नेकपा केन्द्रीय सचिवालय बैठक बस्दै
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक नेकपाको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा केहीबेरपछि बस्नेछ।
शुक्रबारका लागि तय भएको सचिवालय बैठक अन्तिम समयमा आइतबारका लागि सारिएको थियो। नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि बैठक पहिलोपटक तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।
यसअघि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका थिए। एक/दुई पटक भने नेकपाको मुख्य केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो। तर, प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए। आजको बैठकमा पनि उनी सहभागी हुने नहुने अनिश्चित छ।
आइतबारको सचिवालय बैठकका लागि पेरिसडाँडास्थित् कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बैठकमा सहभागी हुनका लागि जाँदै गरेको बताए। उनले बैठकका अजेण्डाबारे भने अध्यक्षद्वयबाट जानकारी नआएको बताए।
बैठकमा नेकपाको एकताका बाँकी काम, केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ। नेकपाले आउँदो कात्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ भने चैतमा महाधिवेशन गर्ने भनिएको छ। यससँगै आजको बैठकमा संवैधानिक निकायमा रिक्त रहेका पदपुर्तिका विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।