लगानी सम्मेलन : दीर्घकालीन विकासको प्रस्थानविन्दु
लामो राजनीतिक संक्रमणपछि आर्थिक समृद्धिमा केन्द्रित भएको नेपालमा दीर्घकालीन विकासको जग बसाउन लगानी सम्मेलन प्रस्थानविन्दु बन्न सक्नेमा धेरैको विश्वास बढेको छ।
“यो हल र बाहिर पनि खचाखच भरिएको उपस्थितिले नेपाल अब नयाँ मुलुक बनेकोमा सबैको विश्वास बढेको छनक मिल्छ”, विश्व ब्याङ्कका दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टवीग स्याफरले १५ चैतमा आयोजित नेपाल लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भने ।
रेमिटेन्समा आधारित अर्थतन्त्र विस्तारै लगानी प्रवद्र्धनमा रूपान्तरण हुँदै ‘नयाँ नेपाल’ बन्ने लयमा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उनकै शब्दमा आफ्नो ‘महत्वाकांक्षी सोच’ कार्यान्वयनका लागि विदेशी लगानीकर्तालाई नेपालमा स्वागत गरेपछि स्याफरले यस्तो बताएका हुन् ।
सम्मेलनमा विश्वका ठूला बहुराष्ट्रिय कम्पनीको सहभागिता कम भए पनि मध्यमस्तरका लगानीकर्ताको उपस्थिति बाक्लो देखिएको छ । ६०० भन्दा बढी विदेशी र त्यही हाराहारीमा स्वदेशी लगानीकर्ताबीच अर्थमन्त्री डा.युवराज खतिवडाले भने, “आन्तरिक र बाह्य लगानीकर्ताबीचको नेटवर्किङ बनाउने सम्मेलनको मुख्य उद्देश्य हो ।”
दुईदिने सम्मेलनमा सरकार र प्रतिपक्ष दुवैले सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति हुने प्रतिबद्धता मात्रै जनाएनन्, संयुक्त रूपमा विदेशी लगानीकर्तालाई आह्वान समेत गरे । लगानीकर्ताहरूको उत्साह पनि कम थिएन । “खासगरी चिनियाँ लगानीकर्ताहरू बढी उत्साही र लगानी भिœयाउन तयार छन्”, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भन्छन् ।
के लगानी सम्मेलन नेपालको दीर्घकालीन विकासको प्रस्थानविन्दु हुनसक्ला ? सम्मेलनमा सहभागी धेरै स्वदेशी र विदेशी लगानीकर्ताले यसलाई सकारात्मक रूपमा लिएका छन् । “यसले विश्वबजारमा नेपाल पनि लगानीको गन्तव्य हो भन्ने सन्देश दिएको छ” नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा भन्छन्, “आफ्नो बजारको ब्रान्डिङ गर्न थाल्नु दीर्घकालीन हितमा हुन्छ ।” एउटै सम्मेलनबाट अर्थतन्त्रकै कायापलट गर्ने लगानी आउन असम्भव भए पनि यसले विकासको जग बसाउन मद्दत गर्ने उनी बताउँछन् ।
एशियाली विकास ब्याङ्कका उपाध्यक्ष शिजिन चेनले पछिल्ला केही वर्षमा नेपालले ‘ऐतिहासिक परिवर्तन’ आत्मसात् गरेको बताए । उनले मुख्य रूपमा नेपालले ऊर्जा र यातायात पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने बताए । “यसका लागि लगानीको वातावरण बनाउन गरेको प्रयास स्वागतयोग्य छ”, उनले भने ।
केही स्वदेशी उद्यमीहरू चाहिं लगानी सम्मेलनले लगानीकर्तालाई हेर्ने आम धारणा बदल्न सहयोग पुग्ने बताउँछन् । “हामीकहाँ अझ्ैसम्म पनि व्यवसायी भनेका फटाहा हुन्, नाफा लिनु पाप हो भन्ने जस्ता मानसिकता छ” एक व्यवसायी भन्छन्, “यस्तो धारणा रहुन्जेल व्यापक लगानी विस्तार हुने संभावना रहन्न ।” तर, यस्ता सम्मेलनबाट सरकार लगानी भित्र्याउन प्रतिबद्ध भएको सन्देश जाने र जनधारणा पनि त्यसै अनुसार विकास हुने उनको ठम्याइ छ ।
“नेपाल विदेशी लगानीका लागि विश्वकै सर्वाधिक लचिलो मध्येको मुलुक हो। हामी लगानी सुरक्षाका लागि संविधानमा भएका प्रावधान समेत सुधार गर्न लचक छौं।”
महासंघका पूर्वअध्यक्ष मुरारका पनि राजनीतिक नेतृत्वले लगानीकर्तालाई आमन्त्रण गर्न थाल्दा सकारात्मक सन्देश जाने बताउँछन् । “तुरुन्तै कति लगानी आउँछ भन्ने कुरामा मात्रै लगानी सम्मेलनको सफलता मापन हुन सक्दैन” उनी भन्छन्, “यसले मुलुकभित्र लगानीको वातावरण बनाउन र बाह्य बजारमा देशलाई लगानी गन्तव्यको रूपमा चिनाउन सघाउँछ ।”
सरकारले सम्मेलन मार्फत विदेशी लगानीकर्ताहरूलाई कृषि, पर्यटन, उद्योग र पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गरेको छ । यसका लागि नीतिगत सुधार गरिएको, लगानीको प्रक्रियागत सहजीकरण गरिएको र जग्गाप्राप्ति जस्ता कुरामा समन्वय गर्न तत्पर रहेको बताइएको छ ।
सरकारी आह्वान
