बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य
नयराज गुरुकुलका ज्येष्ठ र सम्भवतः सबैभन्दा अब्बल शिष्य थिए– धनवज्र। तर, जसरी उनी उपचार अभावमा अल्पायुमै बिते, जनमानसमा उनको सम्झना पनि विलुप्त हुँदैछ।
एक दिन अन्वेषक मित्र वसन्त महर्जनसँग यो पंक्तिकारले इतिहासकार धनवज्र बज्राचार्यबारे थोरै जिज्ञासा मात्र के राखेको थियो, एकै वाक्यबाट पूरै उत्तर मिल्यो। ‘अरू त अरू धनवज्र बित्नुभएको यतिका वर्ष भइसक्यो, उहाँको निधनमा आजसम्म कसैले शोकसभासम्म गर्ने कष्ट उठाएनन् !’ वसन्तजीको जवाफ थियो।
इतिहासकार इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५) का कृतिहरू पढेर इतिहास अध्ययनमा रुचि जागेको यो पंक्तिकारले खासगरी लिम्बू समुदायले चेम्जोङप्रति देखाएको श्रद्धाभाव र विभूतीकरणलाई प्रत्यक्ष रूपमा देख्न, भोग्न र थोरै लेख्न पनि भ्याएको छ।
हरेक वर्ष जनवरी १ मा काठमाडौं लगायत पूर्वी नेपालका विभिन्न ठाउँमा मात्र होइन, लिम्बूहरू पुगेका विदेशमा समेत चेम्जोङको जन्मजयन्ती भव्यतापूर्वक मनाइन्छ। ठाउँ–ठाउँमा उनका पूर्ण कद र अर्धकदका सालिकहरू प्रतिस्थापित हुनुले पनि मृत्युपर्यन्त उनले पाएको सम्मान निकै अनुकरणीय लाग्छ।
तर नेपालका अन्य इतिहासकारहरूले समुदायगत रूपमा यस्तो सम्मान पाउन सकेको देखिंदैन। यसको ज्वलन्त उदाहरण हुन्, धनवज्र बज्राचार्य। बज्राचार्यको हकमा उनको योगदानको स्वामित्व ग्रहण गर्नेहरूको अभाव देखिएको मात्र होइन, राज्य पनि मौन बसिदियो। सबैभन्दा विडम्बना त, उनको योगदानले ज्ञानको चक्षु उज्यालो बनाउनेहरूले पनि आँखा चिम्लिदिए।
परिणाममा धनवज्र आज विस्मृत पात्र बनेका छन्। यो नेपाली समाजको एउटा अँध्यारो पाटो हो।
इतिहासकारका गुरु
चेम्जोङको शतवार्षिकीको अवसरमा त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एशिया अध्ययन केन्द्र (सिनास) का तत्कालीन निर्देशक निर्मल तुलाधरसँग भेट गर्न पुग्दा त्यहाँ इतिहासकार प्रा.डा. टेकबहादुर श्रेष्ठसँग यो पंक्तिकारको भेट भएको थियो। चेम्जोङले सिनासको पूर्व रूप ‘इनास’ हुँदा किरात विशेषज्ञको रूपमा त्यहाँ रहेर अनुसन्धान गरेका थिए, जहाँ श्रेष्ठ पनि अनुसन्धानरत थिए।
एक सञ्चारकर्मीको नाताले मैले श्रेष्ठसँग त्यसबेला चेम्जोङको बानीव्यवहार र स्वभाव बारे जिज्ञासा राखेको थिएँ। सिनास साँच्चिकै गौरवलाग्दो अनुसन्धान केन्द्र त्यो बेलाको सम्झना गर्दै श्रेष्ठले बारम्बार धनवज्रको नाम लिएका थिए। ‘मेरा गुरु... मेरा गुरु...!’ थिए श्रेष्ठले बारम्बार बज्राचार्यप्रति श्रद्धा र निष्ठा प्रकट गरेका थिए।
