आन्तरिक वायुसेवालाई पूर्ण क्षमतामै उड्न दिने सरकारको निर्णय, उडान तालिका भने २५ प्रतिशत मात्र स्वीकृत
सरकारले ५० प्रतिशत यात्रु राखेर उडान गर्न दिने निर्णय गरेपनि शतप्रतिशत क्षमतामा यात्रु राख्न नपाए उडान नगर्ने वायुसेवाहरूको अडानका कारण २५ प्रतिशत उडान तालिकाको सीमा तोकेर पूर्ण क्षमतामै उडान गर्ने स्वीकृति दिइएको छ।
सरकारले आन्तरिक वायुसेवा कम्पनीलाई पूर्ण क्षमतामा नै उडान गर्न दिने स्वीकृति दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वायुसेवाका समस्यालाई बुझेर सरकारले पूर्ण क्षमतामा नै उडान अनुमति दिएको बताए।
सरकारको निर्णय अनसार ५ असोजदेखि सबै वायुसेवाले पूर्ण क्षमतमा नै नियमित उडान गर्न पाउनेछन्। विमानस्थलमा हुने भीडभाड नियन्त्रण गर्न र कोभिडको जोखिम कम गर्न उडान तालिकामा भने २५ प्रतिशत मात्र स्वीकृति दिएको छ।
मन्त्री भट्टराईले हिमालखबरसँग भने, "आधा क्षमतमा उडान गर्दा हुने समस्या र कोभिड-१९ ले पारेको असरलाई बुझेर वायुसेवाका माग अनुसार नै पूर्ण क्षमतामा उडान गर्ने अनुमति दिइएको हो। यसका लागि सबै वायुसेवाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको उडान तालिकको सीमाभित्र रहेर उडान गर्नुपर्ने छ।"
सरकारले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्ने दिने गरी ३० भदौमा गरेको निर्णयलाई वायुसेवाले नमानेपछि पूर्ण क्षमताकै स्वीकृति दिन तयार भएको हो।
वायुसेवा कम्पनीलाई ५ देखि १४ असोजसम्म बन्दाबन्दी अघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तालिका स्वीकृत भने गराउनु पर्नेछ।
आन्तरिक वायुसेवाहरूले आधा क्षमताको उडान अन्तर्राष्ट्रिय अभ्यास विपरित रहेको र कोभिडका कारण यात्रु नपाइने तथा घाटामा उडान गर्न नसकिने गुनासो गर्दै पूर्ण क्षमताको स्वीकृति पाउनु पर्ने अडान राख्दै आएका थिए।
सरकारले वायुसेवाले माग गरेअनुसार नै यात्रु क्षमताको स्वीकृति दिएकाले अब ५ असोजदेखि नियमित उडान गर्न तयार भएको वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले बताए।
कार्कीका अनुसार २ असोजमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा सञ्चालक संघ र पर्यटन मन्त्रालयबीच भएको सहमति अनुसार शतप्रतिशतमा उडान गर्न वायुसेवाहरू तयार भएका हुन्। अब सरकारले स्वीकृति दिएकै दिनदेखि सबै आन्तरिक वायुसेवाले नियमित उडान शुरु गर्ने छन्।
वायुसेवा कम्पनीलाई ५ देखि १४ असोजसम्म बन्दाबन्दी अघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट तालिका स्वीकृत भने गराउनु पर्नेछ।
यसअघिको सामान्य अवस्थामा उडान गर्ने वायुसेवाको संख्या अनुसार नै नयाँ तालिका पाइने भएको छ। १५ असोजदेखि भने माग र आवश्यकताको आधारमा थप तालिका स्वीकृत गराउन सक्ने जानकारी प्राधिकरणले दिएको छ।
यस्तो तालिका अनुसार बन्दाबन्दी अगाडि दैनिक १ घण्टामा ४ वटा उडान गरेको वायुसेवाले अब भने घण्टामा एउटा मात्रै उडान गर्न पाउने छ।
कोभिडको जोखिम न्यूनिकरण गर्न सरकाले ११ चैतदेखि बन्द गरेको आन्तरिक वायुसेवा ६ महीनापछि पुनः सुचारु हुँदैछन्।
कोभिडको जोखिम न्यूनिकरण गर्न सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक वायुसेवा ६ महीनापछि पुनः सञ्चालन हुँदैछन्। उडान सञ्चालन गर्दा ५० प्रतिशतको सीमा हटाएकोले यात्रुले बढी भाडा तिर्नु नपर्ने र बन्दाबन्दी अगाडि भएको सामान्य भाडादरमा नै यात्रुले सेवा पाउने वायुसेवा सञ्चालक संघको भनाइ छ।
संघका अनुसार सरकारले तोकेको न्यूनतम र अधिकतम सीमाभित्रै रहेर सबै वायुसेवाले नियमित उडान शुरु गर्ने भएका छन्। यसरी उडान गर्दा यात्रु कम वा बढी जे भएपनि भाडा भने बढ्ने छैन।
महामारीको समस्यामा परेका नेपालीलाई भाडा बढाउन वायुसेवाहरू तयार नभएकाे र बजारले प्रतिस्पर्धाकाे आधारमै भाडा तय गर्ने गरी उडान हुने कार्कीले बताए।