काठमाडौं महानगरका यी ठाउँमा देखिए धेरै कोरोना संक्रमित, तरकारी बजारमा संक्रमण उच्च
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार २४६ कोरोना संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।
मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनुसार मुलुकमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा सबैभन्दा धेरै, ५०७ जना संक्रमित थपिएका छन्। प्रदेश अनुसारको तथ्यांक हेर्ने हो भने काठमाडौं जिल्ला भएको बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै सक्रिय संक्रमित छन्।
स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ हजार ७४१ पुगेको छ। मुलुकमा पछिल्लो समय सक्रिय संक्रमित बढिरहेको र त्यसमध्ये पनि काठमाडौंमा यो संख्या बढ्दो रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ।
बिहीबार मात्र ५०७ जना संक्रमित थपिएको काठमाडौं जिल्लामा बुधवार ६५२ जनामा कोरोना पोजिटिभ देखिएको थियो। अर्थात् दुई दिनमा काठमाडौंमा एक हजार १५९ संक्रमित थपिए। स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले पछिल्ला दिनहरूको तथ्यांक अनुसार काठमाडौंको न्यूरोड, असन, कुलेश्वर र कालीमाटीमा अन्य क्षेत्रको तुलनामा एकैपटक धेरै संक्रमति भेटिएको बताए।
काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार वडा नम्बर १५ मा सबैभन्दा धेरै सक्रिय संक्रमित छन्। महानगरले १ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडाैं–१५ मा ४५१ जना सक्रिय संक्रमित छन्। यहाँ नेपाली सेना र सशस्त्र प्रहरी बस्ने स्वयम्भूलगायत त्यस वरपरको क्षेत्र पर्दछ।
काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवर त्यस क्षेत्रमा सेना र सशस्त्र प्रहरीका कर्मचारीलाई बढी संक्रमण देखिएको बताउँछन्। यसपछि वडा–११ मा २९३, वडा–२८ मा २६२ र वडा–१६ मा २४० जना सक्रिय संक्रमित छन्।
सेना बढी बस्ने वडा–११ थापाथली लगायतको क्षेत्र र वडा–२८ मा बागबजार लगायतको क्षेत्र पर्छ। बागबजारको तरकारी बजारमा धेरै संक्रमित भेटिएको महानगरका स्वास्थ्य विभाग प्रमुख कुँवर बताउँछन्। यस्तै, बालाजु क्षेत्र पर्ने वडा–१६ को तरकारी बजार र बसपार्क क्षेत्रमा धेरै संक्रमित छन्।
यसरी काठमाडौं महानगरका चार वटा वडामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको देखिएको छ। यस्तै १०० भन्दा बढी र २०० भन्दा कम सक्रिय संक्रमित रहेका वडाहरूको संख्या ६ छ। काठमाडौं महानगर–३२ अर्थात कोटेश्वर र जडिबुटी लगायतको क्षेत्रमा १२२, वडा–२७ मा १८८, वडा–१३ मा १५२, वडा–९ मा १२३, वडा–७ मा १४५ र वडा ३ मा १७८ जना सक्रिय संक्रमित छन्।
काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख कुँवर मानिसहरूको भीडभाड हुने बजार क्षेत्र, कलकारखना बढी भएको ठाउँ र सेना, प्रहरी तथा स्वास्थ्कर्मी रहेको ठाउँमा धेरै जनामा संक्रमण देखिएको बताउँछन्।
“कट्याक्ट ट्रेसिङ् बढेकाले धेरै संक्रमितहरू फेला पर्न थालेका छन्,” उनी भन्छन्, “तर, मुख्य रूपमा स्थानीयहरूले भौतिक दूरी कायम नगर्ने, मास्क नलगाउने जस्ता कारणले काठमाडौंमा कोरोना संक्रमित बढेको देखिन्छ।”