महामारीमा चुपचाप फरक काम गरिरहेको गाउँपालिका: टोल शिक्षादेखि विपन्नलाई रोजगारीसम्म
गुल्मीको धुर्कोट गाउँपालिकाले कोरोना संक्रमण महामारी विरुद्ध जुध्न क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै बालबालिकाको शिक्षामा निरन्तरता दिएको छ भने विपन्नलाई रोजगारी मार्फत राहत दिंदै कृषिलाई प्राथमिकतामा राखेको छ।
कोरोनाभाइरस संक्रमण महामारीपछि गुल्मीको धुर्कोट गाउँपालिकास्थित पाञ्चायन माविका शिक्षक ऋषिराम पाण्डेयको दैनिकी फेरिएको छ। पहिले विद्यालयमा १० देखि ४ बजेसम्म पढाउने उनी अचेल टोलटोलमा पुग्छन्। अर्थशास्त्र र सामाजिक विषयका शिक्षक उनी दैनिक दुईदेखि तीन वटा टोलमा पुगेर पढाउँछन्।
गाउँपालिकाले १ असारदेखि वैकल्पिक शिक्षाको रुपमा टोल कक्षा सञ्चालन गर्न थालेपछि उनको फरक दिनचर्या शुरू भएको हो। टोल शिक्षा अन्तर्गत विद्यार्थी तोकिएको खुला ठाउँमा जम्मा भई व्यक्तिगत दूरी कायम गरेर बस्छन्, शिक्षकहरु त्यहाँ पुगेर पढाउँछन्।
टोल शिक्षाको लागि उच्च माध्यमिक विद्यालयका शिक्षकको संयोजकत्वमा शिक्षकहरुको समूह बनाइएको छ। कुन टोलमा को–को शिक्षक जाने भनेर तालिका नै तयार पारिएको छ। साविकको गाविसको वडालाई एउटा टोल मानिएको छ। त्यस आसपासका विद्यार्थी एक ठाउँमा भेला हुन्छन् र शिक्षकहरु पढाउन त्यहीं पुग्छन्।
शिक्षा मन्त्रालयले १ असारदेखि वैकल्पिक शिक्षा सञ्चालन गर्न कार्यविधि बनाए पनि धेरै ठाउँमा शुरु भएन भने कतिपय ठाउँमा शुरू भएर निरन्तरता पाएन। धुर्कोट गाउँपालिकाले भने पाठ्यक्रम अनुसार नियमित पढाउँदै पहिलो त्रैमासिक परीक्षा समेत लिइसकेको छ।
गाउँपालिकाका ७ वटा वडामा ४८ वटा विद्यालय र करीब ६ हजार विद्यार्थी छन्। गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अनुभवमा, कोरोना जोखिम र त्रासका बीच यी विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि टोलटोलमा जम्मा गर्न कम कठिन भएन। अभिभावक र विद्यार्थीमा रहेको त्रास चिरेर मानसिक रुपमा तयार पार्नु, खुला ठाउँमा वर्षाले बिथोल्नु, विभिन्न कक्षाका विद्यार्थीलाई एकै ठाउँमा पठनपाठन गर्नु जस्ता चुनौती आइपरेको उनी बताउँछन्। “तर, जनप्रतिनिधि, शिक्षकहरुले घरदैलो कार्यक्रम गरेर विश्वस्त पार्ने र ठाउँठाउँमा अभिभावक भेला गरेपछि टोल शिक्षा शुरु गर्ने वातावरण बन्योे”, पोखरेल भन्छन्।
गाउँपालिकाका अनुसार, वैकल्पिक शिक्षा शुरु गर्ने भएपछि पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याइएको थियो। त्यसपछि विद्यार्थी भर्ना समेत भयो। परम्परागत रूपमा विद्यार्थीलाई कक्षामा राखेर पढाउने बाहेक सबै काम भइरहेको छ। शिक्षक पाण्डेय भन्छन्, “शैक्षिक सत्रमा फरक नपार्ने गरी पाठ्यक्रम अनुसार पठनपाठन भइरहेको छ।”
टोल शिक्षाको लागि शिक्षकहरुको समूह बनाइएको छ। कुन टोलमा को–को शिक्षक जाने भनेर तालिका नै तयार पारिएको छ। साविकको गाविसको वडालाई एउटा टोल मानिएको छ। त्यस आसपासका विद्यार्थी एक ठाउँमा भेला हुन्छन् र शिक्षकहरु पढाउन त्यहीं पुग्छन्।
एउटा टोलमा कुन–कुन कक्षामा पढ्ने कति जना विद्यार्थी छन्, त्यसै अनुसार विद्यार्थी र विषयगत शिक्षकहरुको सूची तयार पारिएको छ। विषयगत शिक्षकहरूले विभिन्न टोलमा गएर पढाउने आलोपालो प्रणाली बनाइएको छ। जस्तै, गणित शिक्षकले बिहान १० बजे एक ठाउँमा पढाउँछन् र त्यसपछि अर्को टोलमा पुग्छन्। एक शिक्षकले दिनमा दुई वा तीन वटा कक्षा लिने कार्यतालिका बनाइएको छ।