२००९ सालमा नयराज पन्तले स्थापना गरेको गुरुकुलीय परम्पराको अध्ययनबाट बज्राचार्य दीक्षित भए। उनी १८ वर्षसम्म उनै गुरुकुलीय परम्पराको अध्ययनबाट दीक्षितहरूद्वारा स्थापित संशोधन मण्डलको एक परिपक्व सदस्यको रूपमा इतिहास अध्ययन, अन्वेषण र संशोधनमा सक्रिय रहे। आफूसमेत २१ जना इतिहास संशोधकमध्ये ६ जनालाई र संशोधन मण्डलका सबभन्दा कान्छा सदस्यलाई संस्कृत भाषा र शोध पद्धतिमा प्रवेश गराउनमा बज्राचार्यको ठूलो योगदान रहेको इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ को पूर्णाङ्क ८७ (२०५१ मंसीरः ५१) पढ्दा थाहा हुन्छ।
आफ्नो सम्पूर्ण जीवन लिच्छविकालदेखि शाहकालसम्मको इतिहासको खोजीमा समर्पण गरेर नेपालीजनमा इतिहास सम्बन्धी ज्योति बालेका बज्राचार्य आफ्नो घरैनेरको वीर अस्पतालमा २० असार २०५१ मा सधैंका लागि अस्त हुँदा भने एक्लै थिए, उनको अन्तिम सास कसैले भेट्न पाएन।
...
धनवज्र बज्राचार्यका मुख्य कृति र आलेखमा कौटिल्यको अर्थशास्त्रको ऐतिहासिक व्याख्या (२००९), इतिहास संशोधन (२०१० देखि २०२० सम्म), शक्तिबल्लभ अज्र्यालको जयरत्नाकर नाटक (२०१४), गल्लीमा फ्याँकिएको कसिङ्गर (२०१८), इतिहास संशोधनको प्रमाणप्रमेय (२०१९), ऐतिहासिक पत्र सङ्ग्रहको दोस्रो भाग (२०२१), पूर्णिमा पत्रिका (पूर्णाङ्क १ देखि २४ सम्म अनुसन्धानमूलक लेख) हुन्।
२०२७ सालसम्म बज्राचार्य संशोधन मण्डलमा आवद्ध भई इतिहासको खोजीमा सक्रिय रहे। त्यसपछि उनी त्रिविको सिनास पुगे। प्रशस्तै अनुसन्धान गरे। देहान्तपछि उनका कृतिको मूल्याङ्कन गर्ने एउटा परियोजना प्रा.डा. सुरेन्द्र केसीलाई प्राप्त भएको थियो।
एक भेटमा केसीले मलाई सुनाएका थिए, “मैले धनवज्रको कृति मूल्याङ्कनपछि उनलाई नेपालको एक नम्बरको इतिहासकार घोषणा गरें। मैले यस्तो मूल्याङ्कन गर्दा केही इतिहासकार रिसाए पनि। धनवज्रले लेखेको ‘लिच्छविकालको अभिलेख’ नेपालको इतिहासमा असाध्यै विशाल महत्वको कृति हो, त्यसैको आधारमा मैले यस्तो घोषणा गरेको थिएँ।”
‘लिच्छविकालको अभिलेख’ ले २०३० सालको मदन पुरस्कार समेत पाएको थियो।
धनवज्र बज्राचार्यका मुख्य कृति र आलेखमा कौटिल्यको अर्थशास्त्रको ऐतिहासिक व्याख्या (२००९), इतिहास संशोधन (२०१० देखि २०२० सम्म), शक्तिबल्लभ अज्र्यालको जयरत्नाकर नाटक (२०१४), गल्लीमा फ्याँकिएको कसिङ्गर (२०१८), इतिहास संशोधनको प्रमाणप्रमेय (२०१९), ऐतिहासिक पत्र सङ्ग्रहको दोस्रो भाग (२०२१), पूर्णिमा पत्रिका (पूर्णाङ्क १ देखि २४ सम्म अनुसन्धानमूलक लेख) हुन्।
