अलैंचीको प्रशोधन मंसीरदेखि नेपालमै हुने, झापामा बन्यो प्रशोधन उद्योग
नेपालमा उत्पादित अलैंचीको ठूलो हिस्सा प्रशोधनविना नै निर्यात गर्नुपरिरहेका वेला अब भने यसको प्रशोधन स्वदेशमै गरिने भएको छ। झापाको अर्जुनधारामा रु. ३ करोड लागतमा प्रशोधन उद्योग निर्माण भएसँगै आउँदो मङ्सीरबाट प्रशोधन गर्न सकिने भएको हो।
उद्योगका सञ्चालक निर्मल भट्टराईले देशमा उत्पादित सबै अलैंची प्रशोधन गर्न एउटा उद्योगले मात्र सम्भव नहुने भन्दै शुरुआत मात्र गरेको बताए। यो उद्योगले उत्पादितमध्ये १५ प्रतिशत अलैंची प्रशोधन गर्न सकिने उनको भनाइ छ। उद्योगले अलैंचीलाई ठूलो, मझौला, सानो र सामान्य चार वर्गमा छुट्याएर खरीद गर्ने प्रावधान बनाएको उनले बताए।
उनका अनुसार, उद्योगको नमूना प्रशोधन समेत भइसकेको छ।
उद्योगले अलैंची प्रशोधन गरी विभिन्न रुपमा उत्पादन गर्ने योजना बनाएको छ। गुणस्तरीय अलैंचीलाई १००/१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने र अर्को प्रशोधन मार्फत ‘ड्रस’ बनाउने योजना रहेको भट्टराईले जानकारी दिए। यस्तै, अलैंचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउन सानो गेडालाई प्रशोधन गरेर स्वदेशी बजारमा ल्याउने सञ्चालक भट्टराईले बताए।
अहिलेसम्म अलैंचीलाई प्याकिङ नै नगरी बोरामा हालेर निर्यात गरिंदै आएको छ। यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैंचीको भाउ समेत राम्रो नपाउने समस्या आउने गर्छ। नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अपेक्षा छ।
उद्योग सञ्चालक भट्टराईले उद्योग अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बनाइएको बताए।
उद्योगले अहिले अलैंचीको मात्र प्रशोधन गर्ने र समय क्रममा माग र दक्ष जनशक्ति बढेमा अन्य वस्तुसँगै अलैंची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ।