सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. संविधानका पाँच वर्षः आशा जगायो, भरोसा बन्दैछ, तर कार्यान्वयन किन सुस्त ?
आफूमा निहित सामेलीपन र मौलिक हकको बृहत् दायरामार्फत आम रूपमा आशा जगाएको संविधानले नै आज महामारीमा पिल्सिएका नागरिकलाई त्राण दिने आधार खडा गरेको हो। तर अझै पनि अनुभूति हुने गरी कार्यान्वयन नहुँदा संविधान बारेको संशय हट्न सकेको छैन।
- छैटौं संविधान दिवस (३ असोज)का अवसरमा हिमालखबरको विशेष सामग्री । तुफान न्यौपानेको यो रिपोर्ट का साथै थप :
२. महामारीमा चुपचाप फरक काम गरिरहेको गाउँपालिका: टोल शिक्षादेखि विपन्नलाई रोजगारीसम्म
कोरोनाभाइरस संक्रमण महामारीपछि गुल्मीको धुर्कोट गाउँपालिकास्थित हिमालय उच्च माविका शिक्षक ऋषिराम पाण्डेयको दैनिकी फेरिएको छ। पहिले विद्यालयमा १० देखि ४ बजेसम्म पढाउने उनी अचेल टोलटोलमा पुग्छन्। अर्थशास्त्र र सामाजिक विषयका शिक्षक उनी दैनिक दुईदेखि तीन वटा टोलमा पुगेर पढाउँछन्। गाउँपालिकाले कोरोना संक्रमण महामारी विरुद्ध जुध्न क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै बालबालिकाको शिक्षामा निरन्तरता दिएको छ भने विपन्नलाई रोजगारीमार्फत राहत दिंदै कृषिलाई प्राथमिकतामा राखेको छ। महामारीमा पनि चुपचाप काम गरिरहेको एउटा स्थानीय तहबारे लक्ष्मी बस्नेतको सामग्री।
३.एकैदिन दुई हजार संक्रमित थपिएपछि विज्ञले भने- ‘कोरोना रोकथाम र नियन्त्रण गर्ने सरकारको नीति असफल भयो’
शुक्रबारको तथ्यांक अनुसार मुलुकमा कोरोनाको संक्रमणदर १७ प्रतिशत पुगेको छ। गएको बुधबार थपिएका कोरोना संक्रमितको तथ्यांककोे आधारमा संक्रमण् दर १४ प्रतिशत थियो। दुई दिनको अन्तरमा मात्रै संक्रमण दर ३ प्रतिशतले बढेको छ। सरकारले पछिल्लो समय काठमाडौं उपत्यकालगायत शहरहरूमा जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ र योसँगै कोरोना संक्रमणको दर भने बढिरहेको छ। काठमाडौं उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित थपिनु र देशभर एकै दिन दुई हजारभन्दा धेरै संक्रमित फेला पर्नुको अर्थ के हो? -रामु सापकोटाको सामग्री।
४. नेपालको आफ्नै रेल जनकपुर आइपुग्यो, यात्रुसेवा भने तत्कालै शुरू नहुने
नेपालले भारतसँग किनेका दुईवटा रेल शुक्रबार दिउँसो नेपाल आइपुगेका छन्। भारतको जयनगरबाट छुटेका रेल जनकपुर आइपुगेका हुन्। नेपाल आफैंले खरिद गरेका दुई रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेका नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ। नेपाल आइपुगेका दुवै रेल ५/५ डिब्बाका हुन्। एउटा रेलमा एकैपटक १३०० जनाले यात्रा गर्न सक्छन्। एक सामग्री।
५. २८ महीनापछि नेकपाले किन सम्झ्यो पेरिसडाँडा ?
