दुर्घटनामा परेका क्रिकेटर ललितसिंह भण्डारीको शल्यक्रिया
कञ्चनपुरमा सडक दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टीमका खेलाडी ललितसिंह भण्डारीको आज शल्यक्रिया भएको छ। क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया भएको बताएको छ।
कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्रराज पाण्डेको टीमले शल्यक्रिया गरेको हो।
सिप्यानका अनुसार ललितको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ललितलाई आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो।
दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग अस्पताल लगिएको थियो। त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरे पनि थप उपचारका लागि सोमबार हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो।
ललितको उपचारका लागि सिप्यानले आर्थिक संकलन गरिरहेको छ। चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टीमबाट बाहिर रहँदै आएका थिए।