नेपालगञ्ज नाकाबाट भारतीय पशु र दाना आयात ठप्प
व्यापारीले स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात ठप्प भएको छ ।
फागुन २६ गतेबाट पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा रोकिएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताए ।
यसअघि देशभरका पशु क्वारेन्टाइनले भारतमा पशुजन्य वस्तु खरीद गरेको बिल र भारतीय भन्सारको प्रमाणपत्र देखाएकै भरमा नेपाल आयात गर्न पाइन्थ्यो । तर, यसरी हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य वस्तु अस्वस्थकर भएको पाइएपछि सरकारले पशु क्वारेन्टाइनमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन कडाइका साथ कार्यान्वयन गरेको छ ।
ऐनमा पशु तथा पशुजन्य वस्तु आयात गर्दा स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउनुपर्ने प्रावधान छ । त्यस्तै दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र अनिवार्य गरिएको छ ।
ऐन कार्यान्वयनमा कडाइ भएको थाहा नपाएका व्यवसायीले नेपाल भित्र्याएका दानालगायतका पशुजन्य वस्तु नेपालगञ्ज भन्सारमा थन्किएको छ ।
“प्रमाणपत्र दिने निकाय दिल्ली वा कोलकातामा रहेका कारण आयातकर्तालाई डकुमेन्ट जुटाउन कठिनाइ भएको छ”, कार्यालय प्रमुख श्रेष्ठले भने, “पहुँच नभएका कारण आयातकर्ताले आवश्यक प्रमाणपत्र ल्याउन नसक्दा कुनै पनि पशु र पशुजन्य वस्तु आयात हुननसकेको हो ।”
पशु क्वारेन्टाइन जाँच केन्द्र नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको फागुन २६ गतेसम्म ६९ हजार २२७ खसी–बोका भित्रिएको थियो भने एक ४७५ मेट्रिकटनभन्दा बढी दाना आयात भएको थियो ।
मुख्य नाकाबाट पशु तथा पशुजन्य वस्तुको आयातमा कडाइ भएपछि भन्सार छलेर अवैधरूपमा भित्रिने क्रम भने रोकिएका ेछैन । व्यवसायीले ग्रामीण नाका प्रयोग गरी भारतीय खसी–बोका र पशुजन्य वस्तु आयात गर्न थालेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।
दुईहप्ता अघिमात्रै अवैधरूपमा नेपाल भित्र्याएको ८० खसी–बोका प्रहरीले पक्राउ गरेको थियो । नेपालगञ्ज प्रवेश हुने ग्रामीण नाकामा समेत निगरानी बढाएको प्रहरी निरीक्षक डाँगीले बताए ।