नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरू, प्रधानमन्त्री पनि सहभागी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा जारी बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।
शुक्रबारका लागि तय भएको सचिवालय बैठक अन्तिम समयमा आइतबारका लागि सारिएको थियो। आइतबारको सचिवालय बैठक पेरिसडाँडास्थित् कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरेर बसिरहेको छ।
प्रधानमन्त्री ओली तत्कालीन एमाले र माओवादीको एकतापछि दोस्रोपटक पेरिसडाँडा पुगेका हुन्। उनी पार्टी एकता लगत्तै २०७५ जेठमा त्यहाँ पुगेका थिए। त्यसपछि विभिन्न कार्यक्रममा उनलाई पेरिसडाँडा लैजान खोजेपनि अन्तिम समयमा आफ्नो कार्यक्रम स्थगित गर्ने गरेका थिए।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि बैठक पहिलोपटक तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो। बैठकमा ओली र दाहालका लागि समानान्तर कुर्सिको व्यवस्था गरिएको छ।
यसअघि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका थिए। एक/दुई पटक भने नेकपाको मुख्य केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो। तर, प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अनुपस्थित थिए।
आइतबारको बैठकमा नेकपाको एकताका बाँकी काम, केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ। नेकपाले आउँदो कात्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ भने चैतमा महाधिवेशन गर्ने भनिएको छ।
यससँगै आजको बैठकमा संवैधानिक निकायमा रिक्त रहेका पदपुर्तिका विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।