यसवाहेक बज्राचार्यले गोरखाको ऐतिहासिक सामग्री (२०२७), टिस्टुङपालुङ भेगको ऐतिहासिक सामग्री (२०२८), लिच्छविकालका अभिलेख (२०३०), दोलखाको ऐतिहासिक रूपरेखा (२०३१), पञ्चाली शासन पद्धतिको ऐतिहासिक रूपरेखा (२०३५), शाहकालका ऐतिहासिक सामग्री (२०३७), गोपाल राजवंशावली (२०४२), मध्यकालको अभिलेख (२०५६) र गोपाल राजवंशावलीको ऐतिहासिक विवेचना (२०६४) लाई पनि पुस्तकाकार दिन भ्याए।
यी पुस्तकहरूमध्ये कतिपयमा एकल लेखन र कतिपय सहपाठी ज्ञानमणि नेपाल, प्रा.डा. कमलप्रकाश मल्ल र प्रा.डा. टेकबहादुर श्रेष्ठहरूको सहयोग लिए। उनले ‘पूर्णिमा’ पत्रिकामा प्रबन्धक र प्रकाशकको रूपमा पनि राम्रैसँग पसिना बगाएका थिए।
यसरी नेपालको इतिहासको अध्ययन, अन्वेषण, लेखन र विश्लेषणमा समर्पित उनले आफ्नो व्यक्तिगत जीवनलाई भने महत्व दिएनन्। परिणामतः उनलाई मधुमेह र उच्च रक्तचापले च्याप्दै लग्यो, दुवै मिर्गौलाले काम गर्न छाड्यो। प्रतिकूल स्वास्थ्यका कारण हिंडडुल गर्न नसके पनि उनले ‘मध्यकालको अभिलेख’ घरैमा बसेर लेखिसिध्याएका थिए।
...
गएको मंसीरमा यो पंक्तिकार गुरुङ समुदायका बौद्धविद्रोही सुकदेव गुरुङबारे केही जिज्ञासा लिएर इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरसँग भेट गर्न पुगेको थियो। त्यसबेला गोरखामा आफूलाई नौ सरकार बौद्धबादशाह घोषणा गरेका गुरुङको जेलमा मृत्यु भएको प्रमाण मिल्ने १९३३ चैत वदी रोज १ को आधिकारिक कागज फेला परेको बडो रोचक घटना मानन्धरबाट सुन्न पाइएको थियो। जुन यसप्रकार छः
एक दिन धनवज्र प्रभातकालीन भ्रमणका क्रममा आफ्नो घर मासंगल्लीबाट निस्केर हनुमानढोका हुँदै हिंडिरहेका थिए। हनुमानढोका प्रहरी कार्यालय अगाडि एउटा ट्रक रोकिएको थियो। उनी पनि त्यहाँ टक्क अडिए। त्यहाँ धमाधम प्रहरी कर्मचारीहरू कसिङ्गरका रूपमा फ्याक्न पुराना कागजका ठेलीहरू ट्रकमा लोड गर्दै थिए। ट्रक नजिकै पुगेर हेर्दा एउटा कागजमा धनवज्रको आँखा पर्यो। त्यसपछि धनवज्रले प्रहरी कर्मचारीलाई एक दिनका लागि ती कागजपत्र नफ्याँकिदिन आग्रह गरे। शुरूमा त प्रहरीहरू मानेका थिएनन्। निकै ठूलो प्रयास गरेर धनवज्रले एक दिनका लागि ती कागजपत्र नष्ट गर्नबाट बचाउन सफल भए।
भोलिपल्ट बज्राचार्यलाई केही कागज सङ्कलन गरी सिनासमा लैजाने सफलता मिल्यो। यदि संयोगले उनको आँखा ती कागजातमा नपरेको भए, इतिहासको एउटा महत्वपूर्ण प्रमाण अर्थात् सुकदेव तथा सुपति गुरुङहरूले गरेको विद्रोहको सत्य माटोमा मिल्ने थियो। त्यही प्रमाणकै आधारमा आज गुरुङ समुदायले आफ्नो पुर्खाको विद्रोहलाई सप्रमाण दाबी गर्ने अवसर पाएका छन्।
...
