स्वामी अग्निवेशः एक विद्रोही संन्यासी
२१ सेप्टेम्बर १९३९ - ११ सेप्टेम्बर २०२०
सांसारिक जीवनबाट अलग हुन संन्यासी भए पनि स्वामी अग्निवेश आजीवन समाजका द्वन्द्वहरूसँग लडे । कमजोर, अपहेलित, दलित, शोषित, पीडितका कट्टर पक्षपाती बने र हिन्दू धर्मान्धहरू विरुद्ध इस्पात झैं उभिए।
८१ वर्षको उमेरमा स्वामी अग्निवेशले भौतिक जीवन परित्याग गरे। २१ सेप्टेम्बर १९३९ मा भारतको आन्ध्रप्रदेशमा ब्राह्मण परिवारमा जन्मेका उनी गृहस्थ जीवनमा प्रवेश गरेनन्।
सेन्टजेभियर्स कलेज कलकत्तामा व्यवस्थापन पढाए। सव्यसाची मुखर्जीको जुनियर बनेर वकालत गरे। सव्यसाची मुखर्जी पछि भारतका प्रधानन्यायाधीश बने भने स्वामी अग्निवेशले शिक्षण र वकालत छोडेर अर्कै बाटो रोजे।
यी बहुआयामिक संन्यासीसँग मेरो तीन–चार पटक भेट भयो। पहिलो भेट काठमाडौंमै भएको थियो।
२०३९–४० तिर हुनुपर्छ तीर्थ कोइराला र गोपाल शिवाकोटीले स्वामी अग्निवेश र कैलाश सत्यार्थीलाई काठमाडौं ठँहिटीको अग्लो घरको माथिल्लो तलामा रहेको संगीतकार, गायक रामेशको कोठामा लिएर आएका थिए। उनीहरूले काठमाडौं आउँदा यहाँका वामपन्थी क्रान्तिकारीहरूसँग भेट गर्न खोजेका रहेछन्।
सानो पार्टी र प्रमुख नेताहरू भूमिगत रहेको त्यसबेलामा मेरो भेट भएको थियो। नेपालको वामपन्थी आन्दोलन, लोकतन्त्रको स्थापना र संस्कृतिलगायत विविध विषयमा उनीहरूसित कुराकानी भएको थियो।
२०३९–४० तिर हुनुपर्छ तीर्थ कोइराला र गोपाल शिवाकोटीले स्वामी अग्निवेश र कैलाश सत्यार्थीलाई काठमाडौं ठँहिटीको अग्लो घरको माथिल्लो तलामा रहेको संगीतकार, गायक रामेशको कोठामा लिएर आएका थिए । उनीहरूले काठमाडौं आउँदा यहाँका वामपन्थी क्रान्तिकारीहरूसँग भेट गर्न खोजेका रहेछन् ।
स्वामी अग्निवेश बँधुवा मुक्ति मोर्चाका अगुवा थिए, सत्यार्थी पनि उनीसँगै बाल र बँधुवा मजदूरहरूको मुक्तिका निम्ति क्रियाशील थिए। भेटमा सत्यार्थीले मलाई बँधुवा मुक्ति सम्बन्धी पत्रिकाका केही अंक दिए जस्तो लाग्छ। यिनै सत्यार्थीले केही वर्षअघि नोबेल शान्ति पुरस्कार पाए।
अग्निवेशको व्यक्तित्व भव्य थियो। ६ फिट जतिको अग्लो ज्यान, डम्म परेको शरीर, प्रभावशाली बोली र गेरुवा रंगको पहिरन, गेरुवा रंगकै फेटा।
उनीसँग दोस्रो भेट भारतमै भयो। सन् १९८२ अप्रिल २४–२६ तारिख भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को ‘भित्री’ आयोजनामा दिल्लीमा भारतव्यापी तीन–चार दिने एउटा सम्मेलन आयोजना गरिएको थियो। त्यसबेला भारतीय (कम्युनिष्ट पार्टी लेनिनवादी) नामका विभिन्न समूह थिए। दिल्लीको सम्मेलन भने विनोद मिश्र नेतृत्वको समूह भाकपा (माले, लिवरेशन समूह) ले आयोजना गरेको थियो।
सम्मेलन आयोजक समितिका संयोजक आनन्दस्वरुप बर्मा थिए। बर्मा ‘समकालीन तीसरी दुनियाँ’ मासिक पत्रिकाका सम्पादक/प्रकाशक थिए। त्यसबेला नेपालका वामपन्थी युवामा पनि यो पत्रिका लोकप्रिय थियो। अर्को ‘थर्ड वल्र्ड युनिटी’ पत्रिका पनि निकै रुचाइन्थ्यो।
