शेयर बजारमा उत्साह, नेप्से परिसूचक ३१ अंकले बढ्यो
काराोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक करीब ३१ अंकले बढेको छ। जलविद्युत्, होटल लगायत समूहका शेयरमा लगानीकर्ताको आकर्षण बढेपछि नेप्से परिसूचक ३०.७८ अंकले बढेर १ हजार ५७२ विन्दु नाघेको छ।
बिहीबार कैयौं कम्पनीको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। सबैभन्दा धेरै होटल समूह ९.३७ तथा जलविद्युत् समूह ७.३६ प्रतिशतले बढेका छन्। त्यस्तै, फाइनान्स समूह ६.१३ तथा ब्यांकिङ समूह २.३ प्रतिशतले बढेका छन्। बिहीबार निर्जीवन बीमा बाहेक सबै समूहका परिसूचक सकारात्मक भएका छन्।
करीब ६ महीनादेखि बन्द होटलहरू सञ्चालनमा आउन थालेको तथा लामो समयदेखि मूल्य घटेर तल आएका जलविद्युत् कम्पनीहरूमा अवसर देखेर लगानीकर्ता आकर्षित भएको देखाएको छ। बिहीबार कारोबार भएका कम्पनीमध्ये १४१ वटाको शेयर मूल्य बढेको छ भने २४ वटाको मूल्य मात्रै घटेको छ। पाँच वटाको मूल्य स्थिर छ।
आजको कारोबारमा हिमाल दोलखा जलविद्युत्, रिलायन्स लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल तथा सोल्टी होटलको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
बिहीबार १९१ कम्पनीका रु. ३ अर्ब ७२ करोड ७२ लाख मूल्य बराबरका शेयर कारोबार भएका छन्। कारोबार रकम उत्साहजनक बढेको तथा नेप्से परिसूचक पनि सकारात्मक भएकाले बजारमा लगानीकर्ताको आकर्षण बढेको देखाउँछ। अरु आर्थिक क्रियाकलाप सुस्त भए पनि शेयर बजारमा भने नयाँ साना लगानीकर्ता थपिएको अनुमान छ।