कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो
नेपालमा पछिल्लो २४ घण्टायता थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।
मृत्यु हुनेमा काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला रहेका छन्। त्यस्तै ललितपुरकी ६६ वर्षीया महिला रहेकी छन्। यससँगै भक्तपुरका ८२ वर्षीय, मोरङका ६६ वर्षीय र ६६ वर्षीय तथा नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ। एकैदिन थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१५९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७३८३ जना कोरोनाका सक्रिय संक्रमित छन्। त्यसमध्ये ९२९५ जना संस्थागत र ८०८८ जना होम आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१ जना निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४३८२० पुगेको मन्त्रालयले जनाएको छ।
हाल क्वारेन्टिनमा ७७३६ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण गरिएको छ।