२८ महीनापछि नेकपाले किन सम्झ्यो पेरिसडाँडा ?
नेकपाको शुक्रबार बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक पेरिसडाँडास्थित कार्यालयमा गर्ने निर्णयलाई नेकपाभित्र समेत सहज रूपमा लिइएको छैन।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दैछ। नेकपामा लामो समयदेखि चलिरहेको शक्ति संघर्ष नाटकीय रूपमा साम्य बनेपछि बस्न लागेको यो पहिलो औपचारिक बैठक हो।
तत्कालीन एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपामा एकता महाधिवेशन नहुँदासम्म आवश्यक निर्णय लिने अधिकारसहित नौ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको थियो। त्यसयता सचिवालयका सबैजसो बैठक बालुवाटारस्थित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्दै आएका छन्।
जम्माजम्मी दुई वटा सचिवालय बैठक चाहिँ धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा बसेका छन्। स्थायी कमिटीका केही बैठक र केन्द्रीय कमिटी बैठक भने धुम्बाराही कार्यालयमा बसेका थिए।
नेकपाले धुम्बाराहीस्थित तत्कालीन एमालेको मुख्यालयलाई नेकपाको केन्द्रीय कार्यालय र कोटेश्वर, पेरिसडाँडास्थित तत्कालीन माओवादीको मुख्यालयलाई नेकपाका जनसंगठनहरुको कार्यालय बनाउने निर्णय गरेको थियो। ३ जेठ २०७५ मा एकीकरण भएकै दिन गठन भएको नेकपा सचिवालयको शुक्रबार बोलाइएको बैठक पेरिसडाँडामा बस्दैछ।
नेकपा गठन भएको २८ महीनापछि पेरिसडाँडामा बस्न लागेको यो पहिलो बैठक हो।
पेरिसडाँडामा पहिलो बैठक गर्ने यो निर्णयले नेकपाको एउटा पंक्तिलाई तरंगित बनाएको छ, सँगै अर्को पंक्तिलाई अचम्मित पनि तुल्याएको छ। पूर्वमाओवादी समूहका नेता कार्यकर्ता यो निर्णयबाट तरंगित छन् भने पूर्वएमाले पंक्ति अचम्मित देखिएको छ। त्यसो भए पार्टी एकीकरण भएको २८ महीनापछि किन रोजियो पेरिसडाँडालाई बैठकस्थल ?
ओलीको मनोवैज्ञानिक सन्देश
बुधबार बालुवाटारमा भएको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलबाट शुक्रबारको सचिवालय बैठकका लागि पेरिसडाँडा छनोट भएको थियो।
नेकपाका सबैजसो बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्न नसक्नु र बालुवाटारस्थित प्रधानमन्त्री निवास नै नेकपाका बैठकस्थल बन्नुको एउटा प्रमुख कारण प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको स्वास्थ्य थियो। मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा पछिल्लो ६ वर्षयता नै समस्या देखिँदै आए पनि एक वर्ष अघिदेखि स्वास्थ्य थप जटिल बनेको थियो। प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाडेपछि उनले २०७६ असोजदेखि नियमित डायलासिस गर्न थाले, त्यसपछि फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरे।
चिकित्सकको सल्लाहअनुसार आराम धेरै गर्नुपर्ने, संक्रमणको डर हुने भएकाले धेरै भीडभाडमा जान नहुने भएपछि प्रधानमन्त्री ओलीका लागि पार्टी कार्यालयभन्दा निवासमै नेकपाका सबैजसो बैठक बसे। अहिले कोरोनाभाइरस संक्रमणको महामारी छ। काठमाडौं उपत्यका पछिल्लो समय कोरोना संक्रमणको केन्द्र बनेको छ। यो जोखिमको बेला पेरिसडाँडा नै किन रोजियो ?
पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन साउन अन्तिम साता गठित कार्यदलले दिएको सुझाव अनुसार नेकपाको पछिल्लो स्थायी कमिटी बैठकले अब पार्टीका बैठकहरु पार्टी कार्यालयमै गर्ने निर्णय गरेको थियो। स्थायी कमिटीको सोही बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीमाथि आइलागेको संकटमोचन गरेको थियो, खासगरी अर्का अध्यक्ष दाहालबाट उनलाई प्राप्त साथले।
“झट्ट हेर्दा पेरिसडाँडा पनि हाम्रै कार्यालय हो, त्यहाँ बैठक बस्दा के भो र भन्ने हुनसक्छ। तर, हाम्रो केन्द्रीय कार्यालय धुम्बाराही हो, पेरिसडाँडा जनसंगठनको कार्यालय मात्र हो”, नेकपाका एक स्थायी कमिटी सदस्यले भने, “अहिलेसम्म पार्टी कार्यालयमा बैठक नै नबस्ने गरेकाले बैठक पार्टी कार्यालयमै बस्नुपर्छ, तर धुम्बाराहीमा। पेरिसडाँडा रोज्ने निर्णयले राम्रो सन्देश दिँदैन।”
उनी अर्का अध्यक्ष दाहाल र पूर्वमाओवादी पंक्तिलाई रिझाउन प्रधानमन्त्री ओलीले यस्तो निर्णय गरेको बताउँछन्।
“हो, दाहाल कमरेडकै सहयोगले प्रधानमन्त्रीले पार्टीभित्र भोग्नुपरेको संकट पार लाग्यो”, उनले भने, “अब त्यसको गुण तिर्न उहाँलाई खुशी पार्नुपर्छ भन्ने पनि होला, तर यसले पार्टी सञ्चालनमा पर्ने असर बुझ्नुपर्छ।”
बैठकस्थल पेरिसडाँडा तोक्ने निर्णयबारे प्रश्न गरेका नेताहरूलाई ओली र दाहालले ‘धुम्बाराही गहिरोमा छ, हावा चल्दैन, पेरिसडाँडा अग्लो र खुल्ला ठाउँ भएकाले हावा पनि चल्छ’ भन्ने जवाफ दिएको नेकपा स्रोत बताउँछ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पेरिसडाँडामा बैठक बस्नु कुनै अनौठो नभएको, बरु यो स्वाभाविक रहेको हिमालखबरलाई बताए। उनले भने, “पहिलो पटक पेरिसडाँडामा किन भन्ने प्रश्न उठेको छ, आखिर जहिले बसेको भए पनि पहिलो पटक भन्ने कुरा त उठिहाल्थ्यो। त्यसकारण पेरिसडाँडा नै किन भन्ने प्रश्नको उत्तर छैन।”
१० असारमा शुरू भएको नेकपा स्थायी कमिटीको बैठक एक सातापछि अवरुद्ध भएर दुई महीनासम्म बस्न नसक्नुको कारण नेकपामा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीविरुद्ध कसेको मोर्चाबन्दी थियो। यो मोर्चाबन्दीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्ने दबाब ओलीमाथि परेको थियो। यो दबाबले नेकपालाई विभाजनकै संघारमा पुर्याएको थियो। तर दाहालको ‘यूटर्न’ले प्रधानमन्त्री ओलीलाई तत्कालका लागि त्यसबाट त्राण मिलेको छ।
दाहालले पनि अब पार्टीको कार्यकारी अध्यक्षका रूपमा पार्टीका सबै गतिविधिको नेतृत्व गर्ने निर्णय नेकपाले गरेको छ। त्यहीअनुसार पूर्वमाओवादीको कार्यालयमा पार्टीको बैठक राख्न उनको विशेष रूचि रहेको बुझ्न सकिन्छ। “पछिल्लो समय दाहालसँग मिलेर मोर्चाबन्दी गर्दा ओली कमरेडहरूले माधवकुमार नेपाल माओवादीको पछि लाग्यो, पार्टीको माओवादीकरण नै गर्ने भयो भन्ने खुबै टिप्पणी गर्नुहुन्थ्यो”, नेपालनिकट एक नेताले भने, “अरुले गठबन्धन गर्दा माओवादीकरण हुने, उहाँले चाहिँ जे गर्दा पनि केही नहुने रहेछ?”
बैठक पेरिसडाँडामा बस्ने भए पनि प्रधानमन्त्री ओली सहभागी हुने वा नहुने भने टुंगो छैन। स्वास्थ्यका कारण बालुवाटारमै बस्ने बैठकमा समेत कैयौं पटक सहभागी नभएका प्रधानमन्त्री ओलीका लागि अब झन् सजिलो छ। किनभने बैठकको अध्यक्षता गर्ने पूर्ण कार्यकारी अधिकार दाहालले नै पाएका छन्।