असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्ने बताएका छन्। असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको उल्लेख गर्दै उनले असन्तुष्टिलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्ने बताएका हुन्।
“सहिष्णु भएर सबै समस्यालाई सुन्ने, व्यवस्थापिकामा लगेर खुला रूपमा छलफल गर्ने र त्यसको समाधान खोज्ने हो। लोकतन्त्रको विधिमार्फत् सबै विवाद मिल्दै जाने अपेक्षा गरेको छु”, राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा डा. यादवले भनेका छन्।
उनले कार्यान्वयनको चरणमा २०७२ मा जारी संविधान आफ्नो ‘लिक’मा नै रहेको बताएका छन्। संविधान जारीपछि तीन तहका निर्वाचन भएर अहिले तीनै तहका सरकारले आ-आफ्ना स्थानबाट काम गरिरहेका उल्लेख गर्दै यादवले देश र समाज उन्नति पथमा लम्कियोस् भन्ने कामना गरेका छन्।
“यो संविधानका प्रावधान कार्यान्वयन गर्दै जाने जिम्मेवारी राजनीतिक दल र जनप्रनिधिहरूको हो। लोकतन्त्रका अवयवहरू विधिविधानअनुसार चलेमा अवश्य पनि जनताको आकांक्षा पूरा हुनेछन्”, पूर्वराष्ट्रपति यादवले भने, “तर, लोकतन्त्रको बाटो अभ्यास गर्दै जाँदा लामो समय लाग्दो रहेछ। जनप्रतिनिधिले इमान्दारीपूर्वक जनताको सेवक भएर आफूलाई समर्पण गरे लोकतान्त्रिक पद्धति अगाडि बढ्छ। मेरो आग्रह छ, संविधान र कानूनअनुसार शासन सञ्चालन होस्। यो विषयलाई जनप्रतिनिधिले मनन् गरेन भने लोकतन्त्र मात्र लोकतन्त्रको नाममा सीमित रहन पुग्छ।”
जनप्रतिनिधिले संविधानले निर्दिष्ट गरेको प्रणालीलाई अघि बढाउँदै गए विकृतिहरु क्रमशः हट्दै जाने यादव बताउँछन्। संविधानको भावनाअनुसार लोकतन्त्रलाई जनप्रतिनिधिले आत्मसात गर्दै लग्यो भने कहीँ कतै त्रुटि भएको छ भने पनि सुधार हुँदै जाने उनको भनाइ छ।