‘थ्याङ्क्यु मिस्टर ग्लाड’ उपन्यासको नायकको रूपमा नागभूषण पटनायकलाई नै चित्रित गरिएको चर्चा भारत र नेपालमा निकै चलेको थियो । तर, नागभूषणले भने आफूले पनि यस्तो चर्चा सुनेको तर उपन्यास पढ्न बाँकी रहेको बताएका थिए ।
दिल्लीको यो सम्मेलनमा भाग लिन हामी पाँच जना पद्मरत्न तुलाधर, शान्ता मानवी, टंक कार्की, मिलन तुलाधर र म गएका थियौं।
यो सम्मेलनले भाकपा (माले, विनोद मिश्र) को बाहिरी मोर्चा इण्डियन पिपुल्स फ्रण्ट गठन गर्यो। चर्चित नक्सलवादी नेता र लामो काराबासपछि भर्खरै मात्र रिहा भएका नागभूषण पटनायक सम्मेलनको विशेष आकर्षण बने।
‘थ्याङ्क्यु मिस्टर ग्लाड’
त्यो बेलाको भारतमा नागभूषणको निकै चर्चा, प्रशंसा र सम्मान थियो। नेपालमा समेत उनी चर्चित थिए, जसको एउटा कारण थियो ‘थ्याङ्क्यु मिस्टर ग्लाड’ उपन्यास।
उपन्यासकार अनिल बार्भेको यो उपन्यास मूल रूपमा शायद मराठी भाषामा प्रकाशित भएको थियो र यसको हिन्दी अनुवाद चर्चित पत्रिका ‘सारिका’ ले छापेको थियो। यो उपन्यास नेपाली भाषामा पनि प्रकाशित भएको थियो। त्यसबेला यो उपन्यास नपढ्ने वामपन्थी युवा शहरी क्षेत्रमा कमै थिए।
‘थ्याङ्क्यु मिस्टर ग्लाड’ उपन्यासको नायकको रूपमा नागभूषण पटनायकलाई नै चित्रित गरिएको चर्चा भारत र नेपालमा निकै चलेको थियो। तर, नागभूषणले भने आफूले पनि यस्तो चर्चा सुनेको तर उपन्यास पढ्न बाँकी रहेको बताएका थिए।
झूटो मुद्दामा फँसाएर जेल हालिएका यी नक्सलवादी नेतालाई सन् १९७० मा आन्ध्रप्रदेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। फैसलाको व्यापक विरोधपछि मृत्युदण्डको सट्टा जन्मकैदमा परिणत गर्न अदालत बाध्य भयो।
राजनीति नसुध्रिकन देश बन्दैन भन्ने गहिरो ज्ञान र चेतना भएकाले हुनसक्छ उनी आफ्ना असहमतिहरू हुँदाहुँदै पनि नक्सलवादीहरूप्रति स्नेह र सद्भाव राख्थे ।
जेलमा रहँदा अनेकौं रोगले आक्रान्त भएपछि नागभूषणको रिहाइको माग चर्किएको थियो। थप उपचारको लागि उनलाई दिल्ली ल्याइयो।
यो खबर आगोसरी फैलियो। रोगले जर्जर राजबन्दी माथि भएको अत्याचारको आलोचना व्यापक हुन थालेपछि आन्ध्रप्रदेश सरकारले उनलाई आन्ध्रमै फिर्ता लैजान खोज्यो। तर यसको झन् विरोध भयो। भारतका १८ वटा नागरिक अधिकार र जनसंघर्षसँग सम्बन्धित विभिन्न जनसंगठनले ‘नागभूषण पटनायक रिहाइ समिति’ गठन गरे। स्वामी अग्निवेश र प्राध्यापक डी. प्रेमपति यो रिहाइ समितिका संयोजक छानिएका थिए। अग्निवेश त्यसबेला हरियाणा राज्यको विधान सभा सदस्य समेत थिए।
भर्खरै रिहा भएर अलि अलि बिरामी अवस्थामा पनि सम्मेलनमा उपस्थित नागभूषणसँग हाम्रो भेट सम्मेलनको दोस्रो दिन भएको थियो। पिरोले भत्भत् पोलेर दिउँसोको खाना राम्ररी खान हामीले सकेका थिएनौं।
जसोतसो थोरै खाना खाएर नागभूषण भेट्न जाँदा उनी खाना खाँदै थिए। तर, बिरामी अवस्थामै रहेका उनको देब्रे हातमा पाँच–सात ओटा हरिया खुर्सानी देखेर मेरो सातो गयो। सबैबाट घेरिएका उनीसँग थोरै मात्र कुराकानी सम्भव भयो।
इच्छाशक्तिका स्वामी
सम्मेलनमा स्वामी अग्निवेशको भाषण पनि सुनियो र वार्तालाप पनि गरियो। उनी इन्दिरा गान्धीका कट्टर आलोचक थिए। विभिन्न वामपन्थी र संघर्षशील सबै लोकतान्त्रिक र जनवादी शक्ति मिलेर अघि बढ्नुपर्छ भन्नेमा उनले जोड दिएका थिए।
अग्निवेश भारतीय संचारमाध्यममा निरन्तर छाइरहन्थे। राजस्थानमा एक महिला पतिसँग जिउँदै जलेर सती गएको घटना निकै चर्चित भयो। उनी जलेको ठाउँमा ‘सती मैया’ को दर्शन गर्न एकातिर विशाल भीड लाग्न थाल्यो भने स्वामी अग्निवेशलगायत केही सामाजिक कार्यकर्ता उक्त घटनाको विरुद्धमा डटेर उत्रिए।
आफ्नो राजनीतिक जीवनको शुरूआतमा मलाई लाग्थ्यो अन्याय, अत्याचार, दमन र सबै प्रकारका उत्पीडन विरुद्ध जुध्न कम्युनिष्ट हुनै पर्छ । तर पछि व्यवहारमा देख्दै गएँ नामका कम्युनिष्टहरू भन्दा इमानदार, चरित्रवान र आफ्ना मान्यताप्रति प्रतिबद्ध मानिसहरू, जो कम्युनिष्ट पार्टीमा थिएनन्, छैनन् ।
अग्निवेशमाथि धर्मभीरु र कट्टरपन्थीहरूबाट ठूलो आक्रमण भयो, तर यो धार्मिक अन्धविश्वास विरुद्ध उनी डगमगाएनन्।
अग्निवेश वकालत र प्राध्यापन छाडेर सन् १९६८ मा आर्य समाजमा सामेल भएका थिए। आर्य समाजको स्थापना हिन्दू रुढिवाद विरुद्ध भएको थियो।
सन् १९७० मा त अग्निवेशले संन्यास नै ग्रहण गरे। उनको राजनीतिक र सामाजिक चेतना अत्यन्त गहिरो र फराकिलो थियो। माक्र्सवादको राम्रो ज्ञान थियो र राजनीतिप्रति आकर्षण पनि। यही आकर्षणले हुनुपर्छ सन् १९७० मा उनले ‘आर्यसभा’ नामको राजनीतिक दल समेत बनाए।
सन् १९७५ मा इन्दिरा गान्धीले संकटकाल लागू गरिन्। पत्रपत्रिका सेन्सरमा पर्न थाले र हजारौं राजनीतिक दलका नेता कार्यकर्ताहरू पक्राउ परे। स्वामी अग्निवेश संकटकाल विरुद्ध संघर्षमा लागे। संकटकालपछि भएको निर्वाचनमा उनी हरियाणा प्रदेशबाट विधान सभा सदस्यमा निर्वाचित भए र १९७९ मा हरियाणा सरकारको शिक्षा मन्त्री बने।
अग्निवेशले केही किताबहरू पनि लेखे। उनको सम्पादनमा ‘राजधर्म’ र ‘क्रान्तिधर्र्म’ नामका पत्रिका पनि प्रकाशित भए।
अग्निवेशको लोकप्रियता, सक्रियता र कतिपय परम्परागत रुढ मान्यताहरूमाथिको निरन्तर प्रहारले आर्य समाजमा उनको पक्ष–विपक्षमा विवाद हुन थाल्यो। अन्ततः सन् १९७६ मा उनलाई आर्य समाजले निष्काशन गर्यो। तर, उनले आफ्नो गतिविधि झन् व्यापक बनाउँदै लगे। पटकपटक ज्यानै लिने गरी आक्रमण हुँदा पनि उनी पछि हटेनन्।
मजदूर, किसान, दलित, महिला र समाजको शोषण तथा दमनमा परेका बञ्चित समुदायप्रति उनमा असिम स्नेह थियो। त्यही भएर उनले सन् १९८१ मा ‘बँधुवा मुक्ति मोर्चा’ को गठन गरे। बँधुवा बनाइएकाहरूलाई छुटाउन थाले। सत्यार्थी शुरूदेखि नै उनको यो अभियानमा थिए।
