अन्ततः राष्ट्रिय सभा सदस्य मनोनीत भए वामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गौतमलाई आज राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन्।
राष्ट्रपति भण्डारीका सञ्चार सल्लाहकार टीका ढकालले नेपाल सरकारको सिफारिश अनुसार राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेको हिमालखबरलाई बताए।
उनले यससम्बन्धी जानकारी संघीय संसद सचिवालय र राष्ट्रिय सभालाई पठाइसकिएको, अब राष्ट्रिय सभा अध्यक्षले गौतमको शपथ गराउने बताए।
नेता गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले राष्ट्रिय सभा सचिवालयबाट शपथका लागि तयारी अवस्थामा बस्न खबर आइसकेको बताएका छन्।
२९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। त्यसैआधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो गौतमको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको थियो।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा रिक्त पदमा गौतमलाई लगिएको हो। खतिवडा भने प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार नियुक्त भइसकेका छन्।