रौतहटमा पीसीआर परीक्षण शुरु, नमुना जाँचमा एक संक्रमित भेटिए
प्रदेश सरकारको सहयोगमा रौतहटको गौरस्थित जिल्ला अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिन प्रयोगमा आउन थालेको छ। बिहीबार गरीएको नमुना परीक्षणमा एक जना संक्रमित फेला परेका छन्।
१० जनाको स्वाब परीक्षण गरिएकोमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ। पीसीआर परीक्षणका लागि आज पनि स्वाब संकलन हुने जनाइएको छ। योसँगै जिल्ला अस्पतालमा नियमित स्वाब परीक्षण गरिने पनि स्रोतले जनाएको छ।
छ घन्टामा ७२ वटा स्वाब परीक्षण गर्ने क्षमता भएको पीसीआर मेसिन जडान भएपछि शुक्रबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका थिए। जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार जिल्ला अस्पताल गौरमा पीसीआर ल्याब स्थापना तथा व्यवस्थित आइसोलेसन निर्माणका लागि स्थानीय तहहरुले पाँच पाँच लाख रुपैया सहयोग गरेका थिए ।
जिल्ला अस्पतालमा ल्याब सञ्चालनमा आएपछि पीसीआर परीक्षणको नतिजा चाँडै आउने मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा साहले बताए। रौतहटमा पीसीआर परीक्षण ल्याब नहुँदा जनकपुर, वीरगंज, हेटौँडा र काठमाडौँसम्म स्वाब परीक्षणका लागि पठाइने गरिएको थियो।
स्वाब संकलन गरिएको दुई हप्तासम्म पनि परीक्षणको नतिजा आउँदैन थियो। जसकारण स्वाब दिनहरु तनावमा बस्नुपर्ने अवस्था थियो।
सञ्जय मित्र, रौतहट