टोल शिक्षाको सम्पूर्ण व्यवस्थापन सम्बन्धित वडा शिक्षा समितिले गर्दै आएको छ।
गाउँपालिकाका ७ वटा वडामा ४८ वटा विद्यालय र करीब ६ हजार विद्यार्थी छन्। गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अनुभवमा, कोरोना जोखिम र त्रासका बीच यी विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि टोलटोलमा जम्मा गर्न कम कठिन भएन। अभिभावक र विद्यार्थीमा रहेको त्रास चिरेर मानसिक रुपमा तयार पार्नु, खुला ठाउँमा वर्षाले बिथोल्नु, विभिन्न कक्षाका विद्यार्थीलाई एकै ठाउँमा पठनपाठन गर्नु जस्ता चुनौती आइपरेको उनी बताउँछन्।
टोलमा प्रत्यक्ष गएर पढाउनेसँगै रेडियो र टेलिभिजनबाट प्रसारण हुने कक्षाबाट लाभ लिने व्यवस्था पनि गरिएको छ। जसका लागि रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका पाठ्यक्रममा आधारित कक्षाहरूको तालिका अभिभावक र विद्यार्थीलाई दिइएको छ। रेडियो नहुने घरका विद्यार्थीलाई छरछिमेकको घरमा बसेर सुन्न शिक्षकहरूले समन्वय गर्छन्।
शिक्षक पाण्डेयले सरकारले संक्रमित शून्य भएका स्थानीय तहमा कक्षाकोठामै पढाउने योजना बनाए अनुसार आफूहरू तयार अवस्थामा रहेको बताए। उनले भने, “क्वारेन्टिनमा बस्ने कम हुँदै गएपछि विद्यालयलाई सरसफाइ र स्यानिटाइज गरेर खतरामुक्त बनाइसकिएको छ।”
धुर्कोट गाउँपालिकामा असार मसान्तसम्म ४० जनामा कोरोना संक्रमण देखिएकोमा सबैलाई निको भइसकेको छ। साउनयता भने गाउँपालिका संक्रमणमुक्त छ। गाउँपालिका अध्यक्ष पोखरेल पनि संक्रमित भएका थिए। संक्रमितबाट अन्यलाई सर्न नपाएकै कारण गाउँपालिका संक्रमणमुक्त राख्न सकिएको पोखरेल बताउँछन्। अहिले ५० जना जति क्वारेन्टिनमा हुने गरेका छन्, उनीहरूलाई पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट देखिएपछि घर पठाउने गरिएको छ।
अध्यक्ष पोखरेल भन्छन्, “सधैं बन्द गरेर बस्न संभव नहुने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका अपनाउँदै गाउँपालिका पूर्ववत् अवस्थामा फर्कंदैछ।”
खाद्यान्नका लागि रोजगारी र कृषिमा प्राथमिकता
बन्दाबन्दीका वेला अरु स्थानीय तहले जस्तै धुर्कोट गाउँपालिकाले पनि कमाउने बाटो ठप्प भएका र विपन्नलाई राहत दिने नीति अपनाएर राहत वितरण गरेको थियो। तर, निरन्तरको बन्दमा राहत बाँडेर धान्न सक्ने नदेखिएपछि विकल्प खोज्नु जरुरी भयो। जस क्रममा विकास–निर्माणको कामबाट खाद्यान्नका लागि रोजगारी कार्यक्रम शुरू गरेको गाउँपालिका अध्यक्ष पोखरेल बताउँछन्।
यस क्रममा गाउँपालिका कार्यालयसम्म पुग्ने बाटो, वडा नम्बर ५ मा ठाकुर डाँडा–रानाचौर जोड्ने झोलुंगे पुल निर्माण लगायत विकासको काम गरिएको गाउँपालिकाले जनाएको छ। खाद्यान्नका लागि रोजगारी कार्यक्रम अन्तर्गत गाउँपालिकाका ७ वटा वडामध्ये हरेक वडाबाट कम्तीमा २०० जनालाई सहभागी गराइएको गाउँपालिकाका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिए।
गाउँपालिकाले कृषिलाई रोजगारीसँग जोडेर विभिन्न कार्यक्रम पनि गर्दै आएको छ। ‘बारी बाँझो बनाएर बेरोजगार नबनौं, मुला लगाउने समय भएकाले बारी खाली भएमा मुला सबैकोमा फल्छ’, गाउँपालिका अध्यक्ष पोखरेलले २८ भदौमा लेखेको फेसबूक स्टाटस हो यो। अध्यक्षले मूला फलाउन आग्रह यत्तिकै गरेका हैनन्। स्थानीयलाई कृषि उत्पादनमा प्रोत्साहित गर्न गाउँपालिका आफैंले बजारीकरणमा सहयोग गर्ने गरेको छ।
स्थानीयले उत्पादन गरेका गुन्द्रुक, मूलाको सिन्की तथा मकै, गहुँ, भटमास लगायत जुनसुकै उत्पादन गाउँपालिकाले किन्दिने गरेको छ। त्यसरी किनेको सामान बिक्रीका लागि गाउँपालिकाले बुटवलस्थित ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता गरेको छ। कृषि उत्पादन खरीद गरेर बजारसम्म पुर्याउन गाउँपालिकाले पिकअप भ्यान समेत किनेको छ।
स्थानीयले उत्पादन गरेका गुन्द्रुक, मूलाको सिन्की तथा मकै, गहुँ, भटमास लगायत जुनसुकै उत्पादन गाउँपालिकाले किन्दिने गरेको छ। ती सामान बिक्रीका लागि गाउँपालिकाले बुटवलस्थित ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता गरेको छ। कृषि उत्पादन खरीद गरेर बजारसम्म पुर्याउन गाउँपालिकाले पिकअप भ्यान समेत किनेको छ।
गाउँपालिका अध्यक्ष पोखरेल भन्छन्, “जग्गा र बारी बाँझो राखेर बेरोजगार भएँ भन्न मिल्दैन, त्यसैले खाली बारीमा मूला लगाऔं भनेर सूचना पनि जारी गरेका छौं।”
कोरोना संक्रमण महामारीकै कारण भारतबाट रोजगारी गुमाएर करीब एक हजार जना यो गाउँपालिकामा फर्किएका थिए। गाउँपालिकाले त्यतिवेलै सूचना जारी गरेर बाँझो जग्गामा तरकारी, खेतीपाती गर्नेलाई अनुदान दिने नीति लिएको थियो। त्यस अनुसार अहिले अधिकांश व्यक्ति कुनै न कुनै आयआर्जनको काममा लागिसकेको गाउँपालिकाले जनाएको छ।
महिला सशक्तिकरणका लागि ‘टोल संरक्षण महिला मञ्च’
गाउँपालिकाले महिलाहरूलाई आयआर्जन र उद्यमशीलतामा लगाउँदै सशक्तिकरण गर्ने उद्देश्यले टोल संरक्षण महिला मञ्च पनि गठन गरेको छ। गाउँपालिकाभरि ७२ वटा यस्ता मञ्च छन्।
मञ्चमा आबद्ध सदस्य महिलाहरु विकास–निर्माणको काममा सहभागी हुने, उपभोक्ता समितिहरुमा बस्ने गर्छन्। उनीहरूलाई सानो तहमा भए पनि आयआर्जन हुने गरी बारी तथा करेसाबारीमा फूल खेतीमा प्रोत्साहित गरिएको छ। उनीहरूको कामलाई प्रवर्द्धन गर्न गाउँपालिकामा तिहारको वेला प्लाष्टिकको माला ल्याउन निषेध गरिएको छ।
वडा नम्बर ६ किम्बुखर्कको टोल संरक्षण महिला मञ्चकी सचिव एवम् बाल विकासकी शिक्षक जमुना महतले मञ्च गठनपछि धेरै महिलाको आत्मबल बढेको सुनाउँछिन्। "पहिले केही बोल्नुपर्छ भन्दा धक मान्ने दिदीबहिनीहरु मञ्चमा आबद्ध भएपछि पछिल्लो समय म बोल्छु भन्न थाल्नुभएको छ", उनले भनिन्।
टोल संरक्षण मञ्चलाई क्रियाशील बनाउन र सहजीकरण गर्न गाउँपालिकाले हरेक मञ्चलाई दुई जनाको दरले स्वयंसेविकाको व्यवस्था गरेको छ। गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक खत्री बन्दाबन्दीका वेला घरेलु हिंसा र महिला हिंसा नहोस् भनेर धेरै ठाउँमा मञ्चलाई नै क्रियाशील पारेको बताउँछन्। “प्रत्येक वडामा ३/३ जना तालिमप्राप्त मेलमिलापकर्ता छन्, कतै हिंसा, दुर्व्यवहार भएमा मञ्च मार्फत मेलमिलापकर्ता र गाउँपालिकासम्म खबर आउँछ”, उनी भन्छन्, “खबर पाए लगत्तै भेट्ने र समस्या समाधान गर्ने संयन्त्र विकास गरिएकाले बन्दाबन्दीका वेला कुनै पनि समस्या आएन।”
गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जना पुरुष भए पनि महिला मुद्दा र अन्य महत्वपूर्ण विषयमा दुवै संवेदनशील रहेको उपाध्यक्ष खत्रीले बताए।