बेखबर, बेवारिस
यी विद्वान रोगले थलिएर घरको एउटा कुनामा बेखबर एक्लै बसिरहेका थिए। वैशाख २०५१ को एक दिन, शेषराज शिवाकोटी (तत्कालीन उपसचिव, हालः उच्च अदालतका मुख्य न्यायाधीश) आफ्ना गुरु तथा बज्राचार्यका सहपाठी ज्ञानमणि नेपाललाई भेट्न कलङ्की पुगेका थिए। ज्ञानमणिले शेषराजलाई धनवज्रको गम्भीर स्वास्थ्य समस्याबारे जानकारी दिए।
टेम्पो चढी फर्केका शिवाकोटी तत्कालीन शाही नेपाल वायुसेवा निगम अगाडि उत्रिए, र सरासर बज्राचार्य निवास पुगे। एकछिन त भेट्न नमिल्ने भन्दै परिवारका सदस्यले रोक्न पनि खोजे। तर, शिवाकोटी एक छिन पर्खेर परिवारका सदस्यको आँखा छली बज्राचार्यको शयनकक्ष पुगे।
एकान्तको न्यास्रोपूर्ण क्षणहरूमा गम्भीर रोगसँग लडिरहेका धनवज्रले शिवाकोटीलाई भेट्नासाथ अनुहार उज्यालो बनाए। उनीबाटै थाहा भयो, मिर्गौला फेर्न त्यसबेला भारतको मद्रास जान चिकित्सकले सुझाएको कुरा। तर समस्या थियो, खर्चको। आफूसँग मिर्गौला प्रत्यारोपणका लागि दुई लाख रुपैयाँ समेत नभएको पीडा बज्राचार्यले सुनाए।
यी वृत्तान्त सुनिसकेपछि यी विद्वानका लागि केही गर्न सकिन्छ कि भन्ने अठोट बोकेर शिवाकोटी सरासर न्यूप्लाजा पुगी साप्ताहिक ‘युगसंवाद’ मा बज्राचार्यबारे आफैं समाचार तयार पारी सम्पादकलाई बुझाए। अनि उनी कालिकास्थान उक्ले, साप्ताहिक ‘समीक्षा’ को कार्यालयमा। उनलाई सम्पादक विनोद दीक्षितबाट धनवज्रबारे एउटा लेख लेख्न प्रस्ताव आयो।
यी दुई साप्ताहिकमा शेषराजले चलाएको मिडिया अभियानको प्रभाव प¥यो। त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति केदारभक्त माथेमाको आँखा परेछन्, यी समाचार र लेखमा।
जीवनको सम्पूर्ण ६३ वर्ष नेपालको इतिहास अन्वेषण र विश्लेषणमा समर्पण गर्ने विद्वान बज्राचार्यलाई मुखले सम्झने त धेरै होलान्, तर उनको योगदान उजिल्याउने कर्ममा भने एक्ला शेषराज शिवाकोटी शेष देखिन्छन्।
बज्राचार्यले सिनासमा १९ वर्ष सेवा गरेका रहेछन्। उपकुलपति माथेमाले आफ्नो अधिकार प्रयोग गरेर एक वर्ष थप गरी बज्राचार्यलाई पेन्सन पाउन योग्य बनाए। उनको बाँकी रहेको सात वर्षको एकमुष्ट पेन्सन १९ असार २०५१ मा बैंक खातामा जम्मा पनि भयो। तर विधिको खेल, भोलिपल्टै बज्राचार्यले भौतिक लोकबाट विदा लिए।
