अमेरिकी न्यायाधीश गिन्सवर्गको ८७ वर्षको उमेरमा निधन
अमेरिकी सर्वोच्च अदालतकी दोस्रो महिला न्यायाधीश रूथ गिन्सवर्गको निधन भएको छ। ८७ वर्षको उमेरमा शुक्रबार साँझ उनको मृत्यु भएको हो।
न्यायाधीश गिन्सवर्ग क्यान्सरबाट पीडित थिइन्। सन् २००९ मा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो।
गिन्सवर्गलाई राष्ट्रपति बिल क्लिन्टनले सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए। उनी अहिले त्यहाँका नौ जना न्यायाधीशमध्ये चार जना उदारवादी न्यायाधीशहरूको समूहकी वरिष्ठ न्यायाधीश थिइन्। पछिल्लो समय उनले गर्भपतन, समलिङ्गी विवाह, आप्रवासी तथा स्वास्थ्यसेवा सम्बन्धी समसामायिक विषयमा प्रगतिशील फैसला गर्ने न्यायाधीशको रूपमा आफ्नो परिचय बनाएकी थिइन्।
न्यायाधीश गिन्सवर्ग अमेरिकी न्यायपालिकाका लागि मात्रै होइन, महिला आन्दोलनकै शिखर व्यक्तित्व हुन्। सन् १९३३ मा न्यूयोर्कमा जन्मेकी उनी कोर्नेल विश्वविद्यालयकी ग्राजुएट हुन्, जहाँ उनले आफ्ना पति मार्टी गिन्सवर्गलाई भेटेकी थिइन्। पछि दुवै जना हार्वर्ड ल स्कुल पुगे। हार्वर्डमा ५५२ जना विद्यार्थीमध्ये ९ जना केटीहरूमा पर्थिन्, गिन्सवर्ग।
दाम्पत्य जीवनमा उनले बालबच्चाको साथै क्यान्सर पीडित पतिको पनि स्याहार गर्नुपर्यो। पछि उनी कोलम्बिया विश्वविद्यालय पुगिन्, दुवै विश्वविद्यालयको ‘ल रिभ्यू’ मा काम गर्ने उनी पहिलो महिला थिइन्। उत्कृष्ट एकेडेमिक व्यक्ति हुँदाहुँदै पनि काम पाउन भने उनले भेदभावको सामना गर्नुपर्यो।
“पूरै न्यूयोर्क शहरभर मलाई कुनै पनि ल फर्मले काम दिँदैनथे, म यहुदी थिएँ, एक महिला र आमा थिएँ। यी तीन कुरा नै मेरा लागि तगारा बने,” धेरैपछि उनले सार्वजनिक रूपमा भनेकी थिइन्। सन् १९७० ताका एकेडेमिक क्षेत्रमा काम गर्दागर्दै पनि गिन्सवर्गले आफूलाई लैंगिक समानताको पैरवी गर्ने मामिलामा अग्रपंक्तिमा राखेकी थिइन्। सर्वोच्च अदालतका केही ऐतिहासिक मुद्दामा उनले काम गरिन्। उनले आफूलाई प्रखर नारीवादीका रूपमा चिनाउँथिन्।
सन् १९८० मा उनी कोलम्बियाको ‘कोर्ट अफ अपिल’ मा न्यायाधीश नियुक्त भइन्। पछि सर्वोच्च अदालतमा नियुक्त गरियो। सर्वोच्च अदालतमा उनलाई उदारवादी न्यायाधीशका रूपमा चिनिन्छ। साथै खरो रूपमा फरक मत लेख्ने न्यायाधीशको रूपमा पनि उनको पहिचान बनेको छ। इन्टरनेटको युग आएपछि उनको लोकप्रियता अझै बढेको छ।
अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशहरू सिधै राजनीतिज्ञहरूद्वारा नियुक्त गरिन्छन्। राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले न्यायाधीशहरू मनोनीत गर्छ, जसलाई अमेरिकी संसदको माथिल्लो सदन सिनेटले पास गर्छ। अहिले दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ।
अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई उमेरको हद छैन, उनीहरूले आजीवन सेवा गर्न पाउँछन्। नौ सदस्यीय इजलासमा उदारवादी र परम्परागत विचारधाराका न्यायाधीशबीच विचारको द्वन्द्व सधैं देखिंदै आएको छ।
अमेरिकी सर्वोच्च अदालतको इतिहासमा सबैभन्दा ज्येष्ठ न्यायाधीशको रूपमा अलिभर वेन्डेल होम्सको नाम आउँछ, उनी ३० वर्षको सेवापछि सन् १९३२ मा ९० वर्षको उमेरमा सेवानिवृत्त भएका थिए। न्यायाधीश गिन्सवर्ग अहिले ८७ वर्षकी थिइन् र उनी २७ वर्षदेखि सर्वोच्च अदालतको इजलासमा बस्दै आएकी थिइन्।
अमेरिकी राष्ट्रपतिको चुनाव आउन सात हप्ता पनि नरहेको समयमा गिन्सवर्गको निधनले त्यहाँका राजनीतिज्ञबीच विवाद बढाउन सक्नेछ। राष्ट्रपति ट्रम्प र अन्य रिपब्लिकन नेताहरू तत्कालै रिक्त पद पूर्ति गर्नतिर लाग्न सक्नेछन् भने डेमोक्रेटहरूले निर्वाचित राष्ट्रपतिले मात्रै पदपूर्ति गर्नुपर्ने आवाज उठाउन सक्नेछन्।
सीएनएनले जनाएअनुसार न्यायाधीश गिन्सवर्गले आफ्नो स्थानमा नयाँ निर्वाचित राष्ट्रपतिले मात्रै पदपूर्ति गरून् भन्ने चाहना आफ्नी नातिनीलाई बताएकी थिइन्।
-एजेन्सीहरुको सहयोगमा