देखेको अर्कै, लेखेको ‘गायक’
नेपाल आइडलमा सज्जा चौलागाईं (२३) को सफलता एउटा यस्तो आम–कथा हो, जसमा संगीतको अर्थ सोखसँग भन्दा भोकसँग जोडिएको छ।
पहिलोपटक गुनगुनाएको गीत कुन थियो ?
थाहा छैन।
पाएको प्रतिक्रिया के थियो ?
त्यो पनि थाहा छैन।
थाहै नपाई, कसोकसो संगीतसँग सज्जाको प्रेम बस्यो। अरू त अरू आफूभित्र यति सुन्दर गायकी छ भन्ने बोध हुन पनि उनी आफैंलाई निकै समय लाग्यो।
खाना पकाउँदा, लुगा धुँदा, नुहाउँदा, खेल्दा, घरमा कुनै जमघट भएका बेला कहिलेकाहीं उनी आक्कलझुक्कल गाउने गर्थिन्। ‘नाके छ तेरो स्वर’, घरीघरी बुवा (टंक चौलागाईं)ले भनेको उनलाई याद छ।
तर, ‘नाके स्वर’ भनेको के हो ? सज्जालाई थाहै थिएन। ‘मैले त नाकबाट गाएको छैन त !’ उनलाई लाग्थ्यो।
तर हालै त्यही ‘नाके स्वर’ हुँदै परिपक्व स्वरले नेपाल आइडल–३ को उपाधि जित्न सफल भयो। र, विजेता उनै सज्जा चौलागाईं (२३) बनिन्।
सज्जा संघर्ष
सज्जालाई कहिल्यै आफू गायक बन्छु जस्तो लाग्दैनथ्यो।
‘भविष्यमा के बन्ने ?’ शिक्षक/शिक्षिकाको प्रश्नमा सज्जा जहिल्यै भन्थिन्– ‘फेसन डिजाइनर।’
हुन पनि उनी रातभरि टेलिभिजनमा फेसन सम्बन्धी च्यानल र कार्यक्रमहरू हेर्थिन्। घरी आमाको सारी काट्थिन्, नयाँ कपडा ल्याएर सिलाउने गर्थिन्।
आमा गीता चौलागाईं गुम्बामा लुगा सिलाउने गर्थिन्। हुनसक्छ, आमाकै मिहिनेतको प्रभाव उनमा परेको थियो।
कक्षा–८ पढ्दाको कुरा हो। जोरपाटीस्थित निमोनिक्स मोर्डन एकेडेमीको तर्फबाट सज्जाले पहिलोपटक अन्तरविद्यालय गायन प्रतियोगितामा भाग लिने अवसर पाइन्। र, पहिलोपटक नै उनी प्रथम भइन्।
तारादेवीको स्वरको ‘उकाली ओरालीहरूमा’ गीत गाएर प्रथम भएकी उनलाई गायिका ज्ञानु राणाले पुरस्कार प्रदान गरेकी थिइन्।
त्यो क्षण सम्झँदा सज्जा भावुक हुन्छिन्। त्यस उपलब्धिले मात्र आफूभित्रको गायक पहिल्याउने अवसर दिएको र आत्मविश्वासको प्राण भरिदिएको उनलाई लाग्छ। त्यसलगत्तै हो, साथीभाइ र शिक्षक/शिक्षिकाले पनि सज्जालाई संगीतको बाटोमा प्रेरित गर्न थालेको।
पढाइमा मध्यम, स्वभावमा लगनशील सज्जा सबैकी प्रिय थिइन्।
सज्जा विद्यालय जीवनको सँघारमा थिइन्। अचानक मलेशियामा काम गरिरहेका सज्जाका बुवा बिरामी परेर स्वदेश फर्किए। निकै औषधोपचार र खर्च गर्दा पनि सञ्चो नभएपछि परिवारको आर्थिक लय एकाएक खलबलिन पुग्यो।
स्वास्थ्यमा केही सुधार आएपछि सज्जाका बुवाले गौशालामा होटल चलाउन थाले। तर साझेदारसँग मनमुटाव भएपछि व्यवसाय छोड्नुप¥यो।
केही समय मेनपावर कम्पनीमा पनि जोडिए सज्जाका बुवा। तर आफ्नो पैसा हाकाहाकी उठाउन नसक्ने स्वभावले सबै पैसा डुब्यो। यता पैसा डुब्ने उता मेनपावरका मान्छे दिनहुँ थर्काउन, धम्क्याउन आउने !
