रासायनिक मल कारखाना स्थापनाको काम तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन
संसदीय समितिले तत्काल नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।कृषकहरूले बाली लगाउने समयमा रासायनिक मल नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधानतर्फ मन्त्रालयलाई गम्भीर हुन समितिले निर्देशन दिएको हो।
जीविकोपाजर्नको आधार र कुल गार्हस्थ उत्पादनमा प्रमुख योगदान पुर्याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगरी आवश्यक प्रकृया अगाडी बढाउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको हो।
समितिले आज छलफलपछि नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रकृयामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव नहुने कुरामा सजग हुन पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति पूर्णकुमारी सुवेदीले बताइन्।
समितिले कृषकहरूलाई समयमै मल उपलब्ध गराउने आवश्यक व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा आयात गरिएको रासायनिक मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिएको छ।
अहिले देशभरीमा ५० प्रतिशत कृषकले मात्रै सरकारी अनुदान प्राप्त गरेको भन्दै समितिले मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरूलाई रासायनिक मल अनुदानमा दिनका लागि तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था मिलाउन पनि निर्देशन दिएको समिति सभापति सुवेदीले बताइन्।
समितिले मल क्षेत्रसँग सम्बिन्धित समस्या सामधानका लागि मन्त्रालयले बनाएका अल्पकालीन र दीर्घकालीन योजनाहरू अविलम्ब समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ।