बाबुराम भन्छन्- आन्दोलन विरुद्ध उभिएको व्यक्तिबाट परिवर्तनको आशा नगरौं
जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको अहंकार कारण राज्यले सही र आवश्यक नीति लिन नसकेको आरोप लगाएका छन्।
सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गर्दै भट्टाराईले विगतका धेरै आन्दोलन विरुद्ध उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न नसकिने टिप्पणी गरे।
कोरोना महामारीको विषयमा बोल्दै उनले यो सबैभन्दा ठूलो त्रासदिको रुपमा आएको र यस्तो बेलामा जीव विज्ञान र भौतिक विज्ञानको खास नियमले काम गरेका हुन्छन् भन्ने बुझेर नीति बनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए।
"यसको असर सामाजिक र आर्थिक क्षेत्रमा पर्छ भन्ने बुझेर राज्यले शुरुदेखि त्यही अनुसारको नीति अपनाउनु पर्ने भएपनि राजनीतिक नेतृत्व खासगरी प्रधानमन्त्रीमा जुन प्रकारको अहंकार र अज्ञानताले गर्दा उहाँले यसको गम्भिरतालाई बुझ्न सक्नुभएको छैन्", उनले भने, "उहाँले आफ्नो महानता, बडोपन देखाउनलाई नचाहेको जस्तो गरेर अन्यत्र मोडिदिनुहुन्छ। त्यो कारणले गर्दा शुरुदेखि नै ठीक नीति बनेन।"
उनले अर्थतन्त्रका हिसाबले मुलुक गम्भीर अवस्थामा पुगेको भन्दै नेपालको अर्थतन्त्र १३ प्रतिशतले खुम्चिन्छ भनेर आकलन गरिएपनि त्यो भन्दा बढी खुम्चिएको दाबी गरे।