“नहुने बेला केही गरे पनि पनि नहुँदो रहेछ”, सज्जा विगतको पीडा सम्झिन्छिन्।
घरको आर्थिक अवस्था लथालिङ्ग भएपछि सज्जाकी आमा गीता रोजगारीका लागि साइप्रस जान बाध्य भइन्। सज्जा र उनको भाइलाई काठमाडौंमा छाडेर बाबा पनि पुख्र्यौली घर मोरङ हान्निए।
घरमा बा–आमा नभए पनि ‘साहु’ सहकारीका मान्छेहरू ‘पैसा चाहियो’ भन्दै दिदीभाइलाई थर्काउन आइपुग्थे।
एक समय त यतिसम्म भयो कि, डेरामा ग्याँस, मट्टीतेल नहुँदा यी दिदीभाइ भोकै बस्न बाध्य भए। यस्तो बेला साथी, साथीका बुबाआमा, ठूलोबुवाले साथ दिए।
बुबाआमा यसै पनि दुःखी भएका बेला थप तनाव किन दिनु भन्ने लाग्थ्यो उनलाई। “साथीका बा–आमाले अहिलेलाई नून, चामल लिएर जाऊ सकेको बेलामा तिर्नु भन्नुहुन्थ्यो”, गहभरि आँसु पार्दै सज्जा सुनाउँछिन्।
घरव्यवहार केही थाहा नभएकी सज्जालाई कलिलै उमेरमा पैसाको शक्ति र जीवनको निरीहताबारे धेरै पाठ सिकायो। “शायद म दुःख लुकाउन सक्ने भइसकेकी थिएँ”, उनी भन्छिन्।
सज्जालाई लाग्यो– अब मैले नै कमाउन थाल्नुपर्छ, आफ्नै खुट्टामा उभिएर बुवाआमालाई अलिकति भए पनि ऋणको भार कम गराउनुपर्छ।
यही उद्देश्यले एसएलसी लगत्तै सज्जाले साथी पेम्बा छिरिङ तामाङसँग मिलेर गिग (लाइभ कन्सर्ट) गर्न थालिन्। पछि ब्याण्डमा अरू सदस्यहरू पनि थपिए। ब्यान्डसँग उनी साँझ ७ बजेदेखि राति अबेरसम्म रेस्टुरेन्ट/लाउञ्ज/नाइट क्लबहरूमा गीत गाउँथिन्। त्यसरी गाएबापत पहिलो दिनको कमाइ पाँच सय रुपैयाँ पाएको सज्जालाई हिजै जस्तो लाग्छ।
लगत्तै उनले द फ्लेवर्स रेस्टुरेन्टमा बारिस्टा र एकाउन्टेन्ट काम पनि पाइन्। त्यसबापत पहिलोपटक रु.११ हजार ५०० तलब पाइन्।
केहीपछि उनले आफू पढेको कलेज इष्ट पोल उच्च माध्यमिक विद्यालयमा प्राथमिक तहमा पढाउन पनि थालिन्।
राति अबेरसम्म गाउनुपर्ने र बिहानैको कलेज र त्यसपछिको एकाउन्टेन्टको काम सज्जाका लागि कठिन बन्यो। त्यसपछि उनले अन्य सबै छाडेर गीत मात्रै गाउन थालिन्।
अहिले सज्जा गीत गाएरै मासिक रु.३०/४० हजारसम्म कमाउन सक्ने भएकी छन्। हाल ‘द लोडिङ’ ब्याण्डमा आबद्ध सज्जाका साथ बाँकी तीन सदस्य छन्, सुशान्त सापकोटा (किबोर्डिस्ट), अविनाश अछामी (गिटारिस्ट), पेम्बा छिरिङ तामाङ (क्याजन) र सज्जा चौलागाइँ (भोकल)।
“दुःख नपाएको भए, मैले यसरी आफूलाई परिपक्व बनाउने अवसर नै पाउने थिइनँ होला, आत्मनिर्भर पनि हुने थिइनँ होला शायद”, उनी सुखदुःखको मूल्यांकन गर्दै भन्छिन्।
