मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको तयारी, सचिवालय बैठकमा छलफल
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको छ। नेकपा कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको हो।
“आजको पहिलो अजेण्डाका रूपमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मात्रै नीतिगत छलफल भएको छ”, बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सरकारलाई अझ प्रभावकारी बनाउने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएको छ।”
उनका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको ठोस कार्ययोजनाका विषयमा भने आइतबार छलफल नभएको बताए। उनले बैठकमा आफू र वामदेव गौतम सरकारमा जाने भन्ने विषयमा भने कुनै छलफल नभएको पनि बताए। “व्यक्तिका विषयमा प्रवेश गरेका छैनौं, नीतिगत छलफल मात्र भएको हो”,उनले भने।
नेकपा प्रवक्ता श्रेष्ठले आइतबारको बैठकले चारवटा कार्यसूची तय गरेको पनि जानकारी दिए। केही समय पहिले सम्पन्न स्थायी कमिटी बैठकको निश्कर्ष र निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिका लागि सरकारलाई निर्णय गर्न आधार तयार पार्ने, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने बैठकका अजेण्डा तय भएका छन्।
यस्तै, अन्तिम तथा चौंथो कार्यसूचीमा विविध अन्तर्गत केन्द्रीय विभाग, केन्द्रीय समिति तथा स्थायी कमिटीमा रिक्त पदपुर्ति, कारबाही र केन्द्रीय कमिटी सदस्यलाई कसरी सहयोग गर्ने भन्ने विषय समेटिएको प्रवक्ता श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार नेकपाको सचिवालय बैठक भोलि दिउँसाे १ बजे पेरिसडाँडामै बस्नेछ।