शपथपछि वामदेवले भने- ‘राष्ट्रिय सभाको गरिमालाई ध्यान दिन्छु, अरु केही लक्ष्य छैन’
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बताएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बिहिबार राष्ट्रिय सभा सदस्य मनोनीत भएका गौतमले बिहीबार नै पद तथा गोपनियताको शपथ लिएपछि यस्तो बताएका हुन्।
राष्ट्रिय सभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई पद तथा गोपनियताको शपथ गराएका थिए। शपथपछि गौतमले आफ्नो अरु कुनै लक्ष्य नरहेको बताए।
“राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै काम गर्दिन”, उनले भने। आफ्नो पार्टीले देशमा समाजवादको संकल्प पूरा गरेको उल्लेख गर्दै गौतमले राष्ट्रिय सभामा रहेर आफूले त्यसका लागि भूमिका खेल्ने बताए।
फागुनदेखि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।