६ महीनापछि सञ्चालनमा आए लामो दूरीका सार्वजनिक यातायात
कोभिड-१९ संक्रमणको जोखिमका कारण करीब ६ महीनादेखि बन्द लामो दूरीका सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालनमा आएका छन्। त्यससँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा आजदेखि चलपहल शुरू भएको छ।
बसपार्क खुलेको पहिलो दिन बसपार्क व्यवस्थापनले औषधि छर्केर निस्संक्रमण गरेको छ। यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै बसभित्र समेत औषधि छर्किएको छ।
यस्तै, आजैबाट कम्युटर प्रणालीमार्फत् टिकट बुकिङ समेत खुल्ला भएको बसपार्क व्यवस्थापनले बताएको छ। कोरोना महामारीको जोखिमकाबीच बिहीबारबाट सबै प्रकारका सार्वजनिक यतायात सञ्चालनमा आएका हुन्।
नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रुहरूको सुरक्षालाई ध्यान दिँदै बसपार्क क्षेत्रमा भौतिक दूरी कायम गर्न रेखांकन गर्ने, रेलिङ राख्ने, तथा विद्युतीय प्रणालीमार्फत् टिकट बुकिङ गर्न सकिने व्यवस्था पनि गरेको छ।
ल्होत्से बहुउद्देश्यीयका जनशक्ति व्यवस्थापक पंकज मल्लले कोरोनाको जोखिमलाई अवसरको रूपमा लिँदै विद्युतीय प्रणालीमार्फत् टिकट बुकिङ गर्न सक्ने व्यवस्था शुरू गरिएको बताए। उनले टिकट काट्नकै लागि बसपार्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी अनलाइनबाटै टिकट काट्न सक्नेगरी तयारी भइरहेको बताए।
बिहीबार लामो दूरीको यातायात सञ्चालनमा आएको पहिलो दिन यात्रुहरूको चाप भने सामान्य रहेको छ। नेपाल यातायात मजदुर संघका उपाध्यक्ष सुमन लामाले ५० प्रतिशत बढी भाडा लिएर सरकारले तोकेको मापदण्ड अनुसार नै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म लैजाने वातावरण निर्माण गरिएको बताए।
काठमाडौंको गौशाला, कोटेश्वर, कलंकी, गोङ्गबु, बल्खु लगायतका क्षेत्रबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन्। ती क्षेत्रमा पनि बिहीबारदेखि मानिसहरूको चहलपहल बढेको छ।