्मा १८ क्विन्टल मात्र भयो। घरमा ३ क्विन्टल राखेर बाँकी गहुँ प्रतिक्वीन्टल रु. २ हजार २०० का दरले बिक्री गरे। “कहिले पानी नपरेर, कहिले चाहिं धेरै परेर हामीलाई समस्या पार्छ”, उनले भने, “यस वर्ष भने धेरै पानी परेर र असिनाले हिउँदे बाली सखाप भयो।”
सरकारसँग आग्रह– ‘बीउ, मल र सिंचाइको व्यवस्था होस्’
घाटा सहेर पनि पसिना बगाउँदै कृषि कर्म गर्दै आएका किसानहरुलाई सरकारबाट ठूलो आशा छैन। उनीहरु बाली लगाउने समयमा सहज रुपमा रासायनिक मल र बीउ उपलब्ध भए पुग्ने बताउँछन्। त्यस बाहेक अर्को समस्या सिंचाइको हो। खेत नजिकबाट खोलामा बगिरहेको पानीलाई बाँध बाँधेर खेतसम्म ल्याइदिने व्यवस्था सरकारले गरिदिए पुग्ने रोहिणी गाउँपालिका ४ का किसान गोविन्द चौधरी बताउँछन्।
“सिंचाइ, मल र बीउ समयमा पाए हामी मिहिनेत गरिहाल्छौं”, उनी भन्छन् “खेत नजिकैबाट खोला बगेको छ। तर, त्यो खोलाको पानी हामी किसानले उपयोग गर्न पाएका छैनौं। पम्पसेट लगाएर खोलाको पानी तान्दा खर्च धान्नै नसक्ने हुन्छ।”
किसानहरुलाई अब हिउँदे बालीका लागि रासायनिक मल पाइएला कि नपाइला भनेर अर्को चिन्ता थपिएको छ। तोरी, गहुँ, आलु खेतीका लागि आवश्यक पर्ने मल समयमै उपलब्ध गराउनुपर्ने किसानहरूको माग छ।