बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडको निर्माण कात्तिकमा सम्पन्न हुने
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडि नै सम्पन्न हुने बताएका छन्।
काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए। निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए।
कोरोना रोकथामका लागि जारी भएको बन्दाबन्दीका कारण समस्या देखिएपनि दशैअगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए।
सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए। बर्षाको समय र बन्दाबन्दीका कारण केही ढिला भएपनि अहिले काम तिव्र गतिमा अगाडी बढीरहेको उनले बताए। ल्याण्डफिल्डसँग जोडिएका अरू क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडि बढिरहेको उनले बताए।
आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले बन्दाबन्दी खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए। असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्तिकको पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडि बढीरहेको उनले बताए।
बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ। बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिँदा ल्याण्डफिल्ड साइड भरिएको छ। स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए।