एकैदिन दुई हजार संक्रमित थपिएपछि विज्ञले भने- ‘कोरोना रोकथाम र नियन्त्रण गर्ने सरकारको नीति असफल भयो’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार, २ असोज अपराह्न सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा पछिल्लो २४ घण्टामा मात्रै २०२० जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै एकै दिन अहिलेसम्मकै उच्च, ८९१ जना संक्रमित थपिए।
देशभर हालसम्म ६१५९३ जना कोरोना संक्रमित भएकोमा अहिले १७३८३ जना सक्रिय संक्रमित छन् भने ३९० जनाको ज्यान गइसकेको छ।
शुक्रबारको तथ्यांक अनुसार मुलुकमा कोरोनाको संक्रमणदर १७ प्रतिशत पुगेको छ। गएको बुधबार थपिएका कोरोना संक्रमितको तथ्यांककोे आधारमा संक्रमण् दर १४ प्रतिशत थियो। दुई दिनको अन्तरमा मात्रै संक्रमण दर ३ प्रतिशतले बढेको छ।
सरकारले पछिल्लो समय काठमाडौं उपत्यकालगायत शहरहरूमा जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ र योसँगै कोरोना संक्रमणको दर भने बढिरहेको छ।
काठमाडौं उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित थपिनु र देशभर एकै दिन दुई हजारभन्दा धेरै संक्रमित फेला पर्नुको अर्थ के हो?
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी आउने दिनहरूमा स्वास्थ्यका भएका संरचनाहरूले थेग्नै नसक्ने गरी कोरोना संक्रमितहरूको संख्या बढ्ने बताउँछन्। कोरोनाको संक्रमणदर एक महीनाअघि ४ प्रतिशत भएकोमा अहिले बढेर १७ प्रतिशत पुगेको र यसले मृत्युदर पनि बढाउने डा. सुवेदी बताउँछन्।
“बचाउन सकिनेलाई पनि सरकारी स्तरबाट सेवा दिन नसक्दा मृत्युदर बढ्न सक्ने देखिएको छ,” ह्याम्स अस्पतालमा कार्यरत डा. सुवेदी भन्छन्। सरकारले विज्ञान र तथ्यांकलाई बुझेर काम गर्न नसकेको बरु निषेधाज्ञा खोल्ने र बन्द गर्ने जस्तो प्रतिक्रियात्मक काममा जोड दिएका कारण संक्रमण रोकथाम हुने अवस्था नदेखिएको डा. सुवेदीको तर्क छ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले बनाएको संक्रमितको सम्पर्कमा आएका तर लक्षण नदेखिएकालाई परीक्षण गर्न नपर्ने गरी हचुवामा बनाएको नीति, छिटो नतिजा दिने डाइरेक्ट पीसीआर जस्ता विधि नअपनाउने, पीसीआरभन्दा कम विश्वासिलो एन्टीजिन विधिमार्फत परीक्षण गर्ने र कन्ट्याक्ट ट्रेसिङ तथा परीक्षणको दर नबढाउने जस्ता मन्त्रालयका कमजोर कदमले संक्रमणदर बढाइरहेको छ।
“स्वास्थ्य मन्त्रालयको नेतृत्वले अझैं पनि संक्रमण नियन्त्रण र रोकथामका कदम चाल्नुको साटो अव्यवहारिक गलत नीतिहरू बनाएको छ। मन्त्रालयलाई विज्ञस्तरबाट आवश्यक सल्लाह दिए पनि सुनुवाई हुँदैन”, डा. सुवेदी भन्छन्, “मन्त्रालयको गैरजिम्मेवारीपन र राजनीति पूर्ण रुपमा असफल भएकाले अहिलेको समस्या निम्तिएको हो। बचाउन सकिनेलाई पनि सेवा दिन नसक्दा मृत्युदर पनि बढ्न सक्ने डर छ। स्वाथ्यको संरचनाले नधान्ने भएकाले संक्रमण झनै बढ्ने देखिन्छ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउँदा केही मात्रामा भए पनि कोरोना संक्रमण नियन्त्रण गर्न सकिने सम्भावना रहने, तर अहिले स्वास्थ्य मन्त्रालयका कदम त्यसतर्फ केन्द्रित नभएको बताउँछन्।
डा. मरासिनीले अझैंसम्म पनि शंकास्पद व्यक्तिले कोरोना परीक्षणको रिपोर्ट पाउन दश दिनसम्म कुनुपर्ने अवस्था रहेको भन्दै स्वाब संकलन गरेको २४ घण्टाभित्र रिपोर्ट आउने व्यवस्था मिलाउनु पर्ने बताए।
“कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार असफल भइसक्यो। मन्त्रालयले हतारहतारमा जारी गरेका नीतिहरू काम नलाग्ने छन्,” उनी भन्छन्, “कारोना नियन्त्रणका लागि ल्याइएका नीतिहरू हप्ता–हप्तामा पुनरावलोकन गर्नुपर्छ।”
डा.मरासिनी स्वास्थ्य मन्त्रालयले ल्याएको हेल्थ सेक्टर इर्मेजेन्सी रेस्पोन्स प्लानमा महामारीको रोकथामका लागि आवश्यक विषय नसमेटिएको बताउँछन्।
स्वास्थ्य मन्त्रालयका अव्यवहारिक र गलत नीतिका कारण संक्रमितहरूको संख्या चीनमा भन्दा पनि बढी अर्थात ९० हजार भन्दा माथि पुग्ने उनको भनाइ छ।
“मन्त्रालयको नेतृत्व तहमा सक्षम व्यक्ति नभएका कारण आजको समस्या निम्तिएको हो। मन्त्रालयले अझैं कोरोना संक्रमणलाई पनि भूकम्पलाई रेस्पोन्स गर्ने मोडल जस्तैगरी स्वास्थ्यका कार्यक्रम बनाएको छ”, डा. मरासिनी भन्छन्, “२०७२ सालमा भूकम्प जाँदा बनाइएका हब अस्पताललाई भाइरस नियन्त्रण र रोकथामका लागि प्रयोग गर्ने मन्त्रालयको नीतिले भविष्यमा थप दुर्घटना निम्त्याउने देखिन्छ।”