कोरोना अपडेट: ९ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ। यीमध्ये शनिबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कोेरोनाबाट ४५ हजार २६७ जना व्यक्ति निको भइसकेका छन्। तर मुलुकमा अझैं १७ हजार १२९ जना कारोनाका सक्रिय संक्रमित छन्।
प्रदेशगत तथ्यांक अनुसार ३ असोजसम्ममा सात वटै प्रदेशमा कोरोनाका संक्रिय संक्रमितभन्दा निको हुने व्यक्तिको संख्या बढी छ। १७ हजार १२९ मध्ये ९ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, रुपन्देही, सिराहा, मोरङ र सुनसरी गरी ९ जिल्लामा कोरोनाका ५०० बढी सक्रिय संक्रमित छन्।
यस्तै, कोरोनाका शून्य सक्रिय संक्रमित रहेका जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला छन्। २६ भदौसम्ममा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको कुल संख्या १४ हजार ९२५ थियो।
यीमध्ये काठमाडौं, चितवन, रुपन्देही, सर्लाही र सुनसरी गरी पाँच जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी थियो।
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला ९ जिल्लाका कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० नाघ्नुले ‘भाइरस समुदायमा फैलिंदै छ’ भन्ने संकेत गरेको बताउँछन्।
“अबका दिनमा अस्पतालहरूमा चाप बढ्ने र मध्यम तथा सिकिस्त बिरामीले पनि उपचार नपाउने अवस्था आउन सक्छ,” डा. बास्तोला भन्छन्, “त्यसका लागि सरकारले अक्सिजन र भेन्टीलेटरको सुविधा भएका अस्पताहरूको व्यवस्थापन गर्न तदारुकताका साथ लाग्नुपर्छ।”
उनी निषेधाज्ञा खुकुलो भएसँगै प्रत्येक व्यक्तिले घर बाहिर निस्कदा भौतीक दूरी कायम गर्ने, भीडभाडमा नजाने, अनिवार्य मास्क लगाउने जस्ता जनस्वास्थ्यका आधारभूत मापदण्ड पालना गर्न आवश्यक भएको बताउँछन्।