२० असारमा बज्राचार्य नियमित मिर्गौला डायलासिसका लागि घरबाट पैदल एक्लै वीर अस्पताल पुगेका थिए। डायलासिसकै क्रममा उनको निधन भयो। उनको उपचारमा खट्नेहरू शुरूमा त अलमल्ल परे। एक्लै अस्पताल गएकाले उनको शव कसलाई बुझाउने भन्नेबारे अस्पताल प्रशासनले केही समय त पत्तोसम्म पाएन। त्यो समय अस्पतालले बज्राचार्यको शव मुर्दा घरमा राखेको थियो। बल्ल उनीहरूले उनको घर अस्पताल नजिकै रहेछ भन्ने थाहा पाए र परिवारलाई सम्पर्क गरे।
जसरी यी विद्वानको शव झण्डै बेवारिस बन्यो, त्यसैगरी आज उनको स्मृति पनि बेवारिसे जस्तै बन्न पुगेको छ।
‘शेष’ शिवाकोटी
धनवज्र बज्राचार्य जस्तै विद्वानहरूको स्मृति र अभिनन्दन गर्दै आएका शिवाकोटीले आजसम्म १९६ वटा ग्रन्थको सम्पादन र प्रकाशन गरिसके। बज्राचार्य बारे मात्र उनले सात वटा स्मृति ग्रन्थ प्रकाशित गरिसकेका छन्। उनले बज्राचार्यका गुरु नयराज पन्तको जन्मजयन्तीको अवसर पारेर २६ साउन २०६४ मा आफ्नो सम्पादनमा ‘धनवज्र बज्राचार्यः स्मृति र स्पन्दन’ नामको ३०० पृष्ठको ग्रन्थ प्रकाशनमा ल्याए। पुस्तकमा ७५ पृष्ठ लामो भूमिका धनवज्रका चेला नयराजका छोरा डा. महेशराज पन्तले लेखेका छन्। २०७१ सालमा पनि शिवाकोटीले ‘धनवज्र बज्राचार्यः दृष्टिकोण’ नामक ग्रन्थ निकाले। यसमा पनि डा. पन्तले नै भूमिका लेखेका छन्।
यत्तिले मात्र यी विद्वतपूजकलाई चित्त बुझेनछ। उनले ‘धनवज्र बज्राचार्य शोध सम्मान र पुरस्कार’ समेत स्थापना गरे, जसबाट प्रा.डा. त्रिरत्न मानन्धर (२०६४), प्रा.डा. विजय मानन्धर (२०६९), प्रा.डा. सुरेन्द्र केसी (२०७०), दिलबहादुर क्षेत्री र शोभा पोखरेल (२०७१) सम्मानित भइसकेका छन्। यस्तै डा. जगमान गुरुङ (हालः नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति) लाई ‘धनवज्र बज्राचार्य विद्या साधना सम्मान’ समर्पण गरिसकिएको छ।
जीवनको सम्पूर्ण ६३ वर्ष नेपालको इतिहास अन्वेषण र विश्लेषणमा समर्पण गर्ने विद्वान बज्राचार्यलाई मुखले सम्झने त धेरै होलान्, तर उनको योगदान उजिल्याउने कर्ममा भने एक्ला शिवाकोटी शेष देखिन्छन्।
अरु पनि
– बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला - महेशराज पन्त
– ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ - नयराज पन्त
– संशोधन मण्डलको सामर्थ्य र सीमा - सुजित मैनाली
– बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य - राजकुमार दिक्पाल
– त्यो प्रार्थना श्लोक र प्रतिज्ञा - काशीनाथ तमाेट
– नेपाली इतिहास खोजको दिवस ! - नयनाथ पाैडेल
– सिनासमा थन्किएको देशको इतिहास - वसन्त महर्जन
– संशोधन मण्डलको भविष्य - गाेविन्द न्याैपाने