डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले पाँच दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले डा. केसीको अनशनलाई गम्भीर रूपमा मनन् गरि उनका जायज माग सम्बोधन र जीवन रक्षा गर्न माग गरेको हो।
संघले डा. केसीको अनशनमा सरकारले अहिलेसम्म कुनै चासो व्यक्त नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। डा. केसीले २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका-६ रानीचौरस्थित बाबिरा मष्ट मन्दिरमा १९औँ अनशन शुरू गरेका थिए।
“एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक–पटक सत्याग्रह गर्नु परेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरूको अक्षरसः कार्यान्वयन नभएको भनी १९औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको व्यहोरा सबैमा विदितै छ,” संघका महासचिव डा. बद्रि रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।