बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छानियो ‘जुलुङ्गो’
यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा राजेशप्रसाद खत्री निर्देशित छोटो चलचित्र ‘जुलुङ्गो (अ स्केयरक्रो)’ छनोट भएको छ। ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एशियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो।
बुसानले सोमबार सार्वजनिक गरेको सूचीअनुसार एशियन सर्टमा प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको हो। यससँगै यस वर्ष बुसानमा दुई नेपाली फिल्म छनोट भएका छन्। कोरियाको प्रतिष्ठित एशियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहीबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ।
‘वाइड एंगलः एशियन सर्ट फिल्म कम्पिटिशन’ प्रतिस्पर्धाका लागि १० एशियाली फिल्म छनोटसँगै जुलुङ्गो पनि परेको हो। नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरू र मीनबहादुर भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङक) हुन्।
यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बांग्लादेशको फिल्महरू छानिएका छन्। छानिएका अधिकांश फिल्महरू अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन्। यस सेक्सनको विजेताले ‘सोन्जी अवार्ड’का साथै १० हजार अमेरिकी डलर (करीब ११ लाख ७० हजार) पाउनेछ।
मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैंभित्र राखेर घरायसी काममा सीमित हुनुपर्ने बाध्यता नै जुलुङ्गोको कथावस्तु हो। पश्चिममा ‘भ्याउना’ भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ। बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट बञ्चित भएकी नानीको कथा हो जुलुङ्गो।
“बालदिवसको विशेष कार्यक्रमका लागि नृत्य प्रशिक्षण लिँदालिँदै कक्षाकोठाबाटै आमाले हात समाएर नानीलाई घर फर्काएपछि उसको पढ्ने सपना निमोठिन्छ। त्यसपछि एकातिर बालदिवसको चर्को नारा घन्किन्छ भने आर्कोतिर नानी आफ्नो परिवारको लागि खेतमा पसिना बगाउन बाध्य हुन्छे”, निर्देशकले राजेशले भने।
मुगुको दुर्गम गाउँका शिक्षक समेत रहेका निर्देशक राजेशप्रसाद खत्री आफ्नै वरिपरीका दुःख साट्न फिल्म निर्माणको हुटहुटी रहेको बताउँछन्। उनी भन्छन्, “विद्यार्थीसँग मेरो गहिरो आत्मियताका कारण उनीहरूका व्यक्तिगत अनुभव र मेरो अवलोकनका उपज हुन्, मैले प्रस्तुत गर्ने कथा।”
सिडिपी, आरु प्रोडक्सन, अस्लेसा इन्टरटेमेन्ट, ग्रिन एज फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा शून्य फिल्मस्ले निर्माण गरेको फिल्मको सिनेम्याटोग्राफी शिशिर बिसंखेले गरेका हुन्। त्यस्तै असिम खनालको सहायक निर्देशन रहेको जुलुङ्गोमा किरण श्रेष्ठको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन रहेको छ।
फिल्ममा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ। यसअघि फेस्टिभलमा नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भएको छ।