बालिका खड्का पेरिसडाँडाबाट प्रहरी नियन्त्रणमा
केही समयअघि आफूलाई प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती बताउने गरेकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा कार्यालय पेरिसडाँडा कोटेश्वरबाट उनलाई नियन्त्रणमा लिइएको हो।
नेताहरूलाई भेट्ने भन्दै जर्बजस्ती प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले हिमालखबरलाई बताए। नेकपाको केन्द्रीय सचिवालय बैठक पेरिसडाँडामा बसिरहेको छ।
“नेताहरूलाई भेट्छु भन्दै आउनुभएको थियो। पछि भेट्नुहोला अहिले बैठक चलिरहेको छ भन्दा जबर्जजस्ती भित्र प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं”, एसपी राठौरले भने। खड्कालाई अहिले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ।
प्रहरीका अनुसार उनले नेताहरूलाई किन भेट्न खोजेको भन्ने खुलाएकी छैनन्। खड्काले केही समय पहिले आफू प्रदेश-१ का मुख्यमन्त्री राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन्।
तर, उनले अहिले मुद्दा फिर्ता लिइसकेकी छन्। खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै गत बिहीबार मुद्दा फिर्ता लिएकी थिइन्।