आफ्ना लागि खर्च जुटाउन सबल भएपछि सज्जाले एक वर्षदेखि रोकिएको पढाइ पुनः थाल्ने हेतुले अष्ट्रेलिया जाने तयारी पनि गरिन्। धेरै ब्यांक ब्यालेन्स देखाउनुपर्ने, लाखौं रुपैयाँ खर्च लाग्ने भएर यो प्रक्रियामा उनलाई पटक्कै सहज भएन। दोस्रो पटकको कोशिशमा भिसा अस्वीकार भएपछि उनले अष्ट्रेलियाको सपना त्यागिदिइन्।
होटल म्यानेजमेन्टकी विद्यार्थी सज्जा अब स्वदेशमै राम्रो कलेज पढ्ने सोचका साथ ललितपुरको कलिनरी कलेजमा बुझ्न पनि गइन्। तर मासिक शुल्कले उनलाई अत्यायो।
नेपाल आइडल मा भाग लिन जानुभन्दा तीन महीनाअघिसम्म सज्जा वर्किङ भिसामा माल्टा जाने तयारीमा थिइन्। “पासपोर्ट अझै मेनपावरमै छ”, उनी भन्छिन्।
आइडल यात्रा
सज्जाको नेपाल आइडलको यात्रा सिजन–१ बाट शुरू भएको हो। त्यतिबेला सज्जा पहिलो ‘जज राउण्ड’ बाटै फालिएकी थिइन्।
त्यसो भए पहिलो सिजनबाटै फालिएकी सज्जालाई के कुराले पुनः प्रतिस्पर्धामा उत्रिन्छु भन्ने आँट दिलायो त ?
सज्जासँग अहिले पनि यसको ठोस उत्तर छैन।
“ब्यान्ड मेम्बर सुशान्त दाइले बानेश्वरमा अडिसन भइरहेको बताएपछि एकपटक फेरि कोशिश गरौं न त भन्ने लाग्यो, तर तयारी भने केही थिएन”, उनी सम्झिन्छिन्।
तर, यसपटक उनी छानिइन् मात्र हाेइन, उनको खुलेको र रक प्रस्तुतिको दर्शकबाट प्रशंसा समेत भयो।
हुन पनि तीन वर्षअघिको स्वर र अहिलेको आफ्नो स्वरमा आकाश–जमीनको फरक लाग्छ सज्जालाई। “त्यतिखेर पातलो, सुरिलो स्वर थियो। तीन वर्षको दैनिकजसो कन्सर्टमा गाएर होला, मेरो स्वरको स्वरुप नै बदलिएछ”, उनी भन्छिन्।
त्यसपछि मनमा आँट र महत्वाकांक्षा बोकेर सज्जा झन् तयारीमा लागिन्।
नेपाल आइडलकै प्रस्तुतिका क्रममा सज्जालाई घाँटीमा केही अप्ठ्यारो महसूस भयो। उनले चिकित्सक देखाइन्। चिकित्सकले भोकल कर्डमा समस्या देखिएको भन्दै एक महीनासम्म ‘भोकल रेस्ट’ गर्ने सल्लाह दिए।
तर, प्रतिस्पर्धामा यो सम्भव थिएन।
सज्जाले यो बेला फरक फरक विधाका गीतहरू गाउन थालिन्, जसले उनलाई फरक संगीतका पारखी र दर्शकमाझ ‘भर्सटायल’ गायकको परिचय दिलायो।
प्रत्येक हप्ता उत्कृष्ट प्रस्तुति दिन्छु भन्ने महत्वाकांक्षाले सज्जालाई जोखिम मोल्न पनि सिकायो।
आफूलाई परिष्कृत गर्न सज्जाले निर्णायकको प्रतिक्रिया मात्र होइन, सामाजिक सञ्जालका ‘कमेन्ट’ पनि नियाल्न थालिन्, दर्शकको मनोविज्ञान बुझेर अर्को प्रस्तुतिको तयार गर्न थालिन्।
नेपाल आइडलमा सज्जाको प्रस्तुतिलाई लिएर निर्णायक र उपस्थित अतिथिले धेरैजसो प्रशंसा नै गरे। तर, यता ब्यान्डका साथीहरू भने उनको निर्मम समालोचना गर्थे। यसले उनलाई थप सचेत बनाउँथ्यो।
