आजबाट शुरु हुँदैछ आईपीएल, सन्दीप आबद्ध दिल्लीको पहिलो खेल भोलि
इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ। अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच अबुधाबीमा पहिलो खेल हुनेछ।
आईपीएलको इतिहासमा चौँथोपटक यी दुई टीम उद्घाटन खेलमा प्रतिश्पर्धा गर्न लागेका हुन्। यसअघि भएका तीन उद्घाटन खेलमध्ये दुई वटामा मुम्बई र एउटामा चेन्नई विजयी भएका थिए। आज हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा शुरु हुनेछ।
नेपाली युवा स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको पहिलो खेल भोलि छ। दिल्लीले भोलि हुने खेलमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे किङ्स इलेभेन पन्जाबसँग प्रतिश्पर्धा गर्नेछ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर ट्रिनिडाड एण्ड टोबागोबाट सन्दीप आईपीएल खेल्न यूएई पुगिसकेका छन्। दिल्लीको क्याप्टेन श्रेयस ऐयर छन्। टीममा शिखर धवन, अजिन्क्या रहाने, अक्षर पटेल, रिसभ पन्त, कागिसो राबाडा, अमित मिश्रा, रविचन्द्र आश्विन लगायत खेलाडी छन्।
आईपीएल १० नोभेम्बरसम्म चल्नेछ। ५३ दिनमा आठ टीमले कम्तीमा १४/१४ खेल खेल्नेछन्। एक लिमिनेटर, एक क्वालिफायर र फाइनलसमेत गरी ६० खेल हुनेछन्। यी खेल दुबई, अबुधाबी र शारजाहमा हुनेछ।