भोटखोला गाउँपालिकामा आगजनी, सम्पूर्ण कागजात नष्ट
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अज्ञात समूहले गरेको आगजनी गरेको छ ।
रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् ।
कार्यालयमा रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि स्थानीयले आफ्नो गाउँपालिकामा आगजनी भएको थाहा पाएका थिए ।
सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ ।
काम विशेषले सदरमुकाम आएका गाउँपालिकाका अध्यक्ष पेम्बा भोटे गाउँपालिकामा आगजनी भएको थाहा भएपति रातारात त्यसतर्फ लागेका छन्।
आगलागी कसरी भएको हो भन्ने विषय पत्ता लाग्न नसकेको र अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।
घटनाको बारेमा बुझ्न काठमाडौंबाट सरकारी अधिकारीहरुको टोली घटनास्थलमा जाने प्रयास भइरहेको भएपनि मौसमको खराबीका कारण हालसम्म हेलिकप्टर जान सकेको छैन ।
घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको समेत प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।