बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने
बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरूको पुनर्स्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो।
मनसुन शुरू भएपछि नेपालमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक, कालीकोट, बागलुङ लगायतका जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने विषयमा आज छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।
भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दीगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, शहरी विकास मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत तीन वटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो।