भोलिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।
हाल २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग मर्मतका लागि १८ चैतदेखि तीन महीनासम्म दैनिक १० घण्टा बन्द हुने भएको हो ।
मर्मतको अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ ।
हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थल मर्मत अवधिमा नियमित उडानमा भने कुनै कटौती हुने छैन् ।
पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन हुनेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा धावनमार्ग बनाइने क्षेत्रीले बताए ।
धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बर महीनामा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेसनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड लागतमा सम्झौता भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्रे फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको थिएन ।
विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् ।