झण्डै डेढ महीनापछि सञ्चालनमा आउँदै काठमाडौं प्रशासनको सेवा
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरू ४ असोजदेखि पुनः सञ्चालनमा ल्याउने भएको छ। तर, कोरोनाको जोखिम कायमै रहेकाले स्थानीय तह अनुसार सेवा प्रवाह गर्नेगरी बार तोकिएको छ।
कोरोना संक्रमणको जोखिम बढेपछि गएको २५ साउनदेखि जिल्ला प्रशासन काठमाडौंले केही सेवाहरू स्थगित गरेको थियो। आज १ असोजमा सूचना जारी गर्दै प्रशासनले स्थगितमध्येका नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, हातहतियार दर्ता/नवीकरण, नाबालक परिचयपत्र, पत्रपत्रिका, संघ/संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा आइतबारदेखि सञ्चालन गर्ने जनाएको हो।
प्रशासनबाट जारी गरिएको सूचनाअनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, हातहतियार दर्ता/नवीकरण, नाबालक परिचयपत्रका लागि काठमाडौं महानगरपालिकावासीले आइतबार, मंगलबार र बिहीबार, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका नागरिकले सोमबार, बूढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार तथा गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन्।
यस्तै, संघ/संस्था दर्ताको काम सोमबार र बुधबार, संघ/संस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार हुने जिल्ला प्रशासनले जनाएको छ। प्रशासनका अनुसार पत्रपत्रिका/छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुनेछ भने संघ/संस्थाको प्रतिलिपी सम्बन्धी सेवा प्रत्येक दिन दिउँसो ४ बजेपछि गरिनेछ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी सूचना