भारतले निर्यतामा रोक लगाएपछि बढ्यो प्याजको मूल्य: नेपालमा कति हुन्छ खपत, कति हुन्छ उत्पादन?
भारतले निर्यात रोकेपछि केहीदिन यता नेपाली बजारमा प्याजको मूल्य बढेको छ। वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्याङ्कगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भएपनि आयात रोकिदैमा मूल्यमा तिब्र उतारचढाव आउने स्थिति भने देखिदैन्।
उनले नेपालमा करिब ४ लाख मेट्रिकटन प्याज वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहेको बताए। "तथ्याङ्कगत हिसाबमा हेर्दा हाम्रो उत्पादनले वार्षिक मागलाई पुग्दैन। अघिल्लो वर्षको तथ्याङ्क हेर्यो भने आर्थिक वर्ष २०७६-०७७ मा करिब ३ लाख मेट्रिकटनको उत्पादन छ। त्यहि सँगसँगै हाम्रो अयातलाई हेर्दा १ लाख ६ हजार मेट्रिकटन छ", उनले भने, "यसले आयात र हाम्रो उत्पादनको तथ्याङ्कलाई जोड्दा करिब ४ लाख खपत भएको देखिन्छ। त्यसमा पनि वास्तविक रुपमा उत्पादन भइसकेपछि उपभोक्तासम्म पुग्दा करिब १०-१२ प्रतिशत नोक्सान हुन्छ। त्यो १०-१२ प्रतिशतलाई कटाउने हो भने गत आर्थिक वर्षको तथ्याङ्कलाई विष्लेषणगर्दा ३ लाख ५० हजार मेट्रिकटन वास्तविक खपत भएको देखिन्छ।"
आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाइ छ। तर सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ। जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भएपनि मूल्यमा अत्याधिक वृद्धि हुने स्थिति नरहेको उनको भनाइ छ।
नेपालमा खासगरी मौसमी खेतिको रुपमा मंसिर-पुषमा रोपेर बैशाखमा प्याज उत्पादन हुन्छ। तर साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ। भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ।
तरपनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ। किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ। नेपालमा बेमौसमी प्याजको उत्पादन खासै नभएकाले पनि अहिलेको समयमा प्याजको माग भन्दा आपूर्ति कम देखिने गरेको छ।
तर पछिल्लो चारपाँच वर्षको तथ्याङ्कमा भने नेपालको उत्पादन प्रत्येक वर्ष बढ्दै गएको आचार्यले बताए। "हाम्रो उत्पादन नपुग्ने हो तर हाम्रो उत्पादन हुँदै नभएको भन्ने चाहिं होइन। विशेष गरेर प्याजको उत्पादन वर्षमा २ सिजनको हुन्छ। एउटा मुख्य सिजन बैशाख तिर हार्भेष्ट हुने मंसिर पुस तिर रोकेर बैशाखमा हार्भेष्ट हुने मुख्य सिजन भयो। नेपालमा पनि त्यहि हो र भारतमा पनि त्यहि हो", उनले भने, "अर्को साउनतिर रोपेर कार्तिक मंसिरमा हार्भेष्ट हुने हो। कार्तिक मंसिरतिर जुन प्याज हार्भेष्ट गर्छौं त्यो चाहिं बेमौसमी प्याज पनि भनिन्छ। यो बेमौसमि प्याजको सन्दर्भमा हाम्रो खासै उत्पादन छैन्।"
नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षेत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ। नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा प्याज खेति हुँदै आएको छ। सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरू समेत लागू गरेको छ। आर्थिक वर्ष २०६३-०६४ देखि आर्थिक वर्ष २०६९-०७० सम्म तराईका जिल्लाहरूमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो।
अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम कर्यान्वयनमा ल्याएको छ। वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले भने, "स्थानीय तहमा नै कार्यक्रम सिधै संघबाट जाने सशर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ। प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम भनेर गएको छ।"
नेपालमा उत्पादन बढाउनको लागि बिउको व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखा परेको छ। वरिष्ठ बागवानी विकास अधिकृत आचार्यका अनुसार नेपालमा २० हजार ९ सय ८ हेक्टरलाई करिब २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बिउ नेपालमा उत्पादन नहुने भएकाले समस्या भएको बताए।
नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेति गरिन्छ। भारतले प्याजको बिउ निर्यातमा पनि रोक लगाएको छ। त्यसैले तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रुपमा आउने बिउले धानेको आचार्यले बताए। "गुणस्तरीय उन्नत बिउको सन्दर्भमा हामीसँग भएको उत्पादन जुन बिउको परिमाण छ २० हजार ९ सय ८ हेक्टरलाई चाहिने त्यो हामीसँग नपुग्दो छ। किनभने २० हजार ९ सय ८ हेक्टरलाई करिब बिउको परिमाणको हिसाबले हेर्नेहो भने २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्ने देखिन्छ", उनले भने, "बिउकै लागि भनेर हाम्रो तथ्याङ्कमा हेर्दाखेरी १ सय ५० क्विन्टल बिउ उत्पादन छ।"