संविधानले देखाएको बाटोमा सरकार सचेत छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसारको स्थिरता कायम राख्नका लागि संविधान नै सक्षम रहेको बताएका छन्। उनले अस्थिरता निम्त्याउन चाहने पुराना शक्तिको प्रयासलाई संविधानकै बलमा पराजित गरेको बताए।
संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माणको क्रममा जनसहभागितामा भएको संविधानका विषयवस्तुमाथिको छलफल नै मजबुत संविधानको आधार भएको उल्लेख गरे।
किताबमा द साउथ एशिया ट्रष्ट र काठमाडौं विश्वविद्यालय स्कुल अफ ल को संयुक्त आयोजनामा सन् २०१८ को अगस्ट ११–१३ मा काठमाडौंमा भएको ‘इन्टरनेसनल कन्फ्रेन्स अन दि कन्स्टिच्युसन अफ नेपाल–२०१५’ मा प्रस्तुत कार्यपत्र, टिप्पणी, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली तथा कांग्रेस नेता रामशरण महतले व्यक्त गरेका धारणालाई पनि समेटिएको छ। उक्त किताबको सम्पादन संविधानविद् विपिन अधिकारीले गरेका हुन्।
किताबको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नयाँ संविधानका विशेषता व्याख्या गर्दै सुरक्षित हुन पाउने अधिकार जनताको प्राथमिक अधिकार भएको र संविधानले त्यसलाई ग्यारेन्टी गरेको बताए।
कोही पनि व्यक्ति जन्मसिद्ध रूपमा श्रेष्ठ वा तल्लोस्तरको नहुने व्यवस्था भएको बताउँदै उनले संविधानले लोकतान्त्रिक व्यवस्थाका सबै गुणहरू बोकेको बताए। जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको संविधानले राष्ट्रको स्वाधीनता र भौगोलिक अखण्डता रक्षाका लागि पनि महत्वपूर्ण व्यवस्था गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।
सामाजिक न्याय र समावेशी व्यवस्थालाई उपलब्धिको रूपमा अर्थ्याउँदै प्रधानमन्त्री ओलीले संविधानले देखाएको उक्त बाटोमा सरकार सचेत भएको र लागिपरेको उल्लेख गरे। उनले संविधानको कार्यान्वयन गर्ने क्रममा प्रदेश र स्थानीय तहका चुनाव सम्पन्न भएका, त्यहाँ संस्थागत व्यवस्था गरिएको र कानून निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए।
संविधान कुनै असंशोधनीय दस्तावेज नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमा संशोधन पनि हुँदै जाने बताए। “संविधान कार्यान्वयन गर्दै जाँदा भोलि कतै अपूर्णता पनि देखिएला, त्यस्तो बेलामा औचित्यका आधारमा संशोधन गर्नुपर्ने हुनसक्छ। त्यसका लागि हामी खुला छौं र तयार पनि छौं,” उनले भने।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महतले संविधान ऐतिहासिक रूपले ‘युनिक’ रहेको बताए। “विश्वका अन्य देशको तुलनामा पनि हाम्रो संविधान युनिक छ, यसले संघीयता मात्रै होइन, पूर्ण विकेन्द्रीकरणसहितको संघीयतालाई अँगालेको छ,” उनले भने, “अबको मुख्य चुनौती भनेको संविधानको कार्यान्वयन गर्ने हो। संघीय तहमा मात्रै नभएर स्थानीय र प्रादेशिक तहमा पनि संस्थागत क्षमता बढाउनुपर्नेछ।”
काठमाडौं विश्वविद्यालय स्कूल अफ ल का संस्थापक डीन एवं पुस्तकका सम्पादक विपिन अधिकारीले आगामी दिनमा संविधानका मूल्य मान्यतालाई कार्यान्वयन गर्दै जानुपर्ने बताए। नेपालको संविधानलाई संसारको कान्छोमध्येको संविधानको रूपमा उल्लेख गर्दै अधिकारीले संविधानवादको तुलनात्मक अध्ययन र नयाँ संविधानको महत्वपूर्ण विषयवस्तुलाई किताबमा समेटिएको बताए।
कार्यक्रम सञ्चालक पत्रकार कनकमणि दीक्षितले संविधानको कार्यान्वयनका लागि यसको व्याख्या र विश्लेषण आवश्यक भएको बताउँदै पुस्तक प्रकाशन त्यसैको थालनी भएको उल्लेख गरे। संविधान नेपालमा बोलिने अन्य भाषाभाषीमा पनि अनुवाद हुनुपर्ने बताउँदै उनले संविधानको कार्यान्वयन गर्दै स्थायित्व दिनुपर्नेमा जोड दिएका थिए।