तत्कालीन एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपामा एकता महाधिवेशन नहुँदासम्म आवश्यक निर्णय लिने अधिकारसहित नौ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको थियो। त्यसयता सचिवालयका सबैजसो बैठक बालुवाटारस्थित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्दै आएका छन्। जम्माजम्मी दुई वटा सचिवालय बैठक चाहिँ धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा बसेका छन्। स्थायी कमिटीका केही बैठक र केन्द्रीय कमिटी बैठक भने धुम्बाराही कार्यालयमा बसेका थिए। पार्टीभित्रको पछिल्लो विवादपछि बस्न थालेको सचिवालय बैठक भने कोटेश्वर, पेरिसडाँडास्थित नेकपाका जनसंगठनहरुको कार्यालय जुन तत्कालीन माओवादीको मुख्यालयमा बोलाइएको छ।
आखिर २८ महीनापछि किन सम्झ्यो त नेकपाले पेरिसडाँडा? हिमालखबर टिप्पणी।
६. शिव रेग्मी: एक शब्दचित्र, तीन अध्याय
जन्मकालमा र शिव रेग्मीको महाप्रस्थानपछि उनलाई धेरै व्यक्तिले विभिन्न परिचय दिए। "वाङमयका गुगल", "साधु साधक", "नेपाली साहित्यको इन्साइक्लोपेडिया" आदित्यादि। तर उनले आफूलाई भने "असफल सरकारी सेवक र अम्मली साहित्यिक खोजकर्ता" ठाने। हुन त खोजीमेलीलाई शरदचन्द्र शर्मा भट्टराईले आविष्कार, अन्वेषण, गवेषणा, अनुसन्धान भनी अर्थ्याएका छन्। शब्दकोशकै सहयोग लिई अनुसन्धान "नयाँ सत्य वा तथ्यको खोजी" हो भनेका छन्।
१९९८ सालमा आजकै दिन १ असोजमा जन्मिएका शिव रेग्मीले जीवन रहुञ्जेलसम्म साहित्य र पत्रपत्रिकाका पत्र–पत्र खोतलेर अरुलाई चम्काउने काम मात्रै गरे। एउटा असल, इमानदार र मौनसाधकको पर्याय बने। - अध्येता हर्षमान महर्जनको अवदान आलेख।
७. तारादेवी थापाः कोरोना कहरमा उपत्यकाको जिल्ला हाँकिरहेकी प्रहरी कमाण्डर
जिल्लाका प्रहरी प्रमुखमाथि आफ्नो क्षेत्रमा शान्ति–सुरक्षा कायम गरी समुदाय स्तरमा अमनचैन कायम गराउने मुख्य दायित्व हुन्छ। कोरोनाभाइरस संक्रमण (कोभिड–१९) महामारीको यो समयमा भने संक्रमणबाट आम नागरिकलाई सुरक्षा, स्वास्थ्य उपचार लगायतमा समन्वय र सहजीकरण गर्ने अतिरिक्त अभिभारा पनि जिल्लाका प्रहरी इञ्चार्जमा थपिएको छ। एसपी तारादेवी थापाका लागि कोरोना संक्रमण महामारीको असहज समयमा भक्तपुरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु चुनौती हो नै, जिल्लाको नेतृत्व नै पहिलो पटक गरिरहेकी उनी यसलाई आफ्नो क्षमता साबित गरेर देखाउने अवसर मान्छिन्। - लक्ष्मी बस्नेतले तयार पारेको व्यक्तिवृत्त।
८. यी व्यवसाय, जसले महामारीलाई अवसर बनाए
बन्दाबन्दी/निषेधाज्ञामा मानिसहरू सामाजिक दूरी कायम गरेर घरैमा बस्दा र अधिकांश काम/व्यवसाय इमेल–इन्टरनेटबाट हुन थाल्दा यो व्यवसाय पनि विस्तार भएको छ। इन्टरनेट सेवा प्रदायक १२५ वटा कम्पनी रहेकोमा बजारमा राम्रो उपस्थिति रहेका ४० कम्पनी छन्। बन्दाबन्दीपछि उनीहरूका प्रयोगकर्ता ३५ प्रतिशतसम्म बढेका छन्। महामारीमा बजार तयार र विस्तार गरेका व्यवसायबारे राजु बास्कोटाको रिपोर्ट।
९. भेट्दै गरौंला, टेड !