त्यसो त सज्जा नेपाल आइडलमा गएदेखि झण्डै एक वर्षदेखि ब्यान्ड कामविहीन छ। सज्जाका लागि पूरै ब्यान्ड सदस्यले आर्थिक मूल्य चुकाउनु परे पनि कसैमा गुनासो छैन।
अनि आँशु झरे
१२ भदौ। नेपाल आइडल सिजन–३ को विजेता घोषणा हुने दिन।
टेलिभिजनमा फाइनलको प्रस्तुति हुँदै थियो तर सज्जा जोरपाटी, गोकर्णेश्वरस्थित नारायणटारको डेरामै आइसोलेसनमा बसिरहेकी थिइन्। कारण, नेपाल आइडल टोलीका एक कर्मचारीमा कोरोना संक्रमण देखियो।
सज्जा आफ्नै प्रस्तुति आफ्नै मोबाइलमा हेरिरहेकी थिइन्।
तीनै जना प्रतिस्पर्धी उत्तिकै अब्बल भएकाले मनमा डर र उत्साहको खिचातानी चलिरहेको थियो।
जब विजेताका नाममा ‘सज्जा चौलागाई’ सुनिन्, उनी एकाएक प्रतिक्रियाविहीन भइन्। भाइको खुशीले उनलाई झस्कायो। हेर्छिन् त प्रोजेक्टरमा फाइनल हेरिरहेका टोलवासी विजयोत्सव मनाउन थालिसकेछन्।
बल्ल सज्जाको आँखाबाट आँसुका ढिका झरे।
सज्जालाई बधाई दिन मानिसको भीड लाग्न थाल्यो। तर, आइसोलेसनमा बसिरहेकाले सज्जाले खुशीमा प्रत्यक्ष साथ दिन पाइनन्। झयालबाटै धेरैलाई धन्यवाद भनिन्। तर केही टोलवासी यति उत्साहित भए कि टाढैबाट भए पनि खादा लगाइदिए।
सज्जाको विजय नेपाल आइडल फ्रेन्चाइजमै पनि ऐतिहासिक थियो। किनभने उनी आइडल उपाधि जित्ने पहिलो महिला थिइन्।
आइडल विजेतासँगै सज्जाले रु.५० लाख पुरस्कार पाउने भएकी छन्।
कुनै बेला भोकभोकै बस्न बाध्य, पाँच सय रुपैयाँका लागि संघर्ष गर्ने सज्जालाई अचानकको लाखौं रुपैयाँ प्राप्तिले के अर्थ राख्छ त ? सज्जा यो रकमले घरमा सहयोग गर्न चाहन्छिन्। यसको अलावा ब्यान्डलाई चाहिने संरचना र सामग्री जुटाएर सांगीतिक यात्रामा थप सशक्त रूपमा अगाडि बढ्ने उनको योजना छ।
आइडलको विजेता घोषणा हुँदा विदेशी भूमिमा ड्यूटीमा खटिएकी सज्जाकी आमा गीताले कार्यक्रम नै हेर्न पाइनन्। राति १२ बजे फोन गरेर छोरीलाई बधाई दिइन्। बुबाले पनि फोनबाटै खुशी साटे।
“एकैपटक यति धेरै दर्शक, श्रोतासामु चिनिनु चानचुने कुरा होइन। पैसा भन्दा नाम कमाउन गाह्रो छ यहाँ”, परिपक्व सुनिएकी सज्जा भन्छिन्।
सज्जाले हालसम्म तीन वटा गीत रेकर्ड गराइसकेकी छिन्। ‘गुलाब सरी’ उनको ‘डेब्यू’ गीत हो। चलचित्र ‘ए मेरो हजुर–४’ को एउटा गीतका लागि पनि स्वर दिएकी छन्।
“यो चाहिं पक्का हो, म दर्शक–श्रोतालाई सकेसम्म निराश बनाउँदिनँ”, सज्जाको प्रतिबद्धता छ।