नेकपा सचिवालय बैठक ४ गतेलाई सर्यो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अब आइतबार बिहान ११ बजे बस्नेछ।
बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि आज बिहान ११ बजेका लागि बैठक तय भएको थियो। आजको बैठक तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने भनिएको थियो।
सचिवालय बैठक अब आइतबार बिहान ११ बजे पेरिसडाँडामा नै बस्ने तय भएको प्रवक्ता श्रेष्ठले बताएका छन्। आउँदो चैतमा महाधिवेशन गर्ने र कात्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको नेकपामा एकताका केही काम बाँकी नै छन्।