टेड रिकार्डीका नेपाल सम्बन्धी अनगिन्ती विषयका लेख, रचना, पुस्तक जसले पढ्दछ, ऊ आफैं विद्वान् बन्दछ । विश्वप्रख्यात ‘हिमालयविद्’ प्रोफेसर थियोडोर रिकार्डीको ८३ वर्षको उमेरमा अमेरिकाको न्यूयोर्कमा निधन भएको छ। कोलम्बिया युनिभर्सिटीको इमेरेटस् प्रोफेसर ‘टेड’ रिकार्डी अध्ययनले मानवशास्त्री थिए तर नेपाली कला, संस्कृति, पुरातत्व, बसोबास, लेखन, राजनीति हर क्षेत्रमा उनको चासो थियो, यसर्थ उनलाई ‘नेपालविद्’ पनि भन्न सकिन्छ । - कनकमणि दीक्षितको सम्झनामा टेड रिकार्डी।
गएको साता निधन भएका दुई नेपाली मित्र भारतीय बारे स्मृतिशेष आलेख
१०. विवादित र दलका 'प्रिय' पूर्वकर्मचारीको नियुक्तिले सिध्याउँदैछ संवैधानिक निकायको साख
निजामती सेवामा रहँदा विवादित बनेका र निर्णय क्षमता कमजोर मानिएका व्यक्तिहरुले सेवाबाट अवकाश पाए लगत्तै विभिन्न संवैधानिक आयोगमा नियुक्ति पाउने गरेका छन्। जसले नियुक्तिपछि आफू मात्रै विवादित बनेका छैनन्, संस्थाको साख र छवि समेत खस्काएका छन्। सरकारी सेवामा रहँदा विवादित बनेका र राजनीतिक दलबाट रुचाइएका पूर्वकर्मचारीको नियुक्तिले संवैधानिक निकायहरुको कद मात्र घटेको छैन, नागरिकबीच ती निकायको विश्वसनीयता नै खस्कँदै गएको छ। - मुकेश पोखरेलको रिपोर्ट।
११. कुलमानको चारवर्षे कार्यकाल : लोडसेडिङ अन्त्यदेखि बिजुलीमा आत्मनिर्भर उन्मुखसम्म
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षे सेवा अवधिमा ‘लोडसेडिङलाई इतिहासमा बिलय गर्न सफल’ भएको बताएका छन्। २९ भदौ २०७३ मा प्राधिकरण प्रवेश गरेका घिसिङ चार वर्षे कार्यकाल सकेर विदा भएका छन्। घिसिङले नेतृत्व लिएको पहिलो आर्थिक वर्षमा प्राधिकरण रु.१ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो। त्यसपछि दोश्रो वर्ष रु.२ अर्ब ८५ करोड, तेश्रो वर्ष रु.९ अर्ब ८१ करोड २५ लाख खुद नाफा प्राधिकरणले कमायो। चौंथो वर्षमा यस्तो नाफा बढेर रु.११ अर्व ५ करोड पुगेको छ। एक रिपोर्ट ।
- साथमा मिलन बगालेको ब्लग
१२. प्याजमा किन परनिर्भर छ नेपाल ?
भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टै नेपाली बजारमा प्याजको अभाव र मूल्यवृद्धि शुरु भएको छ। भारतमा प्याजको मूल्य लगातार बढेपछि भारत सरकारले २९ भदौमा प्याज निर्यातमा रोक लगाएको थियो। गत वर्ष पनि असोजमा भारतले प्याजको निकासीमा रोक लगाएपछि नेपाली बजारमा प्रतिकिलो रु. २५० सम्म पुगेको थियो। तराईदेखि मध्य पहाडसम्म प्याजको खेती गर्न अनुकूल भए पनि व्यावसायिक प्याज खेतीबाट नाफा नदेखेर किसान यसतर्फ आकर्षित नहुँदा नेपाल प्याज आयातमा निर्भर रहँदै आएको छ। आखिर किन?
१३. सिन्धुपाल्चोकमा पहिरोबाट दुई महीनामै ७४ जनाको मृत्यु, अझै ४१ बेपत्ता
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यो वर्ष धनजनको ठूलो क्षति भएको छ। दुई महिनायता मात्रै ७४ जनाले ज्यान गुमाएका छन्। अझै ४१ जना बेपत्ता छन् । गएको आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा १४ जनाको मृत्यु भएको छ। १७ जना अझै बेपत्ता छन्। गएको ३० साउनमा सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाए। सो पहिरोमा परी दुई जना अझै हराइरहेका छन्। एउटा सामग्री।
१४.ओम्नीपछि स्वास्थ्यमा भित्रियो अर्को कम्पनी: आरडीटीका नाममा २३ करोड भुक्तानी, मापदण्ड विपरीत प्रयोगशालाको अनुमति
देशमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले ललितपुरमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबीसीआई)लाई स्वास्थ्य सामग्री खरीद गर्ने ठेक्का दियो। स्वास्थ्य सेवा विभागले त्यसका लागि गएको २ चैत २०७६ मा ओबीसीआई प्रालिसँग एक करोड तीन लाख ३३ हजार अमेरिकी डलरभन्दा बढी मुल्यमा सम्झौता गर्यो। सम्झौता अनुसार पहिलो चरणमा करीब ६ लाख अमेरिकी डलर मूल्य बराबरका ७५ हजार थान ‘र्यापिड डायग्नोष्टिक किट (आरडीटी)’ खरीद गरिएको थियो। कोरोना महामारीका बीच स्वास्थ्य सामग्री खरीद प्रक्रिया चौतर्फी विवादमा परेपछि ओम्नी समूहसँगको सम्झौता रद्द गरिएको थियो। अहिले फेरि त्यस्तै एक कम्पनीलाई स्वास्थ्य सामग्री खरीदको ठेक्का दिनेदेखि विधि मिचेर प्रयोगशाला सञ्चालन गर्ने अनुमति समेत दिइएको छ। - रामु सापकोटाको रिपोर्ट।