राजनीति नसुध्रिकन देश बन्दैन भन्ने गहिरो ज्ञान र चेतना भएकाले हुनसक्छ उनी आफ्ना असहमतिहरू हुँदाहुँदै पनि नक्सलवादीहरूप्रति स्नेह र सद्भाव राख्थे। लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता, सामाजिक न्याय, सद्भाव र समानता कुनै पनि समाजको अग्रगतिका लागि अपरिहार्य छ भन्ने ठान्थे। उनको बौद्धिक क्षमता, प्रतिबद्धता र ज्ञानले गर्दा संयुक्त राष्ट्रसंघका विभिन्न मञ्च र अभियानसँग पनि उनी जोडिए।
नेपालका असल मित्र
स्वामी अग्निवेश नेपालप्रति पनि सद्भाव राख्थे। हामीसँगको कुराकानीमा उनी नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक दल र यहाँको राजनीतिक, सामाजिक अवस्थाबारे गहिरो चासो देखाउँथे।
सबभन्दा गज्जब चाहिं उनको समभाव र सर्वहिताय चेतना लाग्थ्यो। शान्ति र लोकतन्त्रप्रति उनी जति प्रतिबद्धता देखाउँथे त्यति नै विरोध, दमन, शोषण, अत्याचार र अपहेलनाप्रति गर्थे। विकास, समृद्धि र सुखको उनको आफ्नै परिभाषा थियो।
भारतका किसान, आदिवासी, पिछडिएका जनजाति र वनवासीहरूलाई कारखाना, खानी र विकास गतिविधिका नाममा तिनका जमीन, जंगल र वासस्थानबाट लखेट्ने निर्मम पूँजीवादी विकासको उनी आजीवन विरोधमा रहे। धार्मिक रुढी भन्दा फरक, कट्टरपन्थीहरू भन्दा बेग्लै धर्मको परिभाषा गर्थे उनी।
अग्निवेश सांसारिक जीवनबाट अलग हुन संन्यासी भए तर आजीवन समाजभित्रकै द्वन्द्वमा सामेल भएर कमजोर, अपहेलित, दलित, शोषित, पीडित, बञ्चित र महिला तथा बालबालिकाका पक्षमा लडिरहे।
आफ्नो राजनीतिक जीवनको शुरूआतमा मलाई लाग्थ्यो अन्याय, अत्याचार, दमन र सबै प्रकारका उत्पीडन विरुद्ध जुध्न कम्युनिष्ट हुनै पर्छ। तर पछि व्यवहारमा देख्दै गएँ नामका कम्युनिष्टहरू भन्दा इमानदार, चरित्रवान र आफ्ना मान्यताप्रति प्रतिबद्ध मानिसहरू, जो कम्युनिष्ट पार्टीमा थिएनन्, छैनन्। तर, समाज र जनताका लागि निकै उपयोगी काम गरिरहेका छन्।
तपाईंको उद्देश्य ठीक छ, बहुसंख्यक मानिसको हितमा छ भने विवाद वा आलोचनाबाट डराउनुहुँदैन भन्ने महत्वपूर्ण पाठ अग्निवेशको जीवनबाट सिक्न सकिन्छ। संन्यासी भएर पनि उनले आफूलाई संन्यास र स्वान्तः सुखायभित्र सीमित गरेनन्। परम्परागत संन्यासको मान्यतालाई चुनौती दिंदै शोषित, पीडित, बञ्चित जनता र समुदायको हितमा आफूलाई उभ्याए।
राजनीतिक व्यक्तित्व, संन्यासी, आर्य समाजी, चिन्तक, सामाजिक अभियन्ता, लेखक, सम्पादक, लोकतान्त्रिक मान्यता स्थापनाका लागि संघर्षशील योद्धा र सबभन्दा महत्वपूर्ण रुढ परम्परा र मूर्तिभञ्जक विद्रोही संन्यासी थिए– स्वामी अग्निवेश।
नेपाली जनआन्दोलनसँग सद्भाव राख्ने र नेपालको हित चाहने भारतको एउटा पुरानो पुस्ता एक, एक गर्दै विस्तारै दिवंगत भइसकेका छन्। यो घडीमा हामी नेपालीका लागि थपिएको चुनौती के भने, हामीले नयाँ भारतीय पुस्तासँग नेपाल र नेपाली बुझाउने गरी हार्दिक र मित्रतापूर्ण सम्बन्ध राख्न सकेका छैनौं। भारतमा नेपाल र नेपाली जनताको हित चाहने मित्रहरू चाहिन्छन् भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ।
नेपालीप्रति सधैं सदासयी एक अद्भुत पात्र स्वामी अग्निवेशलाई श्रद्धाञ्जलि !