सम्मेलनमा प्रधानमन्त्री ओलीले नयाँ संविधान अनुसार परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गरिसकेको र राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै अब सरकारको ध्यान आर्थिक समृद्धिमा केन्द्रित भएको बताए । राजनीतिक स्थायित्व मात्रै नभई अहिले नेपालमा नीतिगत स्थिरता र कानूनी तथा प्रशासनिक सुधार भएको उनले जिकिर गरे । निजी क्षेत्रमा ‘फ्री एण्ड फेयर कम्पिटिशन’ प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
विदेशी लगानीकर्तालाई नाफा सुनिश्चित गरिएको तथा प्रतिफल र लगानी फिर्ता लैजान कानूनी ग्यारेन्टी गरिएको प्रम ओलीले बताए । उद्यमी र मजदूरबीचको सम्बन्धमा सुधार ल्याउन विश्वकै उत्कृष्ट अभ्यासबाट सिक्दै सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए । “नेपाल विदेशी लगानीका लागि विश्वकै सर्वाधिक लचिलो मध्येको एक मुलुक हो” उनले भने, “हामी लगानी सुरक्षाका लागि संविधानमा भएका प्रावधान समेत सुधार्न लचक छौं ।”
अर्थमन्त्री डा.खतिवडाले नेपालले अहिले उच्च आर्थिक वृद्धिका लागि आवश्यक परिस्थिति तयार गरिसकेको भन्दै सहयोग गर्न लगानीकर्ताहरूलाई आग्रह गरे । “हामीले उत्कृष्ट आर्थिक सूचकहरू कायम राखेका छौं” उनले भने, “हामीसँग पारदर्शी र पूर्वानुमानयोग्य कर प्रणाली, प्रतिस्पर्धी दरको कर्पोरेट कर, उदार विदेशी विनिमय व्यवस्था छ ।”
“नेपालको जनशक्ति, जलविद्युतकाे अपार संभावना, जैविक विविधता र विश्वमै तीव्रगतिमा विस्तार भइरहेका ठूला अर्थतन्त्रको विशाल छिमेकी बजारबाट लगानीकर्ताहरूले भरपूर फाइदा उठाउन सक्छन्।”
तर, नेपालसँग अहिले भएको आन्तरिक वित्तीय स्रोत, उपलब्ध प्रविधि र बजार उच्च आर्थिक विकासको लक्ष्य पूरा गर्न पर्याप्त नभएकाले विदेशी लगानी भित्र्याएर नेपालमा औद्योगीकरण, आधुनिक पूर्वाधारको विकास, रोजगारी सृजना, निर्यात वृद्धि र आयात प्रतिस्थापन गर्दै इनोभेसन र प्रविधिको आधुनिकीकरणमा योगदान गर्न चाहेको उनले सम्मेलनमा सम्बोधनका क्रममा उल्लेख गरे । “हामीले ‘सोभरेन क्रेडिट रेटिङ’ को काम अघि बढाइसकेका छौं, जसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी सम्बन्धी निर्णय लिन थप सजिलो पार्नेछ”, उनले भने ।
संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आफूले आर्थिक उदारीकरण मार्फत निजी क्षेत्रको प्रवद्र्धन गर्दै आएको बताएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले पछिल्लो दशक न्यून आर्थिक वृद्धिका बावजूद मानव विकासमा ठूलो प्रगति गरेर नेपालले विश्वसामु ‘युनिक केस स्टडी’ प्रस्तुत गरेको बताए । “स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र गरीबी निवारणमा उल्लेख्य उपलब्धि हात पारेको नेपाल अब बृहत्तर लगानी मार्फत आर्थिक विकासमा फड्को मार्न चाहन्छ” उनले भने, “यसका लागि संसारभरका लगानीकर्तालाई नेपालमा व्यवसाय विस्तार गर्न हामी आह्वान गर्छौं ।”
डा.महतले मिहिनेती र अनुशासित जनशक्ति, जलविद्युत्को अपार संभावना, जैविक विविधता र विश्वमै तीव्रगतिमा विस्तार भइरहेका ठूला अर्थतन्त्रको विशाल छिमेकी बजारलाई नेपालको ‘तुलनात्मक लाभ’ मानेका छन् । यस्तो सामथ्र्यलाई आर्थिक विकासमा रूपान्तर गर्न उत्पादकत्व बढाउने, बहुमूल्य वस्तु उत्पादन गर्ने र बाह्य बजारमा पहुँच स्थापित गर्ने अहिलेको चुनौती रहेको उनले औंल्याए ।
सरकार र प्रतिपक्ष दलले लगानीकर्तालाई पर्याप्त संभावना रहेको देखाउँदै लगानीका लागि आह्वान गरे पनि केही व्यवसायीहरू भने सरकारी प्रतिबद्धताप्रति सन्देह बाँकी नै रहेको बताउँछन् । “हामीकहाँ प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने परिपाटी छ” एक उद्यमी भन्छन्, “अहिले व्यक्त गरिएका प्रतिबद्धताको पनि कार्यान्वयन हुन्छ भन्नेमा लगानीकर्ताहरू कसरी आश्वस्त हुने ?” पहिलेदेखि नै लगानी गरिरहेका लगानीकर्तालाई सम्मेलनले हौस्याए पनि नयाँ लगानीकर्ता भित्र्याउन सरकारी अधिकारीहरूले पुरानो कार्यशैली बदल्नुपर्ने उनी सुझउँछन् ।