अब देशैभर पर्यटन गाउँ, यस्तो छ छनोटको मापदण्ड
देशैभरका सम्भावना बोकेका क्षेत्रलाई प्राकृतिक, सांस्कृतिक, मानव निर्मित र मिश्रितका आधारमा पर्यटन गाउँ बनाइनेछ। त्यसको प्रवर्द्धन तथा पूर्वाधार विकासको जिम्मा स्थानीय र संघीय सरकारले लिने गरी ‘पर्यटन गाउँ छनोट मापदण्ड’ तय भएको छ।
सरकारले देशैभरका विभिन्न गाउँलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने भएको छ। पर्यटकीय सम्भावना बोकेका र पर्यटक आकर्षण गर्न सक्ने गाउँलाई छनोट र प्रवर्द्धन गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन गाँउ छनोट, विकास तथा व्यवस्थापन सम्बन्धी कार्यविधि’ नै तयार पारेको छ।
कार्यविधि अनुसार पर्यटनका विभिन्न विधामध्ये कुनै एकलाई औंल्याएर प्रवर्द्धन गर्न सकिने गरी पर्यटन गाँउ छनोट गरिनेछ। कार्यविधि तयार पारेर पर्यटन गाउँ छनोटका लागि सम्बन्धित सरोकारवाला र स्थानीय निकायसम्मबाट सुझाव माग भइसकेको छ।
प्राकृतिकदेखि मानव निर्मितसम्मका पूर्वाधार विकासलाई आधार बनाएर पर्यटन गाउँ घोषणा गर्ने गरी मन्त्रालयले कार्यविधि बनाएको मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले बताए। सोही कार्यविधि अनुसार पर्यटन गाउँ छनोटका लागि आवश्यक सुझाव संकलन भइरहेको मन्त्रायले जानकारी दिएको छ। कार्यविधि अनुसार प्राकृतिक, सांस्कृतिक, मानव निर्मित र मिश्रित गरी चार प्रकारका पर्यटन गाउँ बनाइने पाैडेल बताउँछन्।
‘‘पर्यटकीय सम्भावना र महत्व भएका सबै स्थानीय तहबाट आएका गाउँलाई कुनै न कुनै आधारमा छनोट गर्ने र सोही अनुसार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यविधि आएको छ’’, पौडेलेले भने ‘‘कार्यविधिले तोकिएको सर्त पूरा गरी आउने गाउँलाई छनोट गरेर आवश्यक पूर्वाधार विकासदेखि प्रवर्द्धनसम्मको काम संघ तथा स्थानीय तहको साझेदारीमा गरिनेछ।’’
छनोटमा परेका गाउँको कम्तीमा ५ वर्षसम्म प्रवर्द्धन गर्नेगरी बजेट विनियोजन गर्ने प्रतिवद्धता सम्बन्धित गाउँपालिकाको हुनुपर्ने, वडाको एउटा गाउँदेखि पूरै पालिकालाई समावेश गर्न सकिने, पर्यटकीय गाउँ हुन सक्ने आधार खुलाएर कार्यविधि अनुसार ३० असोजभित्रै सम्बन्धित जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गर्नुपर्ने भनिएको छ।
मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार हरेक सेवा सुविधा र पर्यटकीय सम्भावनाका विषयमा तोकिएको सर्त पूरा गरेका गाउँलाई मात्रै छनोट गरिनेछ। यसरी छनोट गरिने गाउँ जुनसुकै जिल्ला, क्षेत्र र स्थानको पनि हुन सक्ने उल्लेख छ।
पर्यटन गाँउ छनोट गरेपछि त्यसलाई दीर्घकालिन प्रवर्द्धनको योजना पनि सँगसँगै आउनुपर्ने गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)का अध्यक्ष ध्रुव सिंखडा बताउँछन्। उनका अनुसार सरकारले अगाडि बढाएको कार्यक्रम पर्यटन गाँउ घोषणा गर्ने र पहुँचवालाको क्षेत्रलाई बजेट निकासा गर्ने माध्यम मात्रै बन्नु हुँदैन।
भिटोफले नै वर्षेनी नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दुईवटा पर्यटकीय गाउँ घोषणा गर्ने गरेको छ। सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने तथा सोही प्रकारको कार्यक्रम चलाउँदा प्रभावकारी हुने रणनीति पनि सँगसँगै ल्याउनुपर्ने सिंखडा बताउँछन्।
भिटोफका अनुसार पर्यटन प्रवर्द्धन गर्न र पर्यटकलाई नयाँ गाँउमा लैजान यो कार्यक्रम सहयोगी हुनसक्छ। सरकारले ल्याएको कार्यक्रम प्रभावकारी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा मात्रै बजेट विनियोजन गर्नुपर्ने भिटोफका अध्यक्ष सिंखडाको सुझाव छ।
यस्तो छ पर्यटन गाउँ छनोटको मापदण्ड