आधा यात्रु राखेर उडान खुलाउने सरकारी निर्णय अव्यावहारिक: वायुसेवा सञ्चालक संघ
५० प्रतिशत यात्रु बोकेर उडान गर्न दिने सरकारको निर्णय व्यावहारिक नभएको निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले बताएको छ।
सरकारले ५ असोजदेखि आन्तरिक वायुसेवालाई ५० प्रतिशत यात्रु बोकेर ५० प्रतिशत बढी भाडा लिएर उडान सञ्चालनका लागि अनुमति दिएको छ। तर, यो निर्णय सबै हिसाबले अव्यावहारिक भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताएका छन्।
अध्यक्ष थापाले जहाजमा पूर्ण क्षमतामा यात्रु राखेर पुरानै भाडादरमा सञ्चालन गर्न दिए मात्रै आफूहरुले उडान गर्न सक्ने बताए। ६० प्रतिशत यात्रु बोकेपछि मात्रै एयरलाइन्सको लागत उठ्ने र ७५ प्रतिशतसम्म यात्रु बोक्न पाए केही नाफा हुने भएकाले सरकारले पूर्ण क्षमतामा सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ।
सरकारले यात्रुसँग ५० प्रतिशत बढी भाडा लिन र जहाजमा ५० प्रतिशत यात्रु राख्न भन्नुको आधार आफूहरुले बुझ्न नसकेको भन्दै उनले संकटको वेला यात्रुबाट बढी भाडा लिनु न्यायोचित नभएको पनि बताए। उनले ५० प्रतिशत यात्रु बोक्नैपर्ने भए सरकारले सहुलियत दिनुपर्ने बताए।
पूर्ण क्षमतामा उडान सञ्चालन गर्दा एयरलाइन्स घाटामा गए पनि भाडादर नबढाई उडान गर्न आफूहरु सक्षम रहेको पनि थापाले स्पष्ट पारे। अन्तर्राष्ट्रिय उडान भर्ने जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने तर देशभित्रै कम समयका लागि उडान गर्ने जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न नपाउने सरकारको निर्णय भ्रामक भएको पनि उनको भनाइ छ।
आफूहरु अन्तर्राष्ट्रिय मापदण्ड र सरकारले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी उडान गर्न सक्षम भए पनि सरकारको निर्णय अनुसार उडान गर्न सक्ने स्थिति नरहने उनले स्पष्ट पारे।
आधा यात्रु राखेर उडान गर्दा फाइदा नहुने र अन्तर्राष्ट्रिय अभ्यास विपरीत जान नसक्ने भन्दै वायुसेवा सञ्चालक संघले सरकारी निर्णय अनुसार नउडाउने निर्णय गरेको छ।